दाङका प्रजिअको पहिलो दिनमै जनप्रिय निर्णय, प्रत्येक दिन हेल्प डेस्कमा आफै गएर जनताको गुनासो सुन्ने 


–कार्यालय प्रमुखको बैठकमार्फत गुनासो सम्बोधन गरिने 

–सेवा प्रवाह प्रभावकारी हुने विश्वास 

काठमाडौँ। 

दाङका नवनियुक्त प्रमुख जिल्ला अधिकारी(सिडिओ) कृष्णप्रसाद लम्सालले बहाली भएकै दिन सेवाग्राहीका पक्षमा दुईवटा महत्त्वपूर्ण निर्णय गरेका छन् । 

 उनले जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार मात्रै पदबहाली गरी कार्य प्रारम्भ गरेका हुन्  ।

 सुरुकै दिनमा उनले सर्वसाधारण र सेवाग्राहीको गुनासो आफैले सुनेर तत्काल समाधान गर्ने र सरकारी कार्यालयको सेवा प्रवाह प्रभावकारी बनाउने लगायतका विषयमा महत्त्वपूर्ण निर्णय गरेका हुन् । 

 दाङका नयाँ प्रजिको निर्णय अनुसार  आइतबार देखि नै प्रत्येक  दिनको १२ बजेदेखि १२ः३० बजेसम्म  सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही गुनासो सुनुवाई गर्नको लागि कार्यालयको कोठा नं. ११० मा रहेको नागरिक सहायता कक्षमा प्रजिअ आफै  उपस्थित भई गुनासो सुन्ने कार्यक्रमको थालनी भएको छ । प्रजिअ  अनुपस्थित भएका दिनहरुमा स.प्र.जि.अ. वा प्रशासकीय अधिकृतबाट गुनासो सुनुवाई हुने व्यवस्था गरिएको जनाइएको छ । 

यसैगरी  नागरिकहरुको जायज गुनासो सम्बोधन तथा सुझावहरुको कार्यान्वयन गर्नका लागि  हरेक महिनाको ३ गते दिउसो  ३बजे देखि ४ बजेसम्म प्रजिअ  स्वयं उपस्थित भई लिखित तथा मौखिक वा अनलाइन मार्फत जिल्ला भित्रका समग्र कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका सम्बन्धमा जाएज गुनासो टिपाउने तथा सुझावहरु ग्रहण गर्ने  व्यवस्था मिलाइएको छ । त्यसरी नागरिकबाट आएका सुझाव तथा गुनासोहरुलाई प्रत्येक महिनाको ४ गते बस्ने कार्यालय प्रमुखको बैठकमा पेश गरी सम्बोधन गरिने बताइएको छ । नयाँ प्रजिअको यस प्रकारको सेवाग्राहीमैत्री निर्णय सँगै दाङका सरकारी कार्यालयको सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ ।