काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गर्न देखाइएका कारणहरू मध्येको एक भारतबाट विद्युत् आयात गर्दा महशुल दर वृद्धि गर्ने निर्णयलाई अन्ततः प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरेको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले इन्डो–नेपाल पावर एक्सचेन्ज कमिटी (पीईसी)ले गत माघमा गरेको निर्णयलाई अनुमोदन गरेको हो ।
अब भारतसँग विभिन्न भोल्टेज स्तरमा विद्युत् कारोबार गर्दा लाग्ने शुल्क दरमा परिवर्तन भएको छ । नयाँ निर्णयअनुसार, ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् आयात वा निर्यात गर्दा १.६ प्रतिशत, १३२ केभी लाइनमा १.५ प्रतिशत र ११ केभी लाइनमा १.५१ प्रतिशत शुल्क बढाइएको छ । उक्त दर आयात निर्यात दुवैमा लागू हुनेछ । गत माघ ३० गते दिल्लीमा बसेको पीईसीको बैठकले अप्रिल १ गतेदेखि उक्त दर कायम गर्ने निर्णयमा प्राधिकरण तत्कालीन कार्यकारी निर्देशक घिसिङले अनाधिकृत सहमति जनाएरको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो । तय गरिएको दर लागू हुन विद्युत् नियमन आयोग र प्राधिकरणको सञ्चालक समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । तर, मन्त्रालयल र घिसिङबीचको द्वन्द्वका कारण सञ्चालक समितिले अनुमोदन नगर्दा उक्त विषय माघदेखि अलपत्र रहेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ दीपक खड्का र सचिव सुरेश आचार्यले महशुल वृद्धि गर्ने निर्णयको विरोध गर्दै आएका थिए । प्राधिकरण स्रोतका अनुसार, विगतमा विद्युत्को कारोबारमा औसत ५.५ प्रतिशत दरले वृद्धि हुँदै आएकोमा यो वर्ष १.५ प्रतिशत मात्र वृद्धि भएको हो, जुन अहिलेसम्मकै न्यूनतम वृद्धि हो ।
नयाँ दरका आधारमा आवश्यक परेमा मात्रै, विशेषगरी सुख्खायामको बेलुकी ४ बजेदेखि ९ बजेसम्म र भारतीय ऊर्जा एक्सचेन्जबाट विद्युत् उपलब्ध नभएका समयमा, आयात गरिनेछ । यसमा बाध्यकारी व्यवस्था नरहेको र नत कुनै जरिवाना लाग्ने प्रावधान रहेको बताइएको छ । हाल तय गरिएको नयाँ दर भारतीय इनर्जी एक्सचेन्जमा पिक समयमा पर्ने करिब प्रतियुनिट १० रुपियाँ भारु भन्दा सस्तो रहेको छ ।
प्रतिक्रिया