कबड्डी पनि व्यावसायिकतिर लम्कँदै, एनकेएल आजदेखि शुरू


काठमाडौं ।

नेपालमा क्रिकेट, फुटबल र भलिबल खेलका फ्रेन्चाइज लिग सफलताका साथ आयोजना भइसकेको छ। यस सूचीमा अब कबड्डी खेल पनि सामेल भएको छ। नेपाल कबड्डी लिग (एनकेएल) को रूपमा आजदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा शुरू हुँदैछ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले कबड्डीको स्तर बढाउन यस किसिमको अवधारणा ल्याएको बताए। क्रिकेट, फुटबल र भलिबलमा फ्रेन्चाइज लिग राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ।

उनले भने – ‘हामीले नेपाली कबड्डीको स्तरबृद्धि नगरे आकर्षण बढ्दैन। विश्वस्तरमै पुर्‍याउन सक्नुपर्छ। त्यसैले एनकेएललाई स्तरीय बनाउन लगानी गरेका छौं । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउने छ।’

उनका अनुसार यस पहिलो संस्करणको एनकेएलमा तीन करोडभन्दा बढी रकम लगानी हुनेछ। उनले नेपालमा कबड्डी खेल्नेको कमी नभएको बताए । उनले भने, ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी खेलाडी पाइयो। कबड्डी काठमाडौंमा पनि खेलिन्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ। भारतमा क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्‍याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्नसक्छ।’

एनकेएल माघ ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक टिमको फ्रेन्चाइज शुल्क ३५ लाख भएको आयोजकले जानकारी दिइयो । भारतका प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ। प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले ट्रेनिङ दिइरहेका छन्।


नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियाणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टोलीमा स्वदेशी–विदेशी गरी १४ खेलाडी छन् ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्ड क्याट्स सहभागी छन्। राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टोलीको टुंगो लाग्नेछ। यसपाली एनकेलमा कुल १९ खेल हुनेछ। उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन्।
६ टोलीका मार्की र प्रशिक्षक
—काठमाडौं मेभेरिक्सः
मार्कीः घनश्याम रोका मगर/प्रशिक्षक : सरोज सिंह
—पोखरा लेकर्सः
मार्कीः प्रदीप मिजार / प्रशिक्षकः विष्णुदत्त भट्ट
—जनकपुर नाइट्सः
मार्कीः रामु टमाटा / प्रशिक्षक : पार्वती राई
—हिमालयन रेडर्सः
मार्कीः गणेशबहादुर पार्की / प्रशिक्षकः सन्दिप पन्त/पोल्थुगन्ती सतीश कुमार
—धनगढी वाइल्डक्याट्स
मार्कीः पदमबहादुर विष्ट / प्रशिक्षक : महेश बोहरा
—विराटनगर बन्डिट्स
मार्कीः कल्याण भुजेल / प्रशिक्षक : लोकबहादुर विष्ट