लोभलालच त्यागौँ, केही हुँदैन होइन, हुन्छ- अध्यक्ष बस्नेत 

यस्ता छन् ३ सफल आयोजनाका दृष्टान्त 


काठमाडौँ । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोभलालच नराखी काम गरे सबै क्षेत्रमा सफलता मिल्ने भएकाले केही हुँदैन भन्ने भाष्य त्याग्न सबैलाई आग्रह गरेका छन् । 
अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिए प्रभावकारी परिणाम आउने दृष्टान्त समेत राखेका छन् । 

कामप्रति पूर्ण प्रतिबद्ध भई गरेका ३ वटा आयोजना सफल भएको उदाहरण सामाजिक सञ्जालमार्फत सोमबार राख्दै उनले भनेका छन् – ‘लोभलालच नगरी, डेडिकेटेड भई काम गर्दा  प्रभावकारी र सफल हुन्छ भन्ने यी ३ आयोजनाले देखाउँछ- सुनकोशी मरिण डाइभर्सन, नागढुङ्गा सुरूँगमार्ग र मध्य पहाडी लोकमार्ग ।’
गरे के हुँदैन भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि जनमानसमा उठेको गलत भाष्य त्याग्न सुझाव पनि राखे । यी ३ आयोजना मात्र नभै अन्य पनि उदाहरण रहेको र ती आयोजनाले देशको विकासमा विशेष स्थान राख्ने उनले उल्लेख गरे । 

‘त्यसैले यहाँ केही हुँदैन भन्ने गलत भाष्य छाड्दै जाउँ । नकरात्मक होइन, रचनात्मक बनौं । इमान्दार, लगनशील र कर्मठ बनेर काम गरे केही नहुने होइन, पक्कै हुन्छ,’ अध्यक्ष बस्नेतको सुझाव छ । 

मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ । काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशव्यापी बनाउने निर्णय भएको थियो । 
युट्युबसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।

प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारबाही गर्दै आएको छ ।