कामपा सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षण: आफ्नो मलतब छैन, सार्वजनिकको मात्रै परीक्षण

निजी र सरकारीको चेकजाँच नगर्ने रणनीति

8.27k
Shares

–महानगरभित्र करिब २ सय २० सवारीसाधन
–अधिकांशको प्रदूषण फेल हुने सम्भावना

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेको प्रदूषणयुक्त सवारीसाधन परीक्षण नगरी सार्वजनिक बसको मात्र प्रदूषण परीक्षण शुरू गरेको छ। तीन दिनयता गरेको परीक्षणको क्रममा हालसम्म ६० वटा बसको प्रदूषण परीक्षण गरेको छ।

सो क्रममा २० वटा परीक्षण गर्दा ६ वटामा अत्यधिक प्रदूषण भएको पाइएको छ। कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक यातायातमा गरेको परीक्षणको क्रममा ६ वटा फेल हुने भएको बताउनुभयो।

कामपाको मातहतमा करिब २ सय २० सवारीसाधन छन्। तीमध्ये करिब ८० वटा फोहोर ढुवानी गर्ने सवारीसाधन रहेका छन्। तीमध्ये अधिकांश सवारीसाधन प्रदूषणयुक्त छन्। स्रोतका अनुसार कामपाका प्रहरीले प्रयोग गर्ने ४ वटा सवारीसाधनको अवस्था पनि दयनीय छ, अर्थात् प्रदूषणयुक्त ती सवारीसाधनको परीक्षण गरेको छैन । ‘यहाँसम्म कि मेयर सचिवालयले अनुगमन गर्न प्रयोग गर्ने सवारीसाधन नै प्रदूषण फेल हुन सक्छ’ –स्रोतको भनाइ छ ।

प्रदूषण परीक्षण गर्ने निकायकै सवारीको प्रदूषण फेल छ भने अरूको किन परीक्षण गर्ने भन्ने प्रश्न उठेको छ । महानगर प्रहरी प्रमुख पाण्डेले पहिलो चरणमा सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरेपछि अन्य सवारीसाधनको परीक्षण हुने बताउनुभयो । कापमाका मेयर सचिवालयले निजी र सरकारीबाहेकका सवारीसाधनको मात्र परीक्षण गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनका आधारमा कामपा वातावरण विभाग, नगर प्रहरी र ट्राफिक प्रहरीले परीक्षण जारी राखेको छ।

‘जान्ने हो भने आफ्नो मातहतमा रहेका सवारीसाधनको प्रदूषणको अवस्थाबारे महानगरवासीलाई जानकारी दिएपछि मात्र अन्य सवारीसाधनको परीक्षण गर्नु उचित हुने थियो । आफ्नो सवारीसाधनको हालत खत्तम छ, अर्काको गाडी चेक गर्दै हिँड्न सुहाउँदैन’ –स्रोतले भन्यो ।

कामपाले हाल परीक्षण गरेको सवारीसाधनको प्रदूषण फेल भए ती सवारीसाधनलाई एक साताको समय दिएर कबुलियतनामा गरेर छाडेको छ। ‘पहिलोपटक सात दिनको समय दिन्छौं, त्यस बेलासम्म पनि प्रदूषण पास हुन नसके १ हजार जरिवाजना लिने तयारी गरेका छौं’ –प्रहरी प्रमुख पाण्डेको भनाइ छ। कामपाले शुक्रवारदेखि दैनिक २० सवारीसाधनको प्रदूषण परीक्षण जारी राखेको छ । तीमध्ये अधकांश क्षेत्रमा १४ पास ६ फेल हुने गरेको पाइएको छ।

तीन दिनमा ६० सवारीसाधनको परीक्षण सम्पन्न भइसकेको छ । कामपाले पहिलो दिन बबरमहल, दोस्रो दिन जमल र हिजो बिहीबार महाराजगञ्जमा परीक्षण गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले गत वर्ष करिब १० लाख रुपियाँ खर्च गरेर ल्याएको प्रदूषण परीक्षण यन्त्रले परीक्षण जारी राखेको छ । काठमाडौंमा गुड्ने डिजेलका सवारीसाधनमध्ये हालसम्म १८ वटा प्रदूषणरहित भेटिएको छ ।