काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले २१ वर्षदेखि रोकिएको कक्षा ११ र १२ को सबै परीक्षा एकैपटक लिने भएको छ। यो परीक्षाले १३ लाख ३२ हजार १ सय ४९ जना विद्यार्थीलाई ठूलो राहत हुने भएको छ।
तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र त्यसपछि बनेको रापबोर्डले अन्तिम मौकास्वरूप एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डको दुई साताअघि बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
परीक्षा माघमा सञ्चालन गर्ने गरी तयारी भइरहेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मङ्सिर २७ गतेसम्म फारम भर्ने समय तोकेका छौं, कतिले फारम भर्नेछन्, सोही आधारमा परीक्षा सञ्चालन गर्नेछौं ।’ बोर्डले कुन सालमा कति विद्यार्थी अनुपस्थित वा अनुत्तीर्ण थिए लगायत विषयमा सबै तथ्याङ्क तयार गरेको थियो । ‘सोही आधारमा करिब १३ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिन पाउने उल्लेख गरेका हौं’ –परीक्षा नियन्त्रक शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो।
तथ्याङ्कअनुसार कुन वर्ष कति ?
–२०५६ सालमा १८ हजार ७ सय २७
–२०५७ मा २८ लाख ५ सय ४४
–२०५८ मा ४७ हजार ९ सय ८२
–२०५९ मा ४१ हजार ५४
–२०६० मा ५५ हजार ४ सय ४६
–२०६१ मा ३८ हजार ९ सय ५०
–२०६२ मा २२ हजार ५ सय ९
–२०६३ मा २४ हजार ५ सय ९७
–२०६४ मा ३७ हजार ३ सय १४
–२०६५ मा ५७ हजार ३३
–२०६६ मा ७६ हजार ६ सय ९६
–२०६७ सालमा १ लाख ५ हजार ७ सय २७
–२०६८ मा १ लाख १६ हजार ७ सय ४७
–२०७९ मा १ लाख ६ हजार ३ सय ७४
–२०७० मा ९२ हजार ९ सय १५,
–२०७१ मा ६५ हजार ७०
–२०७२ मा ६४ हजार १२
–२०७३ मा ६६ हजार १ सय २३
–२०७४ मा १ लाख ७ हजार ५ सय १४
–२०७५ मा ७९ हजार २ सय ८२
–२०७६ मा ५६ हजार ६ सय ३१
–०७७ सालमा २२ हजार ९ सय २ जना
परीक्षार्थीको संख्याका आधारमा चरणबद्ध रूपमा परीक्षा दिन पाउने गरी तयारी थालेको छ । ‘धेरै विद्यार्थी सहभागी भए एकै चरणमा परीक्षा सम्पन्न गर्न सक्दैनौं, त्यसैले चरणबद्ध रूपमा माघबाट सञ्चालन गर्ने गरी तयारी थालेका छौं’ –परीक्षा नियन्त्रक शर्माले भन्नुभयो।
बोर्डले प्रश्नपत्र बैंकबाट प्रश्न तयार गर्नेछ । सबै केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाउने परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो। बोर्डले हिजो आइतबार सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ।
बोर्डका अनुसार २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीले परीक्षा दिन पाउनेछन्। बोर्डले २०७८ सालदेखि परीक्षामा सहभागी विद्यार्थीले तीन वर्षसम्म पुनः परीक्षा दिन पाउने व्यवस्था छ। नियन्त्रक शर्माले भन्नुभयो– ‘नयाँ पाठ्यक्रम लागू भएअघि सबै विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाएका छौं ।’
बोर्डका अनुसार सबैभन्दा बढी २०६८ सालका विद्यार्थी परीक्षामा दिन पाउनेछन् । उक्त सालमा १ लाख १६ हजार ७ सय ४७ विद्यार्थीले परीक्षा दिने गरी तथ्याङ्क तयार गरेको छ।
तथ्याङ्कअनुसार ०५६ सालमा १८ हजार ७ सय २७, ०५७ मा २८ लाख ५ सय ४४, ०५८ मा ४७ हजार ९ सय ८२, ०५९ मा ४१ हजार ५४, ०६० मा ५५ हजार ४ सय ४६, ०६१ मा ३८ हजार ९ सय ५० जनाले परीक्षा दिनेछन्। त्यस्तै, ०६२ मा २२ हजार ५ सय ९, ०६३ मा २४ हजार ५ सय ९७, ०६४ मा ३७ हजार ३ सय १४, ०६५ मा ५७ हजार ३३, ०६६ मा ७६ हजार ६ सय ९६ जनाले परीक्षा दिनेछन्।
०६७ सालमा १ लाख ५ हजार ७ सय २७, ०६८ मा १ लाख १६ हजार ७ सय ४७, ०७९ मा १ लाख ६ हजार ३ सय ७४, ०७० मा ९२ हजार ९ सय १५, ०७१ मा ६५ हजार ७०, ०७२ मा ६४ हजार १२, ०७३ मा ६६ हजार १ सय २३, ०७४ मा १ लाख ७ हजार ५ सय १४, ०७५ मा ७९ हजार २ सय ८२, ०७६ मा ५६ हजार ६ सय ३१ र ०७७ सालमा २२ हजार ९ सय २ जना विद्यार्थीले पुनः परीक्षा दिन पाउने गरी तथ्याङ्क तयारी गरेको छ ।
सूचना अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षा दिन पाउनेछन् । बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थीले आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।
कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एकपटकको मौका दिइने सूचनामा उल्लेख गरेको छ।
बोर्डले कक्षा १२ को नियमित परीक्षालाई समस्या नपर्ने गरी २१ वर्षसम्मको मौका परीक्षा सञ्चालन गर्न लागेको हो। कक्षा १२ को नियमित परीक्षा बोर्डको क्यालेन्डरअनुसार वैशाख महिनामा लिने तयारी गरेको छ । बोर्डको सूचनामा प्रयोगात्मक परीक्षा छुटेका विद्यार्थीले समेत फारम भरेर परीक्षा दिन पाउनेछन् ।
एसईई चैत ७ र १२ को वैशाख ११ गतेदेखि
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षा चैत ७ र १२ को वैशाख ११ गते गर्ने निर्णय गरेको छ । बोर्डले आफ्नो वेबसाइटमा सो सूचना जारी गरेको छ। सूचनाअनुसार माघ पहिलो साता परीक्षा केन्द्र निर्धारण, माघ मसान्तभित्र परीक्षा केन्द्र इन्ट्री र रुजु, फागुन मसान्तभित्र आन्तरिक नम्बर पठाउने र वार्षिक परीक्षा सञ्चालन चैत ७ गतेबाट गर्ने र असार ६ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ।
त्यस्तै, कक्षा १२ को वार्षिक परीक्षाको आवेदन फारम पुस १ गतेबाट भर्नुपर्नेछ। बोर्डले फागुन १ गतेभित्र परीक्षा तालिका सार्वजनिक गर्ने, फागुन १५ गतेभित्र परीक्षा केन्द्र निर्धारण गरी सिफारिस गर्ने तालिका सार्वजनिक गरेको छ। बोर्डले साउन १५ भित्र नियमित र कार्तिक १५ भित्र ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गर्ने भएको छ।











प्रतिक्रिया