निर्मलनिवासले फर्काएपछि हुलाकमा पत्र दर्ता

शुक्रबारसम्म हेर्छाै, नभए सुबिधा रोक्छौः कामपा


काठमाडौं ।

 पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र बुझाउन निर्मल निवास पुगेको काठमाडौँ महनगरपालिकाको टोलीलाई गेटबाट फर्काइएको छ । आज बिहान साढे १० बजे काठमाडौँ महानगरपालिकाको  डिएसपी पूर्णचन्द्र भट्ट सहितको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।

 लगत्तै फर्किएको टोलीमध्ये प्रहरी निरीक्षक रामेश्वर उपाध्यायले  डिल्ली बजारस्थित हुलाक कार्यालयबाट सबै पत्र दर्ता गरेका थिए । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ८ वटापत्र काटेर उक्त रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको थियो । सोही आधारमा आजै (आइतबार ) महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । 

 पत्र पठाएका छौ, शुक्रबारसम्म हेर्छौं , जरिवाना नतिरेमा निर्मल निवासमा कामपाले उपलब्ध गराउने सबै सेवा सुविधा रोक्नेछौ–कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने । 

शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना गराएको हो । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।