काठमाडौं।
मुख्य सचिव एकनारायण अर्यालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै विभिन्न मन्त्रालय तथा निकायमा बेकामे भएर बसेका ढेड सय बढी कर्मचारीलाई तत्काल खोजेर सम्बन्धित निकायमा पठाउन कडा निर्देशन दिएका छन् । मुख्य सचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सर्तकता केन्द्रका अधिकारीहरुलाई सिहदरबारका विभिन्न मन्त्रालयमा बिना दरवन्दि राखिएका कर्मचारी खोजेर तत्काल पत्ता लगाई सम्बन्धित निकायमा पठाउन निर्देशन दिएका हुन् ।
हाल सिहदरबारका विभिन्न मन्त्रालय र निकायमा दरबन्दी नभएका सयौँ कर्मचारी कार्यालय आउने हाजिर गर्ने र त्यसै फर्कने गरिरहेका छन् । उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि नै विभिन्न निकायमा सरुवा गरेको भएपनि उनीहरु अटेर गर्दै सरुवा भएको निकायमा गएका छैनन्।

मुख्य सचिव अर्यालले बेकामे बनेका कर्मचारीलाई सम्बन्धित निकायमा पठाएर तत्काल काम र जिम्मेवारी दिनुपर्ने बताए । ‘अब सेवा प्रवाह र जिम्मेवारी बोधमा कुनै प्रकारको सम्झौता हुदैन्, कर्मचारीहरु जहा खटाइएको हुन्छ, त्यहा गएर इमान्दारीता पूर्वक जिम्मेवारी लिएर काम गर्नुपर्छ र सेवा प्रवाह प्रभावकारी बनाउनु पर्छ । ’मुख्य सचिव अर्यालले भने ।
मुख्य सचिव अर्यालको निर्देशनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सतर्ककता केन्द्रका विभिन्न टोलीले दरबन्दी विना नै विभिन्न मन्त्रालय र निकायमा बसिरहेका कर्मचारीका बारेमा खोतलास गर्न थालेका छन् ।
ती कर्मचारीलाई सामान्यले अन्यत्रै सरुवा गरेपनि उनीहरुलाई सरुवा भएकै ठाउँमा पठाउन भने सकेको थिएन् । अब भने सामान्यले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी ती कर्मचारीलाई सरुवा भएकै ठाउँमा पठाउन तदारुकता देखाएको हो ।
अन्यत्र सरुवा भएका ती कर्मचारीले रमाना नलिई अटेर गर्दै मन्त्रालय तथा विभिन्न निकायमा हाजिर गर्ने र त्यसै घर फर्कने गरिरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सिहदरबार भित्र रहेका २० वटा मन्त्रालय मध्ये अधिकांश मन्त्रालयमा ५–६ जना उपचिव र ६– ७ जना शाखा अधिकृतहरुलाई दरबन्दी बाहेकमा राखिएको छ । ती कर्मचारीहरुले मन्त्रालयमा कुनै जिम्मेवारी नलिने र हाजिर गर्दै फर्कने गरेका हुन् । मुख्य सचिव अर्यालको निर्देशनसँगै अब ती सबै कर्मचारीहरु केही दिन भित्रै सरुवा भएको ठउँमा पठाइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
यता झण्डै ढेड सय कर्मचारी बेकामे बनिरहेको अवस्थामा उता २ सय बढी स्थानीय तहहरु भने प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । ती स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रभावकारी काम हुन सकेका छैनन् । मुख्य सचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव लगायतका अधिकारीलाई रिक्त स्थानीय तहमा छिटो भन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाएर स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन्।
उता अतिरिक्त कमाई हुने वा घुस खान पाइने मालपोत कार्यालय, नापी, यातायात कार्यालय, वैदेशिक रोजगार विभाग, कम्पनी रजिष्टार कार्यालय, श्रम कार्यालय, उद्योग विभाग, विभिन्न राजश्व कार्यालयहरु लगायतका निकायमा पनि दरबन्दी भन्दा अत्यधिक कर्मचारी रहेका छन् । यी निकायलाई सामान्यतय घुस खाने अड्डाका रुपमा चिनिने गरिन्छ । मुख्य सचिव अर्यालले अब त्यस्ता निकायमा पनि दरबन्दी बिना नै लामो समय सम्म बस्ने कर्मचारीलाई अन्यत्र खटाउनुपर्ने आवश्यकता औँल्याए । यद्यपि कामको चाप बढी हुने निकायमा भने केहि कर्मचारीहरु बढी हुनु स्वभाविक भएकाले यस सम्बन्धमा छुटै अध्ययनन हुने मुख्य सचिव अर्यालले बताए ।
ती निकायमा विभिन्न उच्च राजनीतिक तथा प्रशासनिक सेटिङ मिलाएर कैयौँ कर्मचारी दरवन्दि नै नभए पनि विभिन्न बहानामा सरुवा भएर जाने गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि त्यस्ता कर्मचारीलाई खोजी गर्न नसक्नुलाई शंकाको रुपमा हेरिएको छ । निजामती सेवामा त्यसरी घुस खान पाइने अड्डामा दरबन्दी नै नभए पनि हैकम जमाएर बस्नेलाई ‘डन कर्मचारी’को संज्ञा दिने गरिन्छ । त्यस्ता अड्डामा बढी मात्रामा डन कर्मचारीकै बोलाबाला हुने गरेको देखिन्छ ।











प्रतिक्रिया