कसले रोक्यो नेपाली टोलीको भिसा ?


हेटौंडा। 

हंगेरीमा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरका विवेक थिङ चम्किँदैं गर्दा अन्य सहभागीले भने भिसा पाएनन् । विवेक हंगेरीमा ओलम्पिक रिङ एक्स्पो क्लासिकल गेम खेलिरहेका छन् । अन्य खेलाडीले भने भिसा नै पाएनन् । 

नेपाल बुद्धिचाल महासंघको बैशाख २२ गतेको पूर्णबैठक र असार ७ गतेको सचिवालय बैठकले खेलाडी, कप्तान, टोलीनेता र अन्तर्राष्ट्रिय प्रतिनिधिसहितको नाम टुंगो लगाएको थियो । ‘के नेपाली खेलाडीले युरोप र अमेरिका जस्ता विकसित मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने हो ?,’ नेपाल बुद्धिचाल महासंघका महासचिव हेटौंडेली युवा धरम लामा भन्छन्–खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा केवल देशका लागि खेलेको हुन्छ । आफ्नो कुशल खेल प्रतिभाद्वारा राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछ । राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँछ । तर, त्यही गौरवशाली खेलाडीले खेल खेलेर राष्ट्रप्रति योगदान गर्ने अवसरबाट वञ्चित भएर बस्नुपर्ने किन हो ? र, कहिलेसम्म ?

उनको प्रश्न छ–राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियजगत्मा आफ्ना खेल प्रदर्शन गर्न जान खोज्दा दुतावासहरुले भिसा अस्वीकृत गरिरहँदा केवल मूकदर्शक भएर बस्ने हो ? यस्ता कति खेलाडीले भिसा नपाएका कारण आफ्ना खेलप्रतिभा कुण्ठित गरेर बस्नुपरेको छ भन्ने खोजी गर्नुभएको छ ?

आफ्नो वा परिवारको जीविकोपार्जन गर्न जीवनको उत्तराद्र्धमा सहज जीवनयापनका लागि हाम्रो मुलुकका साफ पदक विजेता, राष्ट्रिय विजेता र कयौं राष्ट्रिय खेलाडी आफ्नो र सन्तानको उज्ज्वल भविष्यको खोजीमा अन्तर्राष्ट्रियजगत्मा तल्लोस्तरको श्रमदान गर्नुपरेको छ । यो दशा कहिलेसम्म हो ?’ उनले पीडा पोखे–हामीले जुन पीडा भोग्यौं, त्यस्ता पीडा फेरि कुनै खेलाडीले भोग्नु नपरोस् । खेलभित्र राजनीति गर्न छाडिदिनुस् । ‘हामीलाई जानलाई रोक लगाउने व्यक्ति जोकोही भए पनि खोजी गरी सहयोग गरिदिनु हुन सबैलाई आग्रह गर्दछु,’ उनले छानविनको आग्रह गरे ।

आएका नाममाथि छलफल गरी महासंघले खेलाडी, क्याप्टेन, टोलीनेता र अन्तर्राष्ट्रिय प्रतिनिधिको आवेदन अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको सुझाव सहज पद्धति अपनाइने परामर्शअनुसार २०२४ जुलाई २ तारिख दिल्लीस्थित हंगेरी दुताबासमा इमेलमार्फत् पठाएको थियो । जुलाई ३ तारिख हंगेरी दुतावासको जवाफअनुसार आवेदन कुनै व्यक्तिले सीधै दिन नपाइने भएपछि अध्यक्षको नेतृत्वमा नेपालमा भएकासँग परामर्श लिइयो । र, नेपालबाट भीएफएस नहुने जानकारी भएपछि केही दिनको खटनपछि हंगेरीका कन्सुलरसमेतलाई भेटियो । कन्सुलरले भारतमा गएर हंगेरी दूतावासका अधिकारीलाई अनुरोध गर्ने वा भीएफएसमार्फत् आवेदन दिने वा नेपालमा रहेको जर्मनी दुतावासमार्फत् आवेदन दिने राय दिए । यसमध्ये भारतमा गएर दुवै तरिकाको प्रक्रिया अपनाउने भनेर जुलाई २८ तारिख अध्यक्ष र कोषाध्यक्ष दिल्ली पुगे ।

केही दिनको बसाइपछि ‘नेपालको जर्मन दूतावासमा आवेदन दिनू’ भन्ने सन्देशपश्चात् जर्मन दूतावासमा आवेदन भर्ने निधो गरियो । जब जर्मन दुतावासमार्फत् हंगेरीका लागि आवेदन भर्न गए, त्यहाँका एजेन्टअनुसार हंगेरीले जर्मन दूतावास काठमाडौँलाई निलम्बन गरेर राखेका कारण आवेदन नलिने कुरा बुझियो । रायसुझाव लिँदा हंगेरियन दूतावासले अनुमति दिएपछि मात्र भिसा प्रक्रिया अगाडि बढ्ने जानकारी प्राप्त भयो ।

‘तत्पश्चात् हंगेरियन दुतावाससँगै अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघलाई जानकारी दिँदै सहजीकरणका लागि अनुरोध गर्दै अघि बढ्यौं । केही दिनसम्म जर्मनी दूतावासबाट जवाफ नआएपछि साउन २९ गते अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ अध्यक्ष र व्यवस्थापन बोर्डका सहअध्यक्षसँग कुराकानीपछि थाहा पायौंं कि नेपालसहित १ सय भन्दा धेरै राष्ट्रले भिसा पाएका छैनन्,’ उनले भने–त्यसका लागि हंगेरीको मन्त्रिपरिषद्सँग अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको टोली बैठक बस्दैछ र अविलम्ब समस्या समाधान हुने सान्त्वना पायौं ।

उनले भोलिपल्ट जर्मनी दूतावासबाट सेप्टेम्बर ४ को समय पाइए पनि मिति कम्तीमा १० दिनअघि सारिदिन अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघलाई जानकारी दिँदै दूतावासलाई अनुरोधपत्र पठाइयो । तर, सबै प्रयास व्यर्थ भयो ।

सेप्टेम्बर ४ तारिख ४ पुरुष खेलाडी, ५ महिला खेलाडी, दुवै समूहका क्याप्टेन, टोलीनेता, अन्तर्राष्ट्रिय प्रतिनिधि र ओलम्पियाड अवलोकनकर्तासमेत १८ जनाले बायोमेट्रिक गरे । सेप्टेम्बर ६ मा पासपोर्ट सङ्कलन गर्न बोलाइयो । ६ तारिख पासपोर्ट लिन जाँदा थाहा भयो कि भिसा कसैलाई पनि लागेन ।

यस संस्करणका लागि अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ र एसियाली बुद्धिचाल महासंघको सहयोगमा नेपाली खेलाडीलाई उत्कृष्ट नतिजाका लागि पूर्व तयारीस्वरुप कोषाध्यक्ष ताराबहादुर रानाभाटको संयोजकत्वमा सदस्यद्वय राजु ताम्राकार र निरञ्जन प्रजापतिसहित ३ जनाको तयारी समिति बनाएर काजकिस्तानी ग्राण्डमास्टर मुर्तास काज्गलिभद्वारा ७ अगष्टदेखि १५ दिन प्रशिक्षण गराइएको थियो ।

अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको २ सय १ सदस्यमध्ये सन् १९८८ देखि अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघआबद्ध नेपाल बुद्धिचाल महासंघले हरेक बुद्धिचाल खेलाडीको सपना हुने सन् २००४ मा स्पेनमा आयोजित ३६ औं ओलम्पियाडदेखि सहभागी भई २००६ को इटली, २००८ को जर्मनी, २०१० को रसिया, २०१२ को टर्कीमा खुला १ टिम र सन् २०१४ नर्वेदेखि खुला र महिला गरी २ टिम सहभागी भएर निरन्तर २०१६ मा अजरबैजान, २०१८ मा जर्जिया, २०२० मा कोभिडका कारण अनलाइन र २०२२ भारतमा सहभागी भएको छ ।

Skip This