५ जनाको राजीनामा ४ वटा मुद्दालाई छिचोल्दै गभर्नर नियुक्ति


काठमाडौँ । 

नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ति प्रक्रिया शुरू भएपछि  उक्त पदसँग सम्बन्धित ५ वटा राजीनामा आएका छन्  भने सर्वोच्च अदालतमा ४ वटा मुद्दा परेका थिए । गभर्नर पदको आकांक्षा राख्दै नेपाल राष्ट्र बैंंकका दुई जना कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका थिए । त्यस्तै गभर्नर सिफारिस समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेलले राजीनामा दिएका थिए ।

गभर्नर नियुक्ति प्रक्रिया शुरू भएपछि सरकारले ६५ वर्षको उमेर हद हटाएको थियो। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले यो संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०८२ वैशाख १७ गते अन्तरिम आदेश जारी गर्दै ६५ वर्षको उमेर सीमा हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ। त्यस्तै गभर्नर पदका लागि प्रस्तावित डा. गुणाकर भट्टविरुद्ध उनलाई नियुक्ति प्रक्रियामा सहभागी नगराउन माग गर्दै मुद्दा परेको थियोे । 

सो मुद्दाको सुनुवाइ नै भएको छैन । गभर्नर सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सदस्य पदमा नियुक्त भएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुगेको र गभर्नरमा नियुक्त भएका डा. विश्व पौडेलविरुद्ध पनि राजनीतिक आबद्धता र योग्यताको प्रश्न उठाउँदै मुद्दा दायर भएको थियो । तर, मुद्दा र राजीनामको चाङलाई छिचोल्दै सरकारले मंगलबार नयाँ गभर्नर नियुक्त गरेको छ ।