तपाईं आजका लागि जिउनुहोस्



काठमाडौं ।

मानिसको एउटा भाषा हुन्छ । त्यसका लागि उसले विद्यालय जानुपर्दैन । यो संसार त त्यो भाषालाई अपनाएर सञ्चालन भइरहेको हुँदैन, तथापि हामी त्यही भाषाका आधारमा चलायमान छौँ । त्यो हृदयको भाषा हो । त्यो प्रेमको भाषा हो । प्रेमलाई नबुझ्ने मानिस को होला र ?! तपाईँको बुझाइमा त आफूले बुझेको भाषा नै प्रमुख भाषा हो । होइन । वास्तवमा क्रोधित मानिसलाई टाढैबाट हेर्दा उसको क्रोधलाई अन्दाज गर्न सकिन्छ ।

तपाईँ को हुनुहुन्छ ? तपाईँ के हुनुहुन्छ ? तपाईँ बस्नुभएको माटोबाटै तपाईँ बन्नुभएको हो । तपाईँले आफ्नो शरीरको धूलोमैलोलाई त साबुनले धुनुहुन्छ तर तपाईँ त्यही माटोबाट बन्नुभएको छ। तपाईँलाई त्यही माटो देखेर घृणा जाग्छ तर तपाईँ त्यसैबाट निर्मित हुनुहुन्छ। कतै अलिकति ठेस लागिहाल्यो भने पनि तपाईँ आत्तिनुहुन्छ । ‘म केही दिनका लागि त यहाँ आएको छु।’ युवा वर्गले यस विषयलाई उस्तो ध्यान दिन चाहँदैनन्। अलिक अग्रज पुस्तालाई भने राम्रोसँग थाहा हुन्छ। यद्यपि उहाँहरूलाई पनि यसअघि यति गहन तरिकाले कहिल्यै बोध भएको थिएन ।

एउटा अर्को संसार पनि छ । त्यो संसारमा जिउन सिक्नुहोस् । त्यो तपाईँको हृदयको संसार हो । त्यो नै तपाईँको साँचो संसार हो। त्यहाँ प्रेमको भाषा बोलिन्छ । प्रेमलाई नबुझ्ने मानिस को नै छ र ? कुन मानिसले प्रेमको आवश्यकतालाई महसुस गर्दैन ? केही मानिसहरूले भन्नु पनि होला– हो, मलाई प्रेमको आवश्यकता नै छैन । यदि तपाईँले आपूmलाई प्रेमको आवश्यकता पर्दैन भनेर सोच्नुहुन्छ भने यसको अर्थ कसैले तपाईँसँग प्रेम नै गरेको छैन । तर, एकजनाले तपाईँसँग प्रेम गर्दछन् । तपाईँले उनलाई प्रेम गरे पनि या नगरे पनि उनले तपाईँलाई प्रेम गर्छन् । तिनैले तपाईँको रचना गरेका हुन् । तिनकै कारणले तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ ।

मैले चर्चा गरिरहेको सन्दर्भलाई यो संसारमा कति पटक प्रयोग गरियो भन्नेसमेत यकिन छैन । कुनै पनि व्यक्ति यस प्रक्रियाबाट नगुज्रिएको भन्ने नै हुँदैन । सबैमा यो कुरा लागू हुन्छ । सबै मानिसहरू कहाँ फसेका छन् ? सबै जना ‘मलाई यो चाहिएको छ, मलाई त्यो चाहिएको छ’ भनेर आ–आफ्नो धारणामा फसेका छन् । ‘मेरो यस्तो हुनुपर्दछ, मेरो त्यस्तो हुनुपर्दछ ।’ परिवारमा मानिसहरू आपसमा कलह गर्छन् । मानिसहरू एकअर्काप्रति क्लेश गर्छन् । छिमेकीहरू आपसमा कलहको भावना राख्छन् । ‘उनीसँग त्यो छ तर मसँग त्यो छैन’ भन्ने भावनामा चुर्लुम्म डुब्छन् ।

कतिपय मानिसहरूलाई ‘तपाईँ कति दिन बाँच्नुहुन्छ ?’ भनेर सोधियो भने यस्तो प्रश्नको उत्तरमा उनीहरूले लाखौँ दिन बाँच्छौँ भन्ने ठान्लान् तर कसरी ? यदि तपाईँ १०० वर्ष बाँच्नुभयो भने तपाईँ जम्मा ३६ हजार ५ सय दिन बाँच्नुहुनेछ । केवल ३६ हजार ५ सय दिन ! यदि १०० वर्ष बाँच्नुभयो भने मात्र यति दिन हुन्छ तर यति समय बाँच्ने कुरा पनि सहज हुँदैन ।

हामीले आफ्नो आँखा खोलेर नहेरेसम्म वास्तविकताका बारेमा बोध हुँदैन । सत्य खराब हुँदैन । सत्य सधैँ सुन्दर हुन्छ । यहाँ आज अनि भोलिको कुरा भइरहेको छ । तपाईँ कहाँ फस्नुभएको छ ? आजमा कि भोलिमा ? तपाईँको ध्यान आजमा जान्छ कि भोलिमा जान्छ ? भोलिमा फस्नुभयो भने आज त त्यत्तिकै खेर जान्छ अनि आजमा फस्नुभयो भने भोलिको कुरा छुट्नेछ । एउटाले त जानु नै छ । दुवै कुरामा फस्नुभयो भने न आज राम्रोसँग बित्छ न त भोलि नै । तपाईँलाई आज चाहिएको हो कि भोलि ?

सारा व्यापारीहरू भोलिमा फसेका छन् । विद्यार्थीहरू भोलिमा फसेका छन् । सबै भोलिका लागि चिन्ता गर्छन् । भोलि यस्तो हुनेछ, भोलि त्यस्तो हुनेछ । भोलि यो काम गर्नेछौँ, भोलि त्यो काम गर्नेछौँ । पूरा जीवन यही भोलिको पाठ पढेरै बितिरहेको हुन्छ।

कोही सन्त–महात्मा आएर ‘आजमा पनि ध्यान दिनुपर्छ’ भनिरहेका हुन्छन् । ‘आजका लागि जिउनुहोस् ।’ तर, मानिसहरूले ‘आजको अर्थ के हो’ भनेर सोध्न थाल्छन् । किनभने, हामी भोलिका लागि जिउँछौँ ।

सन्त–महात्माले सम्झाउनुहुन्छ, ‘तपाईँ त भोलिका लागि जिउनुहुन्छ । भोलि के हो भनेर बताउने हो भने भोलि भन्ने नै हुँदैन ।’ तपाईँ कुन कुराका लागि जिउनुहुन्छ ? हुँदै नभएको कुराका लागि ! तपाईँ सोच्नुहोस्– भोलि हुन्छ या हुँदैन ? कहिल्यै भोलि आउन सक्छ ? यदि भोलि आइहाल्यो भने पनि आज नै भएर आउने हो । यसकारण आज हुन्छ । भोलि हुँदैन । तथापि, यो दुनियाँले कस्तो पाठ पढाइरहन्छ ? भोलि हुन्छ भनिदिन्छन् अनि हामी पनि आजलाई बिर्सेर भोलिमा ध्यान दिइरहन्छौँ ।

एउटा पर्खालबाट तपाईँ आउनुभयो अनि अर्को पर्खालबाट तपाईँले निस्कनुपर्नेछ । सोच्नुहोस् ! यो पर्खालभन्दा पहिला तपाईँ के हुनुहुन्थ्यो ? यो संसारमा सबैभन्दा धेरै चीज के छ ? धूलो ! यो पृथ्वी धूलोबाट बनेको छ । अनि, दोस्रोतिरको पर्खाल देखिएपछि ‘मैले अहिलेसम्म जिन्दगी राम्रोसँग जिउन पाएकै छैन । यो जिन्दगी कति छिटो बित्यो’ भन्ने लाग्छ । यथार्थ त तपाईँ वास्तविक तरिकाले जिउनुभएकै थिएन किनभने भोलिमा फसिरहनुभयो । आजलाई बिर्सनुभयो । आजमा जिउनुभएको भए यस्तो महसुस नै हुने थिएन । आजमा जिउने मानिसलाई ‘यो त एकदमै धेरै छिटो भयो’ भन्ने नै हुँदैन । आजमा जिउने मानिस आफ्नो जीवनको हरक्षणका लागि आभारी रहन्छ । उसलाई आभार प्रकट गर्ने कुरामा कुनै सङ्कोच नै हुँदैन ।

हामी जीवनमा धेरै लक्ष्यहरू बनाउँछौँ । तिनै लक्ष्यहरूलाई पूरा गर्नका लागि कम्मर कस्छौँ । तर हामी एउटा लक्ष्यलाई पनि पूरा गर्न सक्दैनौँ । किनभने, हामीलाई सफलता पनि चाहिएको छ अनि प्रतिष्ठा पनि चाहिएको छ । यसका साथमा अन्य धेरै कुराहरू पनि चाहिएको छ । ती सबै कुराहरूमध्ये एउटा कुरालाई हामी बुझ्दैनौँ, ‘हामी को हौँ र हाम्रो जीवनको वास्तविक लक्ष्य के हुनुपर्दछ ?’

हामीलाई के चाहिन्छ भन्ने कुराका बारेमा त सारा संसारले भनिरहन्छ । तर, हामीले आपैmँलाई ‘म के चाहन्छु’ भनेर कहिल्यै सोध्दैनौँ भने जीवनको वास्तविक लक्ष्य त अधुरो रहन्छ।

एउटा कथा छ । एकपटक अकबरले वीरबललाई भने, ‘वीरबल ! हाम्रो दरबारमा ठूला–ठूला विद्वान्हरू छन् । अब तिमी यसो गर, हाम्रो दरबारमा पाँचजना सबैभन्दा मूर्ख मानिसहरूलाई खोजेर ल्याऊ ।’

वीरबलले भने, ‘हुन्छ, महाराज !’ वीरबल खोज्नका लागि निस्के । उनी मनमनै सोच्न थाले, अब पाँचजना मूर्ख कहाँ पाइन्छ होला ?
त्यत्तिकैमा एकजना मानिस आफ्नो गधामा बसेर आइरहेको देखे । उनले आफ्नो टाउकोमा दाउराको भारी राखेका थिए।वीरबलले सोधे, ‘हजुर ! तपाईँ त गधामा बस्नुभा’छ अनि त्यो भारीचाहिँ किन टाउकोमा राख्नुभएको त ? त्यो भारीलाई गधाकै ढाडमा राखेको भए पनि हुन्थ्यो नि, हैन र ?’

ती मानिसले उत्तर दिए, ‘तपाईँ पनि नचाहिने कुरा गर्नुहुन्छ । तपाईँलाई थाहा छैन, यो बिचरा गधा दिनभरि काम गरिरहेको हुन्छ। मैले यो भारी आफैँले बोकेँ भने त कमसेकम गधालाई बोझ कम हुन्छ !’

वीरबलले सोचे, पहिलो मूर्ख त भेटियो ! वीरबलले उनलाई भने, ‘हजुर ! तपाईँ भोलि राजमहलको बाहिर आएर मलाई भेट्नुहोस् है । म तपाईँलाई केही उपहार दिनेछु ।’

ती मानिसले भने, ‘हुन्छ !’ वीरबल अलिक अघि बढ्दै जाँदा एकजना मानिस जमिनमा सुतेर हावामा खुट्टा चलाउँदै थिए । उनी हात अगाडितिर फैलाइरहेका थिए । त्यो देखेर वीरबलले उनलाई सोधे, ‘हैन, यो के गरिरहनुभएको ?’

त्यसपछि उनले भने, ‘मेरी श्रीमतीले पर्दाका लागि कपडा नापेकी थिइन् । त्यो यति नै नापको थियो । त्यसैले मैले यी हातलाई त्यही नाप अनुसार राखेको छु, त्यो भुल्छु कि भनेर त्यो नापअनुसार हात फैलाएर हिँडिरहेको थिएँ । हिँड्दाहिँड्दै मेरो खुट्टा चिप्लियो र म लडेँ । तर मैले के सोचेँ भने अब रोकिनु त हुँदैन, त्यसैले म आफ्ना गोडाहरु हावामा चलाइरहेको छु ।’

वीरबलले उनलाई भने, ‘हजुर ! तपाईँ भोलि राजमहलमा आएर मलाई भेट्नुहोस् है ।’ रात परिसकेको थियो । एकजना व्यापारीले बत्तीकोे मुनितिर केही खोजिरहेको वीरबलले देखे । वीरबलले छेउमा गएर सोधे, ‘तपाईँ यहाँ के गरिरहनुभएको छ ?’
उनले भने, ‘म आज दिउँसो जङ्गलमा गएको थिएँ । त्यहाँ मैले आफ्ना साथीसँग गफगाफ गरिरहेको थिएँ । थाहा छैन, कसरी हो मेरो औँठी त्यहाँ खस्यो । त्यसैले म यहाँ खोजिरहेको छु ।’

वीरबलले भने, ‘यदि तपाईँको औँठी जङ्गलमा खसेको हो भने किन यहाँ खोजिरहनुभएको त ?’ उनले भने, ‘भाइ, तिमी पनि कति मूर्ख रहेछौ । यहाँ उज्यालो छ, त्यसैले यहाँ खोजिरहेको छु । जङ्गलमा उज्यालो छैन, त्यसैले त्यहाँ कसरी भेटिन्छ त ?’
त्यसलाई पनि वीरबलले भने, ‘हजुर ! तपाईँ भोलि राजमहलमा आएर मसँग भेट्नुस् है ।’

अर्काे दिन तीनैजना मूर्खहरूले वीरबललाई भेटे । वीरबलले उनीहरूलाई अकबरकहाँ लिएर भेट गराए । उनले अकबरलाई भने, ‘महाराज ! पाँचजना मूर्ख पाइयो ।’ उनले तीनैजना मूर्खका बारेमा जानकारी दिए। अकबरले भने, ‘यी त तीनजना मात्र छन्।’

त्यसपछि वीरबलले भने, ‘महाराज ! एउटा मूर्ख त म नै हुँ, जो मूर्खलाई खोज्न गएँ र अर्काे मूर्ख तपाईँ हुनुहुन्छ, जसले मूर्ख खोजेर ल्याउनू भन्नुभयो ।’

हामी पनि एउटा धारणा, एउटा विश्वास बनाउँछौँ । वास्तविक कुराका बारेमा सोच्दैनौँ र त्यसमा लागिरहन्छौँ । यस जीवनमा हाम्रो आवश्यकतालाई जान्नु अत्यन्तै आवश्यक छ।

कोही भन्छन्, ‘यो जिन्दगी पाएका छौ– नोकरी गर, खूब पैसा कमाऊ, नाम कमाऊ ! संसारबाट एकदिन त सबैले जानै छ।’ अनि हामी आफ्नो जीवनलाई कुन राम्रो र कुन नराम्रो भन्दै तौलने गर्दछौँ । तर सृष्टिकर्ताको कृपाले हामीलाई मानिसको जीवन प्राप्त भएको छ । यो मोक्षको ढोका हो । यही जीवनबाट मोक्ष पाउन सकिन्छ । हामीले आफ्नो जीवनको लक्ष्य, जुन वास्तविक लक्ष्य हो, त्यसलाई पूरा गरेपछि आफ्नो जीवनलाई जीवित हुँदै सफल पार्न सक्छौँ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि  www.premrawat.com)

प्रतिक्रिया दिनुहोस्