काठमाडौं।
उपसभामुख इन्दिरा राना मगरले महिला हिमाल चढ्नु सशक्तीकरणको प्रतिविम्ब भएको बताएकी छन् । पर्वतारोही एवं सामाजिक अभियन्ता माया गुरुङले तयार पारेको डकुमेन्ट्री ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ को विशेष प्रदर्शनी समारोहमा बोल्दै उपसभामुख रानाले चुलो चौकोमा सीमित महिला हिमाल चढ्नु गर्वको कुरा भएको बताइन्।
“महिलाले क्लाइम्ब गरेर, गाइड गरेर पुरुषलाई लान सक्छन् भन्ने प्रमाणित गरेका छन् । यो गर्वको कुरा हो । हिमाल चढ्न कठिनाइ छ, चुनौती छ । तर, त्यो चुनौतीलाई महिलाले सामना गर्न सक्षम भएका छन् । सामाजिक चुनौतीलाई पनि महिलाले ह्याण्डिल गरेका छन्”उनले भनिन् ।
आफू पनि चुनौती पार गरेरै जेलका बच्चाको हेरचाहमा लागेको भन्दै रानाले थपिन,’घरमा घाँस दाउरामा बस्ने महिला हिमालमा पुग्नु शक्तिशाली महिलाको परिचय हो । यसको लागि तपाईंहरूलाई धन्यवाद छ ।’
सन् २००८ मा सगरमाथा आरोहण गरेकी गुरुङले किशोरी तथा युवतीलाई क्लाइम्बिङ र गाइडमा प्रवर्द्धन गर्दै आएकी छन् । दुई सयभन्दा बढी युवतीलाई तालिम दिएर हिमाल यात्राका लागि सशक्तीकरण गर्दै आएकी छन्।
कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले भने, “हिमाल चढ्नका लागि सहयोग गर्न तयार छ । सँगै यात्रा गर्नेछौं । सहयोग हुन्छ ।”











प्रतिक्रिया