सभापतिको  आश्वासन अनुसार संघीय सांसद  थापालाई मन्त्री बनाउन माग

30.36k
Shares

भक्तपुर। 

नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापालाई मन्त्री बनाउन जिल्लाका कांग्रेस नेता,कार्यकर्ता एवं शुभेच्छुकले माग गरेका छन्  ।

यहाँ आयोजित शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा उनीहरुले पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष यस्तो माग गरेका हुन् ।

गत संघीय संसदको निर्वाचन ताका दुई वर्ष अगि  सभापति देउवाले दुर्लभ थापालाई जिताए मन्त्री बनाउने आश्वासन दिएका थिए ।देउवाको सोही आश्वासनको जगमा भक्तपुरका कांग्रेसीजनले सांसद थापालाई मन्त्री बनाउन जोडदार माग गरेका हुन् ।

पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँले  जिल्लाका नेता कार्यकर्ताले धैर्यता राख्नुपर्ने भन्दै सभापति देउवाले सांसद थापालाई मन्त्री बनाउने विश्वास दिलाए ।

कांग्रेस  केन्द्रीय सदस्य एवं पार्टीको सय दिने जागरण अभियानका भक्तपुर संयोजक बलबहादुर केसीले भक्तपुर जिल्लाले राम्रो काम गर्दागर्दै पनि  केन्द्रीय नेताको कोपभाजन र चंगुलमा परेको बताउँदै जिल्ला कार्यसमिति चनाखो हुनुपर्ने साथै केन्द्रले पनि न्याय दिनुपर्ने बताए ।

जिल्ला कार्यसमितिका प्रचार संयोजक रवीन्द्र प्रधानले निर्वाचन जितेको दुई वर्षसम्म पनि सभापति देउवाको आश्वासन बमोजिम भक्तपुरको प्रतिनिधित्व नभएको बताए । प्रधानले नेपाल मजदुर किसान पार्टीको दबदबा चिर्न मन्त्री मण्डलमा भक्तपुरको प्रतिनिधित्व आवश्यक रहेको बताए ।

जिल्ला पार्टी सहसचिव यादवप्रसाद अधिकारीले पनि सभापति देउवालाई उहाँको पुरानो आश्वासन स्मरण गराएको बताए ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको संयुक्त सरकारले सय दिन पार गरेको र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र मन्त्रीको कामको मूल्याङ्कन भैरहँदा र कतिपय मन्त्रीले शुभ सङ्केत दिन नसकेको भन्दै गुनासो आइरहँदा केही मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठिरहँदा सांसद थापालाई मन्त्री बनाउनु पर्ने सन्दर्भ उठेको देखिन्छ ।

कार्यक्रममा सभापति देउवालाई विगतको आश्वासन स्मरण गराउँदा उनले नेताहरुसँग खासखुस गर्दै मुण्टो हल्लाएका थिए भने  सांसद थापाले कार्यक्रममा यो विषय नउठाउन भनेको बताएका थिए  ।

स्मरण रहोस् सांसद थापा नेकपा एमालेका चर्चित नेता महेश बस्नेतलाई पछिल्लो निर्वाचनमा पराजित गरी फलाम काट्ने फलामको रुपमा चर्चा बटुलेका व्यक्तित्व हुन ।

भक्तपुर कांग्रेस राजधानी नजिक रहेर पनि बत्तीमुनिको अँध्यारोका रुपमा केन्द्रको छायामा परेको र नेपाल मजदुर किसान पार्टीको गढका कारण यसको दबाबमा पर्दै आएकोले सभापतिको आश्वासन अनुसार जिल्लाका सांसद थापालाई सरकारमा सहभागी गराएर न्याय दिनुपर्ने कांग्रेसीजनको भनाई छ ।

तर यस बिषयमा सभापति देउवाले खुलेर खासै केही प्रतिक्रिया दिएनन् ।

भक्तपुरबाट विगतमा नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्य मन्त्री भएर र ऐश्वर्यलाल प्रधानाङ्ग राज्यमन्त्री भएर केन्द्रीय सरकारमा सहभागी भए पनि लामो समयदेखि जिल्ला कांग्रेसले मन्त्री बन्ने -बनाउने अवसर पाएको छैन ।

विगतमा निर्वाचन हारे पनि एमालेबाट महेश बस्नेतले मन्त्री बन्ने अवसर पाएपछि त्यो बेला निर्वाचन जितेका कांग्रेसका सांसद रामेश्वर ढुंगेलले मन्त्री बन्न निर्वाचन हार्नुपर्ने रहेछ आफूले त जितियो भन्दै ब्यङ्ग्य गरेको सुनिन्थ्यो । पछि पुर्वसभामुख दमननाथ ढुंगानालाई हराएर निर्वाचन जितेका बेला भने बस्नेतले मन्त्री बन्ने अवसर पाएनन् ।

बागमती प्रदेशसभा तर्फ भने भक्तपुरबाट विगतमा कांगेसका कृष्णलाल भँडेल ,एकीकृत समाजवादीका डा.राजेन्द्रमान श्रेष्ठ मन्त्री र कांग्रेसकै रजनी जोन्छे र एमालेकी सरस्वती बाटी राज्यमन्त्री बनेका थिए ।

प्रदेशको वर्तमान स्वास्थ्यमन्त्रीमा भक्तपुरबाटै एमालेका किरण थापाले प्रतिनिधित्व गरेका छन्  । भक्तपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेसका प्रदेश सांसद सुरेश श्रेष्ठ पनि मन्त्री बन्ने दाउमा लागि रहेका छन्  ।