आर्थिक र प्रशासनिक काम ठप्प

उपकुलपतिविहीन त्रिवि

1.88k
Shares

-को बन्दैछ ३ महिने उपकुलपति ?
-नियमअनुसार रेक्टर प्राडा खड्ग केसीलाई दिनुपर्ने तर सुरसार छैन
-रेक्टर र रजिस्टारलाई राजीनामा दिन दबाब
– पदाधिकारी हुन कांग्रेस र एमालेका प्राध्यापकको चलखेल

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन भएको आज १५ दिन भयो । काम गर्न नसकेपछि १३ महिना जागिर खाएर गत चैत १५ मा कर्र्मचारीमार्फत उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिनु भएदेखि त्रिवि उपकुलपतिविहीन भएको हो ।

यद्यपि, राजीनामा दिएको १३ दिनपछि गत बिहीबारमात्र उपकुलपतिको राजीनामा स्वीकृत भएको थियो । प्राडा बराल राजीनामा दिएकै दिनबाट बिदा बसेकोले त्रिविका दैनिक कामका साथै प्रशासनिक र आर्थिकलगायतका सबै काम ठप्प छन् ।

त्रिवि शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को उपनियम १५३ अनुसार उपकुलपतिले राजीनामा दिनुभएको थियो । त्रिवि नियम २०४९को दफा २१ ‘ख’ मा उपकुलपतिको पद रिक्त भएमा वरिष्ठताको आधारमा रेक्टरलाई ३ महिने उपकुलपति दिनुपर्ने व्यवस्था छ । जसअनुसार कुलपतिले रेक्टर प्राडा खड्ग केसीलाई तीन महिनासम्मका लागि उपकुलपति नियुक्ति गर्नुुपर्ने भए तापनि हालसम्म उहाँलाई जिम्मेवारी दिइएको छैन ।

उच्चस्रोतका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको जोडबलमा रेक्टर केसीलाई नै तीन महिने उपकुलपति दिने सम्भावना रहेको छ । त्यसो नभएमा पूर्वडीनहरू दिब्या सिंह र डिल्लीराज शर्मा र पूर्वरजिस्टार डिल्लीराम उप्रेतीमध्ये एकजनालाई तीन महिने उपकुलपति बनाउने सम्भावना छ ।

उपकुलपति नहँुदा त्रिविमा मूल प्रमाणपत्र वितरण गर्ने काम रोकिएको छ । त्यसको प्रत्यक्ष असर विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूमा परेको छ । कार्यकारीको अध्यक्षतामा बस्ने बैठक बस्न सकेको छैन भने बजेट निर्माण रोकिएको छ । करिब ८ सय शिक्षक र कर्मचारीको विज्ञापन स्थगित भएको छ ।

गत मंसिर २७ मा सम्पन्न सिनेट बैठकले ३ सय कर्मचारी र ५ सय शिक्षकको आन्तरिक प्रतियोगिताको विज्ञापन खोल्ने निर्णय भएको थियो । उपकुलपति प्राडा बरालले अचानक राजीनामा दिएपछि चैतमा खोल्नुपर्ने उक्त विज्ञापनको प्रकाशन पनि अनिश्चित भएको छ । त्रिवि कर्मचारी संघ र प्राध्यापक संघसंगठनले विज्ञापन खोल्न डराएर उपकुलपति भागेको आरोप लगाएको छ ।

आफैंले सिफारिस गरेको रेक्टर प्राडा केसी, रजिस्टार प्राडा केदार रिजाललगायत आफूले बनाएको टिमलाई जानकारी नै नदिई उपकुलपति प्राडा बरालले राजीनामा दिनुभएको थियो । राजीनामा दिएको भोलिपल्ट फिर्ता गराउन चैत १६ गते रेक्टर केसी र रजिस्टार रिजाल पोखरा पुग्नुभएको थियो । दुई पदाधिकारीले राजीनामा फिर्ता गराउन सक्नुभएन । कुलपति केपी शर्मा ओलीले समेत राजीनामा फिर्ता गराउन हरसम्भव प्रयास गर्नुभएको बताइएको थियो ।

अब त्रिविमा उपकुलपति कुन पार्टीको हुने ? भन्ने प्रश्न खडा भएको छ । तत्कालीन कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र निकटका प्राडा बराललाई योग्यताको आधारमा उपकुलपति नियुक्ति गरेको दाबी गर्नुभएको थियो । उपकुलपति नियुक्त भएलगतै प्राडा बरालले एमाले निकटका प्राडा केसीलाई रेक्टर र कांग्रेस निकट प्राडा रिजाललाई रजिस्टारमा सिफारिस गर्नुभएको थियो ।

उहाँले पनि योग्यताकै आधारमा दुई पदाधिकारी नियुक्ति गरेको दाबी गर्नुभएको थियो । नियुक्त भएका दुई पदाधिकारीमध्ये रेक्टर केसी पार्टीगत रूपमा खुल्नुभएको थिएन । उहाँले आफू कामको आधारमा छनौट भएको दाबी गर्दै आफ्नै कर्मचारी र प्राध्यापकको मागप्रति खासै चासो नदखाउनु भएकोले पनि उहाँलाई हालसम्म तीनमहिने उपकुलपतिको जिम्मेवारी नदिएको हुनसक्ने त्रवि कर्मचारी र प्राध्यापक संगठनको भनाइ छ । रजिस्टार रिजालले भने पार्टीगत प्राध्यापक र कर्मचारीको इच्छाअनुसार काम गरेको दाबी गर्नुभएको छ ।

उता त्रिविका कर्मचारी र प्राध्यापक संघसंगठनले उपकुलपति बरालले नियुक्ति गरेका दुवै पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एमाले र कांग्रेस निकट प्राध्यापक र कर्मचारीले रेक्टर र रजिस्टारलाई हटाउन माथिल्लो तहसम्म दबाब दिएका छन् ।

बरालको राजीनामा स्वीकृत भएदेखि दुई पदाधिकारी कार्यालय हाजिर नभएको जानकारी दिँदै एक कर्मचारीले नेपाल समाचारपत्रलाई भने– ‘कार्यालयमा आउनु हुन्छ, तर विद्यार्थी र कर्मचारीले बस्न नदिएपछि फर्किने गर्नुभएको छ ।’ विद्यार्थी संघ संगठनकै कारण रेक्टर र रजिस्टारलाई अप्ठ्यारोमा पारेका छन् ।

चार दिनअघि रजिस्टार रिजाललाई कार्यालयमै पुगेर दल निकटका प्राध्यापक र कर्मचारीले राजीनामा दिन र कार्यालय छोड्न दबाब दिएका थिए । रेक्टर केसीलाई पनि त्यतिकै दबाब दिएका छन् । रजिस्टारलाई कार्यकक्षमै भेटेर र रेक्टरलाई फोन गरी कार्यालय नआउन धम्क्याएको बताइएको छ । कर्मचारी र प्राध्यापकले दुवैजना पदाधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने रणनीति बनाएको बुझिएको छ ।

कार्यालयमा हाजिर गर्ने वातावरण नभएपछि त्रिविका सबै संगठनका प्राध्यापकले रेक्टर र रजिस्टारले राजीनामा दिएर बाटो खुला गर्नुपर्ने जनाएका छन् । उच्चस्रोतका अनुसार त्रिविमा उपकुलपति एमालेको भागमा परे रजिस्टारमा कांग्रेस र उपकुलपति कांगे्रसको भागमा परे रजिस्टार एमालेले पाउने निश्चित छ ।

यद्यपि, कस्लाई उपकुलपतिमा नियुक्ति गर्ने भन्ने विषयमा एमाले र कांग्रेसले दुवैले निर्णय गरिसकेको छैन । कांग्रेसबाट रजिस्टारमा प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक जगत तिमल्सिनाको नाम अग्रपंतिmमा छ । एमालेको तर्फबाट पूर्वरजिस्टार डिल्लीराम उप्रेती र डिल्लीराम शर्माको नाम अग्रपंतिmमा छ ।