बालुवाटारमा रास्वपाको प्रदर्शन: सांसद चौधरीसहित ३३ जना पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा आज काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै प्रदर्शन गरिरहेको रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

बालुवाटारमा प्रदर्शन गर्दा निषेधित क्षेत्र तोड्न खाजेपछि प्रहरीले ३३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा वीरेन्द्र श्रेष्ठ, सांसद अशोक चौधरी, प्रदिप विष्ट, सुरेश पोखरेल, ध्रुब ढकाल ,नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रिया, सवी खड्का, बुद्धरत्न महर्जन पक्राउ परेका हुन्।

यस्तै दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी नवराज मुडबरीलाई पक्राउ गरिएको रास्वपाले जानकारी दिएको छ।उनीहरुलाई विभिन्न प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ।

रास्वपाको प्रदर्शनका कारण यस क्षेत्रको यातायात प्रभावित भएको छ। प्रहरीले सडक खाली गराएर रास्वपाको प्रदर्शन रोक्ने प्रयास गरिरहेको छ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न भन्दै प्रहरीले माइकिङ पनि गरिरहेको छ। निषेधित क्षेत्रमा प्रवेश गरे बल प्रयोग गर्ने चेतावनीसमेत प्रहरीले दिएको छ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।