काठमाडौं ।
शिक्षक महासंघको आन्दोलनको कारण स्थगित विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा ९ दिनपछि आजबाट हुँदैछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित र आंशिक गरी ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षामा ५ हजार २ सय २ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्रको संख्या १ लाख ९८ हजार ८ सय ७५ र छात्राको संख्या १ लाख ९७ हजार १३ रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अन्य वर्गका २० जनाले परीक्षा दिँदैछन् । आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ परीक्षार्थीहरू सहभागी हुनेछन् ।
परीक्षार्थी सङ्ख्या अनुसार सबैभन्दा कम मनाङ जिल्लामा कुल ४५ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १ सय ३३ विद्यार्थीले परीक्षा दिँदै छन् ।
नेपालभर जम्मा १ हजार ५ सय ९० र जापानमा १ समेत गरी कुल १ हजार ५ सय ९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय ६२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १÷१ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो । बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ । प्रदेशगत रूपमा कोशी ८२ हजार ८ सय ७१, मधेश ६९ हजार ८ सय ८, वागमती १ लाख ३५ हजार २ सय ४०, गण्डकीमा ४३ हजार ३ सय ४९, लुम्बिनी ९० हजार ६ सय ७८, कर्णालीमा ३८ हजार ८ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५० हजार ६ सय ५४ र जापान ३७ जनाले परीक्षा दिँदैछन् ।
परीक्षा नियन्त्रक शर्माका अनुुसार परीक्षामा केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित ४८ हजार जनशक्ति परिचालन हुनेछन् । जसअनुसार केन्द्राध्यक्ष १ हजार ५सय ९१, सहायक केन्द्राध्यक्ष २ हजार १ सय ९७, निरीक्षक २१ हजार ५ सय ५३, कर्मचारी २ हजार १ सय ९७, कार्यालय सहयोगी १ हजार ५ सय ९१ र सुरक्षाकर्मी १९ हजार ८० परिचालित हुनेछन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीअनुकूल बनाई सहज र प्रभावकारी वातावरणमा परीक्षा सञ्चालन र व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ । परीक्षा अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको र सो समितिमार्फत अनुगमन र पर्यवेक्षणको व्यवस्था मिलाइएको छ ।
तथ्याङ्कमा
–कुल विद्यालय ५,२०२, नियमिततर्फ ३,९५,९०८ र आंशिक १,१५,६१७ गरी जम्मा परीक्षार्थी ५,११ ५२५
–सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६२, मनाङ र मुस्ताङ १–१
–परीक्षा केन्द्र १,५९१, केन्द्राध्यक्ष १,५९१, सहायक केन्द्राध्यक्ष २,१९७, निरीक्षक २१,५५३, परीक्षा केन्द्रमा खटिने कर्मचारी २,१९७, कार्यालय सहयोगी १,५९१, सुरक्षाकर्मी १९,०८०
–सबैभन्दा धेरै विद्यार्थी काठमाडौंमा ६८,१३३, थोरै मनाङ ३५,
–प्रदेशगत धेरै वागमती, थोरै सुदूरपश्चिम
कहाँ कति परीक्षार्थी
कोशी ८२,८७१
मधेस ६९,८०८
वागमती १,३५,२४०
गण्डकी ४३,३४९
लुम्बिनी ९०,६७८
कर्णाली ३८,८८८
सुदूरपश्चिम ५०,६५४
जापान ३७
प्रदेशको हकमा प्रदेशको शिक्षा हेर्ने मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिबाट अनुगमन हुनेछ ।
काठमाडौं उपत्यकाभित्रका केन्द्रहरूको परीक्षा अनुगमनको लागि विशेष व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्रमा समेत जिल्ला परीक्षा समन्वय समिति एवं बोर्डका प्रदेश तथा शाखा कार्यालयले नियमित अनुगमनको व्यवस्था गर्नेछ ।
कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरूका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ । त्यस्तै, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । विगतका परीक्षामा परीक्षाको मर्यादा उल्लंघन गरी कारबाहीमा परेका व्यक्तिहरू नियुिक्त भएको पाइएमा जिल्ला परीक्षा समन्वय समितिले फेरबदल गर्न सक्ने व्यवस्था गरिएको छ ।
परीक्षाको मर्यादाविपरीत कार्य गराउने गरेको पाइएमा त्यस्तो परीक्षा केन्द्र खारेज गर्न सिफारिस गर्ने अधिकार जिल्ला परीक्षा समन्वय समितिलाई दिएको छ । परीक्षार्थीको प्रवेशपत्र र बोर्डबाट उपलब्ध गराइएको ट्रिप्लिकेटमा विषय फरक परेमा प्रवेशपत्र अनुसारको विषय कायम गर्न र सिम्बोल नम्बर फरक परेमा ट्रिप्लिकेट अनुसारको सिम्बोल नम्बर कायम गरी परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ ।
त्यसै गरी कानुनले नै बनाएको जिल्ला परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकार सम्पन्न बनाएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमति बिना जो कोहीलाई पनि परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ । परीक्षाको मर्यादा पालना नगरेको भन्ने कुरामा जिल्ला परीक्षा समन्वय समिति विश्वस्त भएमा उक्त समितिलाई तत्काल केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकलाई परिवर्तन गर्न सक्ने अधिकार रहेको उल्लेख गरेको छ । बोर्डले परीक्षा अवधिभर विद्युत् आपूर्ति, ईन्टरनेट सेवालगायतका सेवालाई प्रभावकारी बनाई शान्त र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
मोबाइल प्रयोग गर्ने परीक्षार्थीको सबै परीक्षा रद्द हुने
परीक्षा सञ्चालन अवधिभर मोबाइल फोन प्रयोग गर्ने परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने भएको छ । मोबाइल फोन प्रयोग गर्ने अधिकार केवल केन्द्राध्यक्षलाई मात्र दिएको छ । केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि परीक्षा केन्द्रमा मोबाईल फोन लैजान पूर्णतः निषेध गरिएको छ ।
प्रतिक्रिया