भारतीय सयपत्री फूल स्टोरेज गरेको आशंका, महानगर प्रहरीद्वारा तीन कोल्ड स्टोरमा सिल

2.91k
Shares

काठमाडौं ।

नेपालमा प्रतिबन्धित सयपत्री फूलको माला स्टोर गरेको आशंकामा काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रको ३ वटा कोल्ड स्टोरमा छापा मारेको छ। छापा मारेर ३ सय ६९ पोकामा अर्थात् झन्डै १ हजार ५ सय माला नियन्त्रणमा लिएको छ।


कामपा प्रहरी निरीक्षक श्याम तिमल्सिनाको कमान्डमा गएको टोलीले औद्योगिक क्षेत्रमा रहेको क्वालिटी ड्रिङ्स एन्ड कोल्डस्टोर र कोहिनुर कोल्डस्टोरको स्वामित्वमा रहेको ३ वटामा गरी ४ वटा कोल्डस्टोरमा छापा मारेर माला निकाल्न नमिल्ने गरी सिल गरेको छ।

दिउँसो करिब १ बजे कोल्डस्टोरमा पुगेको टोलीले प्रहरी र जनप्रतिनिधिको रोहवरमा माला राखेको कोल्डस्टोरमा छापा मारेको हो । प्रहरी निरीक्षक तिमल्सिनाले छापा मारेको कोल्डस्टोरका सञ्चालक र माला निर्यातकर्तालाई फेला पार्न नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कोहिनुरको स्वामित्वमा रहेको ३ वटामा १ सय ८९ र क्वालिटीमा ८० पोका माला नियन्त्रण गरेको छ।


उहाँले भन्नुभयो– ‘सबै विषय टिपोट गरेका छौं, आज सोमबार कामपाको कृषि तथा पशुपंक्षी विभागमा छलफल गरेर निर्णय गर्नेछौं ।’ कामपा प्रहरी प्रमुख राजु पाण्डेले प्रतिबिन्धत माला कसले आयात गरेको हो भन्ने विषयमा अनुसान्धान जारी राखेको बताउनुभयो।

कामपा प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय सयपत्री फूल भित्रिएको केही दिनअघि जानकारी पाएको थियो ।
सोही आधारमा आइतबार छापा मारेर नियन्त्रणमा लिएको हो। पाण्डेका अनुसार आज सोमबार विभागमा छलफल गरी भारतीय भएको पत्ता लगाए सयपत्री फूल नष्ट गरी आयातकर्तामाथि कारबाही अघि बढाइने भएको छ।

महानगर प्रहरीले फूलको आयातकर्ता खोजी गरिरहेको छ । ‘आज सोमबार कागजातसहित बोलाएका छौं, भारतीय भएको प्रमाणित भए कारबाही प्रक्रिया अघि बढाउने छौं’ –प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो । नेपाल फ्लोलिकल्चर एसोसियसनका पूर्वअध्यक्ष मीनबहादुर तामाङले नेपालमा भारतीय सयपत्री फूलको माला छ्याप्छ्याप्ती देखिएको बताउनुभयो ।
नेपालमा प्रतिबन्धित फूल आयात गरेर रोग भित्र्याउनेमाथि कारबाही गर्नुपर्ने एसोसियसनको भनाइ छ।

भारत सरकारले १६ वटा जीवमुक्त भएको भनी प्रमाणित नगरेसम्म नेपालमा सयपत्री फूलको मालामा प्रतिबन्ध नखुल्ने जनाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले भारत सरकारले आयातको सर्त पूरा नगरेका कारण भारतीय सयपत्री फूल आयातमा पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘भारत सरकारले जीवमुक्त नगरेको सयपत्री फूल नेपालमा प्रतिबन्ध छ, यदि कसैले आयात गरेको जानकारी पाए कारबाही गर्नेछांै ।’ महानरले कोल्डस्टोरबाट छापा मारेको सयपत्री फूलको बारेमा कार्यालयले अनुसन्धान गर्नेछ । त्यसपछि के कारबाही गर्ने भन्ने विषयमा निर्णय लिने केन्द्र प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

व्यापारीले कागजातबिना कस्तो प्रक्रियाबाट सयपत्रीको माला ल्याएको हो भन्ने विषयमा कामपाले अनुसन्धान गर्नेछ । कामपाले व्यापारीले भन्सार छलेर कागजातबिना प्रतिबन्धित सयपत्रीको फूलमाला ल्याएर बिक्री गर्न थालेको सुइँको तीन दिनअघि पाएको थियो । सोही आधारमा गोप्य रूपमा कोल्डस्टोरमा छापा मारेको हो ।

भारतीय फूल भित्र्याउने व्यापारी हालसम्म फेला पर्न सकेको छैन । ‘कोल्डस्टोर बन्द गरी आयातकर्तालाई आज सोमबार सम्पर्कमा आउन पत्र पठाएका छांै, नआए कारबाही गर्नेछौं’ –कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख नूरनिधि न्यौपानेले सो विषयमा आज छलफल गर्ने तयारी भएको बताउनुभयो ।

Skip This