बिआरआई तत्काल कार्यान्वयन गर्नुपर्छ

2.35k
Shares

बेईजिङ, चीन ।

नेपाली कांग्रेसको नेता एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालाले नेपालले बिआरआई तत्कालै कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । उहाँले आफू नेपाल गएपछि यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवासंग कुरा गर्ने बताउनु भयो ।

चीनको राजधानी बेईजिङमा रिनमेन युनिर्भसिटीका प्रोफेसरहरू संग भएको बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० सम्बन्धि छलफल कार्यक्रममा कांग्रेस नेता एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री कोईरालाले बिआरआई अनुदान नभै पारस्परीक सहयोग कार्यक्रम भएको र सरकारले सोहि अनुसार सम्झौता गरेको कुरामा सबै राजनीतिक दल र नागरिक प्रष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले नेपाली स्वाभिमान भएकोले चीन लगायत कुनैपनि देशबाट अनुदान लिन नहुने समेत बताउनु भयो । उहाँले भन्नुभयो बिआरआईले नेपाललाई स्वाधिन र स्वतन्त्र बनाउन सहयोग गर्छ । नेता कोईरालाले नेपालमा विकास नहोस भन्नेहरूले अनुदानको कुरा उठाएर बिआरआईको विरोध गरिरहेको आरोप समेत लगाउनु भयो ।

उहाँले नेपालमा कृषिक्षेत्र महत्वपूर्ण भएकोले बिआरआई मार्फत कृषि क्षेत्रको आधुनिकीकरणमा सहयोग हुनुपर्ने समेत बताउनु भयो । कार्यक्रममा रिनमेन युनिर्भसिटीका प्रोफेसर छ्यो लुले बिआरआई अनुदान नभै ऋण सहयोग भएको प्रष्टपार्नु भयो । उहाँले बिआरआईबाट विशेषगरी भूपरिबेष्टीत मुलुकले फाईदा लिन सक्ने बताउनु भयो ।

प्रोफेसर छ्यो लुले बिआरआई सम्झौता अहिलेसम्म १५२ मुलुकसंग भएको र यसबाट चीन लगायत सबै लाभान्वित हुने बताउनु भयो । प्रोफेसर लुले धेरैले बिआरआईबाट तत्कालै लाभ खोज्ने गरेको प्रशंग उल्लेख गर्नुहुदै त्यो सम्भव नहुने बताउनु भयो । उहाँले भन्नुभयो( तर बिआरआईबाट दिर्घकालिन रूपमा धेरै फाईदा छ ।

कार्यक्रममा आफ्नो विचार राख्नुहुर्दै नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बिआरआई बारे सबै नेपाली प्रष्ट नभएकोले त्यसबारे जानकारी दिनु आवश्यक हुने बताउनु भयो । कांग्रेस नेता देवराज चालिसेले नेपालमा श्रम, स्रोत, जनशक्ति र समय भएपनि प्रविधि र पुँजिको अभावले समस्या रहेको उल्लेख गर्नुहुदै बिआरआईले यसलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि मण्डलको तर्फबाट नेता सुजता कोईराला, दोलखा सभापति बर्मा लामा, पूर्व सांसद किरण यादव, नेता देवराज चालिसे, नेपाली कांग्रेस सिन्धुलिका पूर्व सभापति उज्ज्वल प्रसाद बराल, तुलसा थापामगर लगायत १५ जना र फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालको तर्फबाट बरिष्ठ कलाकार कृष्ण मल्ल, फिल्म निर्देशक आरएम नहकर्मी, पत्रकार चिरञ्जीवी मास्के, गोकर्ण भण्डारी तथा कृष्ण मल्ल सहभागी रहेका छन् ।