कानुन बन्न ढिलाइ हुनुमा कार्यालय दोषी छैन : प्रेमकुमार सिंह

2.16k
Shares

नेपालमा २०२७ सालमा पानीजहाजसम्बन्धी कानुन बने पनि अहिलेसम्म अपुरो छ । पानीजहाजको अर्थ समुद्रमा चल्ने ठुलो जहाज भन्ने हुन्छ । तर, यन्त्रबाट पानीमा चल्ने सानाठुला सबै जहाज पानीजहाजभित्र पर्नेगरी कानुन आउन लागेकोे पनि पाँच वर्ष भइसकेको छ । कानुन बनेपछि पानीजहाज कार्यालयले के गर्छ, अहिले कानुन नहुँदा काम गर्न कतिको अफ्ठ्यारो परेको छ जस्ता विषयमा केन्द्रित रहेर नेपाल पानीजहाज कार्यालयका रजिस्टार प्रेमकुमार सिंहसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानी ।

नेपालको पानीजहाज कार्यालयबारे बताइदिनुहोस् ।

नेपाल पानीजहाज कार्यालय २०७५ साल फागुन २ गते उद्घाटन भएको हो। पानीजहाजसम्बन्धी ऐन २०२७ सालको थियो। पानीजहाजको झन्डासम्बन्धी ऐन र पानीजहाज नियमावली पहिला पनि थियो । पानीजहाजको कानुन भए पनि सानोमात्र थियो। त्योअनुसारको कार्यालय नै स्थापना भएको थिएन। त्यसको दर्तासम्बन्धी कुनै व्यवस्था पनि थिएन । २०६५/२०६६ मा पूर्वको चतरामा ३६ सिटको दुईओटा पानीजहाज अमेरिकाबाट झिकाएको थियो । त्योबेला पनि कहाँ दर्ता गर्ने भन्ने विषयको खोजविन शुरू भएको थियो । त्योबेला यातायात विभागको महानिर्देशकलाई सजिस्टारको रूपमा तोकिएको थियो। त्यो पानीजहाज दर्ता गर्न मलगायत गएका थियौँ। पानीजहाजसम्बन्धी कानुन नभएका कारण दर्ता गर्न अन्योल देखिएको छ। मानिसले ठुलोमात्र पानीजहाज भनेर बुझ्ने गरेका छन्। पानीमा चल्ने जुनसुकै साधनलाई पानीजहाज भन्नुपर्दछ। जसमा मोटरबोटदेखि फेरीसम्म सबैलाई पानीजहाज भनिन्छ। यो कार्यालय स्थापन भएपछि पानीजहाज ऐन भन्ने बनाउँदैछौँ । पहिले हामीसँग रहेका सानासाना कानुनलाई एकीकृत गरेर संशोधित र नयाँ ऐन बनाउन मस्यौदा तयार पारेका छौं । त्यो मस्यौदा प्रधानमन्त्री कार्यालयको विधेयक समितिमा छ। एकपटक मस्यौदा फिर्ता भएर पुनः संशोधन गरिएको छ । म मस्यौदाले छिटै नै कानुनको रूप लिने विषयमा विश्वस्त छु। अहिले प्रधानमन्त्री कार्यालयको विधेक समितिमा कानुनको मस्यौदा छलफलको क्रममा छ।

नयाँ ऐनमा कस्ता प्रावधान छन् ?

ऐनको मस्यौदामा नदीनालामा चल्ने जहाजलाई दुई किसिमले वर्गीकरण गरिएको छ। एक मालवस्तु बोक्ने र अर्को मानिस बोकेर मनोरञ्जन लिने।

कानुनको अभावमा के कस्ता बाधा आइपरेका छन् ?

नेपालको नारायणी नदीमा पनि सुविधायुक्त पानीजहाज चल्न थालेको छ। अहिले कानुन अभावका कारण पानीजहाज दर्ता हुन सकेका छैनन्। दर्ता नभए पनि रुट, बिमा, समय, भाडाको विषयमा उचित किसिमले कार्य गर्न पाइएको छैन। नेपालभित्र चलेका साना ठूला जहाज सञ्चालन गर्न कानुनको आवश्यक छ। अहिले पनि कतिपय नेपाली बाहिर देशको पानीजहाजभित्र विभिन्न पदमा काम गरिरहेका छन्। अन्तर्राष्ट्रिय अभ्यासमा जुन देशको नागरिक हो त्यस देशले पानीजहाज चलाउन लाइसेन्स ‘सिमेन बुक’ दिनुपर्छ। कानुनको अभावले त्यो पनि गर्न सकिएको छैन ।

अहिले कुनकुन ठाउँमा पानीजहाज चलिरहेको छ ?

नारायणी, कोशी, कर्णाली, फेवाताल, वेगनाथताल, भरतताल विभिन्न ठाउँमा विभिन्न साइजका जहाज देख्नुहुन्छ। कोशीमा २२ किलोमिटर चल्ने जहाज एक ठाउँबाट अर्को ठाउँमा जान हो । अहिले १० किलोमिटरसम्म चलिरहेको छ ।

अहिले चलिरहेका पानीजहाज वैधानिक हुन् ?

उनीहरूले स्थानीय तह र पर्यटन विभागमा दर्ता गराएका छन्। भाडा कुनै पनि ठाउँबाट तोकिएको छैन। कानुन आएपछि सबै नेपाल पानीजहाज कार्यालयमा दर्ता हुन्छ। कानुन आएपछि पानीजहाजको पनि रुट कायम हुन्छ।

अहिले कति ठाउँमा अध्ययन भइरहेको छ ?

कर्णाली, कालीगण्डकी, नारायणी, कोशी, त्रिशुली, सुनकोशी, तामाकोशी, राप्ती र बबईंमा चलाउने भनेर अध्ययन गराएका छौँ । कतिपय ठाउँमा गहिराइ कम रहेको र केही ठाउँमा बनाएपछि पानीजहाज चलाउन मिल्ने देखिन्छ। केही महिनाअगाडि सुनकोशीको २२ किलोमिटरसम्म अध्ययन गराउँदा सात ठाउँमा बनाउनुपर्ने देखिन्छ।

विश्वमा पानीजहाज सञ्चालन पेट्रोलियम पदार्थबाट मात्र हो ?

जहाज सबै पेट्रोलियम पदार्थबाट मात्र सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय जगतको अभ्यास हेर्ने हो भने पनि सबै पानीबाटै सञ्चालन हुनेछ । सानो जहाज पेट्रोल र ठुलो जहाज डिजेलबाट सञ्चालन हुनेछ ।

सडक यातायातभन्दा सस्तो हो ?

यो सवारी यातायातभन्दा सस्तो हुने हुन्छ । जहाजको प्रकृति हेरेर सस्तो हुने वा महँगो हुने भन्ने अनुमान गर्न सकिन्छ । सानो जहाजमा महँगो र ठुलो जहाजमा सस्तो पर्दछ । नारायणी नदीमा पानीजहाज चलाउने विषयमा छलफल भइरहेको छ ।

नेपालले समुद्रमा पानी जहाज चलाउन सक्छ ?

भूपरिवेष्ठित देशका लागि किन पानीजहाज भन्ने गरेको सुनिन्छ । पानीजहाज भन्नेवित्तिकै मानिस हाँसो गर्ने गरेको पनि पाइन्छ। कानुन आएपछि जहाजको वर्गीकरण हुन्छ। जसमा इन्जिन छैन भने दर्ता गर्नुपर्दैन। समुद्रमा ३७०.४ (२०० नटिकल माइल्स) किलोमिटरसम्म समुद्र जोडिएको देशको अधिकार हुन्छ। त्यसपछिको भूभागमा जसले पनि आफ्नो देशको पानीजहाज चलाउन पाउने प्रावधान रहेको छ। यो अन्तर्राष्ट्रिय कानुनअनुसार रहेको छ। कुनै देशभित्रको क्षेत्रमा प्रवेश गर्न सम्बन्धित देशको अनुमति लिनुपर्दछ। यसमा राज्य र नेपाली नागरिकले दर्ता गर्न सक्छन् ।

कार्यालयमा कर्मचारीको दरबन्दीको अवस्था कस्तो रहेको छ ?

नेपाल पानीजहाज कार्यालयमा जम्मा कर्मचारीको दरबन्दी १८ जनाको हो। एक सहसचिव (रजिस्टार) राप प्रथम मेकानिकलको हुन्छ। एकजना मेकानिकलको (उपसचिव) रहने व्यवस्था छ । अहिले सिभिलतर्फका ४ जना कर्मचारीको पद रिक्त छ । त्यसबाहेक जम्मा १४ जना कर्मचारीले काम गरिरहेका छौँ ।

कार्यालयले पानीजहाजसम्बन्धी कानुन पाँच वर्षसम्म बनाउन नसक्नुको कारण के कस्ता छन् ?

२०७५ सालमा कार्यालय स्थापना भयो । २०७६ को अन्तिममा क्याबिनेट पठाइसकिएको थियो । त्यसपछि कोभिड शुरू भएपछि रोकावट आयो । त्यसपछि सरकार परिवर्तन भयो । सरकार परिवर्तन भएपछि संसद्मा पुगेको कानुन पूरै फर्किने गरेको छ । फर्किन्छ भन्ने जानकारी पाइए पनि फाइल आउनलाई ८ देखि १० महिना लागेको थियो । फइल २०७८ सालको मंसिरतिर आएको थियो । त्यसपछि कर्यालयले कमिटी बनाएर २०७९ सालतिर मन्त्रालयमा पेस गरिएको थियो । त्यसमा राय लिनेजस्ता विषय आएको थियो । यसमा कार्यालयको मात्र हात हुँदैन ।

पानीजहाज ऐन भन्ने नाम नै गलत देखिन्छ त ?

पानीजहाज कार्यालय दर्ता ऐनमा नै नेपाल पानीजजहाज कार्यालय रहनेछ भनेर राखिएको हुनाले त्यही नाम रहेको हो । त्यसलाई परिवर्नत गर्न ऐन नै परिवर्तन गर्नुपर्ने भएकाले साविककै नाम रहेको हो ।

अहिले कार्यालयले के कस्ता काम गरिरहेको छ ?

विभिन्न नदी भएका ठाउँको अध्ययन गरिएको छ । यसपालिको बजेटबाट नारायणी नदीमा चढ्न र ओर्लिने ठाउँ बनाउन लागिरहेका छौँ । पानीजहाज चढ्ने स्थानका स्थानीय तथा पानीजहाज चलाउनेले पानीको सतह बिग्रिएको विषय जानकारी गराएअनुसार कार्यालयले पानीको बाटो बनाइदिने गरेको छ।

पानीजहाज दर्ता ऐन, २०२७ बाहेक अरू कानुनबारे बताइदिनुहोस् ।

पुराना सबै कानुन खारेज हुन्छ । जसमा रोज नाम्चा ऐन (लकबुक) पानीजहाज चलाउँदा जहाजको अवस्थाबारे राखिने तथ्यांक हो । झन्डासमबन्धी ऐन, पानीजहाज दर्ता ऐन गरी जम्मा तीन ऐन खारेज खारेज हुन्छ।

पनीजहाजमा झन्डा किन आवश्यक पर्छ ?

पानीजहाजमा झन्डा राख्ने विषय अन्तर्राष्ट्रिय अभ्यास हो। नेपालको झन्डा राखेर समुद्रमा पानीजहाज चलाउँदा सानो नेपालजस्तै अनुभव हुन्छ । सार्वभौम राष्ट्रले झन्डा राख्ने चलन रहेको छ । नेपालमा दर्ता गर्ने निजी क्षेत्रले पनि नेपालको झन्डा राख्नुपर्दछ । सबै राष्ट्रले आफ्नो झन्डा राख्ने गरेका छन् ।

आउँदा दिनमा कार्यालयले गर्ने योजना कस्ता छन् ?

आउने आर्थिक वर्षमा नारायणी नदी टर्मिनल निर्माणको काम शुरू हुनेछ। सुनकोशीमा ७ ठाउँमा पानीजहाज चल्ने बाटोको ट्रयाक खोल्नेछ। अहिले १० किलोमिटरमा मात्र मानीजहाज चलिरहेको छ। बाटो निर्माण भएमा ३२ किलोमिटरसम्म पानीजहाज चल्नेछ।

कानुन नबन्दा केकस्ता कार्य गर्न सकिएको छैन ?

देशभित्र चलिरहेका जहाजलाई व्यवस्थित गर्न सकिएको छैन । नेपाली पानीजहाजमा कार्य गर्ने श्रमिकलाई सिबुक जारी गर्न पाउँछौँ । जहाज चल्ने ठाउँलाई व्यवस्थित गर्न सहज हुनेजस्ता कार्य हुने थियो । पानीजहाज सबैभन्दा सस्तो यातायात हो। यसले देशमा आर्थिक समुन्नति कायम गर्दछ। पानीजहाज चले सबै क्षेत्रमा सहजता आउँछ । समुद्रमा नरहेको उपस्थित कानुन आएपछि हुन्छ । कानुनमा नेपालीको केही प्रतिशत र विदेशीको लगानीमा पानीजहाज सञ्चालन गर्न सकिने प्रावधान राखेका छौँ । त्यसैले नेपाली झन्डा फहराएर समुद्रमा पानीजहाज चल्नेछ । पानीजहाजको लागनी साइजअनुसार लगानी हुन्छ।

पानीजहाजमा लगानी गर्न नेपाली कत्तिको उत्साहित छन् ?

नेपाल पानीजहाज कार्यालय खुलेपछि केही व्यक्ति पानीजहाज चलाउन अनुमति माग्न आउनुभएको थियो । तर, कानुनको अभावले दर्ता गर्न सकिएन ।

कुनकुन भूपरिवेष्ठित देशको पानीजहाज चलेका छन् ?

अस्ट्रिया, अजरबैजान, बोलिभिया, इथोपिया, हंगेरी, लग्जम्बर, मंगोलिया, स्कोभिकायिया स्कोभियाजस्ता क्षेत्रका पानीजहाज चलिरहेका छन् ।

कार्यालयको वार्षिक बजेटको अवस्था कस्तो रहेको छ ?

आर्थिक वर्ष २०८१/०८२ को बजेटमा १५ करोडजति पुँजीगतमा रहेको छ । कार्यालय सञ्चालन गर्न २ करोड रहेको छ । यसमा नारायणी नदीको टर्मिलन निर्माण मुख्य रहेको छ । सुनकोशी नदीभित्र बाटो बनाउने काम हुनेछ ।

पानीजहाजसम्बन्धी अन्य देशको उदाहरण कस्तो पाइन्छ ?

विभिन्न देशले सदियाँैदेखि आआफ्नो देशका पानीजहाज चलाउँदै आएका छन् । हाम्रो देश समुद्रमा छोएकै छैन भनेर हामीले पानीजहाज चलाउँनै हुँदैन भन्ने हुँदैन ।

पानीजहाज कार्यालय राख्न खर्चमात्र भयो र उपलब्धि भएन भन्ने आरोप लाग्ने गरेको विषयप्रति के भन्नुहुन्छ ?

हामीलाई ठुलो बजेज आउँदैन । अन्तिम वर्ष पुँजीगत खर्चमा २ करोेड ३४ लाख ४१ हजार थियो । त्यसमध्ये १ करोड ७७ लाख खर्च भयो भने अरू खर्च भएन । हामीले जे गरे पनि नयाँ हुन्छ । यसमा काम गर्दा पनि कति खर्च हुन्छ भन्ने योजना पनि मिल्दैन । बजेट खर्च गर्न नसकेर मन्त्रालयलाई फिर्ता गरेका उदाहरण पनि प्रशस्त छन् । वर्षाको समयमा पानीको मात्र बढेकाले काम गर्नसक्ने अवस्था हुँदैन । तिहारपछि केही काम गर्नसक्ने अवस्था छ ।

पानीजहाजको यात्रामा जोखिम कत्तिको हुन्छ ?

नेपालमा ११० ओटाजति मोटरबोट चल्ने गरेको छ । त्यसमा १० जनादेखि ६० जनासम्म चलिरहेको छ। त्यसमा मानवीय क्षति भएको विषय सार्वजनिक भएको छैन। सवारी यातायातभन्दा सुरक्षित हुन्छ । प्राकृतिक प्रकोप आएबाहेक सुरक्षित नै हुन्छ । वर्षाको समयमा जल यातायात चल्दैन । हावा चल्दा पनि पानीको छालमाथि जाने गर्दछ । जसमा सजकता अपनाउनुपर्दछ । अन्य सवारीजस्तो ठोक्किने, दुर्घटना हुने हुँदैन ।

अहिले चलिरहेका पानीजहाजको बिमा भएको छैन ?

हामीले सम्बधित पानीजहाज मालिकलाई सोध्दा पानीजहाजको बिमा नभएको, तर चढ्ने व्यक्तिको १० लाखको बिमा गर्ने गरेका छौँ भन्ने सुनेका छौँ । चलाउने व्यक्तिको लाइसेन्स नभएपछि समस्या परेपछि के हुन्छ भन्ने अवस्था छैन । दुर्घटना हुने अवस्था नआओस् भन्ने कामना गर्दछौँ ।

कार्यालयको अध्ययनअनुसार नेपालमा कस्ता प्रकृतिका जल यातायात सञ्चालन हुने देखिन्छ ?

नदीको क्षमताअनुसार पानीजहाज चल्ने अवस्था हुन्छ। जहाजको प्रकृति ऐन आएपछि तोकिनेछ। अन्तर्राष्ट्रिय जगतमा चल्ने नामलाई हामीले फरक नाम पनि दिन सक्छौँ। सुनकोशीमा हामीले अध्ययन गराउँदा २३ सिट क्षमताको पनीजहाज चलाउन मिल्ने देखिएको छ। यहाँका नदी तथा तालमा समुद्रमा चल्ने पानीजहाजको कल्पना गर्नुहुँदैन। त्यो हामीलाई आवश्यकता पनि छैन । नेपालमा चल्ने भनेको सानोसानो पानीजहाजमात्र हो। समुद्रमा चल्ने पानीजहाज ५ सय देखि १०० सिट क्षमताको हो ।

वागमतीको पानीमा पानीजहाज सम्भव छ ?
असम्भव छैन। कति खर्च गर्ने भन्ने मुख्य विषय हो। खर्च धेरै लाग्छ। कम खर्चबाटै बन्ने भयो भने किन खर्च गर्ने भन्ने प्रश्न आउँछ । हामी कहाँ साँगुरो, भीरजस्ता भौगोलिक विविधता देखिन्छ।

Skip This