कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, सदस्य सचिवको टेबलमा विवरण पुगेर रोकियो

13.63k
Shares

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालको टेबलमा पुगिसक्दा पनि कक्षा १२ को परीक्षाफल प्रकाशित हुन सकेको छैन। उच्चस्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयले गएको सोमबार सम्पूर्ण प्रोसेसिङ र सिस्टम लक गरेर परीक्षाको सबै विवरण पेस गरेको थियो। सदस्य सचिवको टेबलमा विवरण पुगिक्दा पनि परीक्षाफल प्रकाशित हुन नसकेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशन गर्न आज बिहीबार बोर्डको बैठक डाकेको बताउनुभएको थियो । तर, अध्यक्ष शर्माले भनेजसो आज परीक्षाफल प्रकाशित गर्ने अवस्था छैन, सो विषयमा बोर्डका सदस्यलाई खबर गरेको पनि होइन। सदस्य सचिवले बोर्ड बैठक नबोलाउँदा र अध्यक्षले मौन समर्थन गर्दा परीक्षाफल प्रकाशित हुन विलम्ब भएको हो।

यसअघि बोर्डका अधिकारीले भोलि शुक्रबारसम्म परीक्षाफल प्रकाशित गर्ने जनाएका थिए । बोर्र्डका प्रवक्ता गोविन्द खनियाँले परीक्षाफल कहिले प्रकाशन हुन्छ भन्ने प्रश्नमा अनविज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो–‘तयारी भइरहेको छ, चाँडै हुनेछ ।’
स्रोतका अनुसार बोर्डले बजेट पास गरेपछि मात्र परीक्षाफल प्रकाशित गर्ने तयारी छ । बोर्डले हिजो बुधबारबाट बजेटको बैठक जारी छ । साउनमा सार्वजनिक हुने परीक्षाफल हालसम्म प्रकाशित हुन नसक्दा गम्भीर समस्या देखिएको छ । बोर्डका अधिकारीले परीक्षाफल र बजेटको कुनै सम्बन्ध नभएको बताएका छन् ।

उनीहरूले सदस्य सचिवको अक्षमताका कारण अन्तिममा परीक्षाफल प्रकाशित हुन नसकेको आरोप लगाएका छन् । वैशाख १४ देखि २६ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६ सय परीक्षार्थी सहभागी छन् ।

बोर्डले गत वर्ष साउन ३० गते कक्षा १२ को परीक्षाफल प्रकाशन भएको थियो । यो वर्ष १८ गतेसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । अध्यक्ष शर्माले विगतभन्दा यो वर्ष चाँडै परीक्षाफल प्रकाशन हुने दाबी गर्नुभएको थियो । परीक्षाफल प्रकाशित गर्नुुअघि बोर्डका सदस्यलाई जानकारी दिई बैठक बोलाउने जिम्मेवारी सदस्य सचिवको हो । अध्यक्ष शर्माले आज परीक्षााफल प्रकाशित गर्न बोर्ड सदस्यलाई जानकारी दिएको बताउनुभयो । तर, अध्यक्षले भनेजसो बोर्डका सदस्यलाई परीक्षाफल प्रकाशित गर्ने विषयमा जानकारी दिएको छैन ।

पनिका र बोर्डका अधिकांश उच्च कर्मचारीले सदस्य सचिव अर्यालले काम देखाउन विवरण रोकेको आरोप छ। यस विषयमा जानकारी लिन खोज्दा सदस्य सचिव अर्यालले भन्नुभयो– ‘चाँडै गर्दै छौं ।’ रोकेको विषयमा उहाँले केही बताउन चाहनुभएन। बोर्डका सदस्यसचिव अर्यालका कारण बोर्डमा समस्या देखिएको छ। बोर्डका अधिकारीलाई सदस्य सचिवले बेवास्ता गरेको कारण समस्या परेका हो।

पनिकाले एजेन्डासहित बोर्ड बैठक बोलाएर परीक्षाफल प्रकाशित गर्ने तालिका बनाएको थियो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासम्म एक साताअघि कहिले परीक्षाफल प्रकाशित हुन्छ भन्ने प्रश्नमा उहाँले शुक्रबारसम्म हुने जानकारी दिनुभएको थियो। बोर्डको सदस्य सचिवको हैसियतमा बोर्डको बैठक राख्ने जिम्मेवारी हुन्छ। तर टेबलमा परीक्षाफल विवरण रहे पनि अनिश्चित छ।

यो वर्षको परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी हुँदै छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ९५ र ग्रेडवृद्धितर्फ १ लाख ६ सय २ परीक्षार्थी सहभागी थिए ।

Skip This