परम्परामाथिको राजनीतिक हस्तक्षेप



काठमाडौं ।

कुनै पनि कुरा आफ्ना ठाउँमा रहन पाउँदा सुहाउँछ, अर्काको ठाउँमा रहन खोज्दा त्यही कुरा सुहाउँदैन । हाम्रा पुर्खाका यस्ता अनुभव जनजीवनका धेरैजसो कुरामा आज पनि लागू हुन्छ। स्थानभ्रष्टा नशोभन्तेदन्ता केशा नखा नराः। स्थानभ्रष्टता स्वाभाविक होइन । अस्वाभाविक कुरा देख्न पर्नु दुःख हो, बेहोर्न पर्नु त अझ साह्रो दुःख हो । शब्दान्तरमा भन्नुपर्दा सुन्न नपर्ने कुरा सुन्न पर्नु र बेहोर्न नपर्ने कुरा बेहोर्न पर्नु दुःख हो । हामी नेपाली जनता आज त्यही दुःखमा छौँ ।

नेपालको परम्परागत सांस्कृतिक सामञ्जस्य पटक्कै नबुझेका र केवल प्रायोजित जानकारी र भाषाका आधारमा आफूलाई आम जनताभन्दा धेरै बढी जान्नेसुन्ने पारङ्गत घघडान विद्वान् ठान्ने रोगले ग्रस्त आजका सत्तासीनहरुले धर्म–संस्कृतिका सम्बन्धमा जथाभावी बोलेर, र धर्म–संस्कृतिका संस्थाहरुमा औचित्यको विचार नगरी प्रतिकूलधर्मी राजनीतिक कार्यकर्ता नियुक्त गरेर नेपाली जनमनलाई धेरै नै बिथोलेका छन्।

नेपालको मन्त्री पदमा बसेर, नेपाली रगत–पसिनाको दानापानी खाएर नेपालकै परम्परागत रैथाने धर्म–संस्कृतिका विपरीत वैदेशिक धर्म–संस्कृतिको पक्षपोषण गरेर बोल्नु–चल्नु रैथाने धर्म–संस्कृतिको अपमान त हो नै, पदीय मर्यादा र दायित्वको पनि अपमान हो। संविधानमा उल्लिखित धर्मनिरपेक्षताकै पनि अपमान हो। संविधानका प्रावधानको ठाडो उल्लङ्घनसमेत हो। वर्तमान संविधानको पालन गर्छौं र धर्मनिरपेक्षताका साँच्चिकै पक्षपाती हौं भन्ने कुनै पनि राज्यले धर्मका बारेमा बोल्न मिल्दैन। कुनै पनि धार्मिक संस्थामाथि हस्तक्षेप गर्न मिल्दैन । धुपौरेहरु भर्ती गरेर धार्मिक, सांस्कृतिक संस्थानहरुमाथि लुट मच्चाउने काम गर्न मिल्दैन । कानुनतः यस्तो गर्नै हुँदैन ।

नेपाल तमाम नेपालीहरुको साझा चौतारी हो । चौतारी नेपालको परम्परागत संस्कृति पनि हो । एक थरी मुसाहरु चौतारीकै छहारीमा दुलो खोजी बसेर निरन्तररुपमा त्यसै चौतारीका वरपीपलको जरा काट्दै छन् । जरा काटेर यी वृक्षलाई ढाल्ने ठेक्का नै लिएको शैलीमा जरा काट्दै छन् । यिनै मुसामध्येका कति मुसा आजका ठूला–ठूला मन्त्री र हाकिम पनि छन् । ती भाषण गर्छन्। निर्देशन दिन्छन् । समष्टिमा हेर्दा यी सबै यो चौतारी ढाल्ने ठेक्का अन्तर्गत निर्देशित देखिन्छन् । लाग्छ, यी मुसाहरु परम्परागत वरपीपलका चौतारीहरु मासेर यहाँ विदेशी प्रयोजन र प्रायोजनका रिलिजियस ट्रीहरु रोप्ने अभियानमा छन् ।

बूढा पुरानाहरु भन्छन्, घोड्मुखाहरुले शासन गरेका देशका सम्बन्धमा त पुराण कथाहरुमा सुनिएको हो । घोडाले शासन गरिरहेको देशबारे भर्खरै पनि छिमेकी मुलुकका एकजना वयोवृद्ध पूर्वजर्नेलले बकेको सुनियो । प्रतिवाद गरेको सुनिएन । लाज पनि कति मान्नु ? के–केमा लाज मान्नु ? मुलुकका शासककै गति त्यस्तो भएपछि शासनको गति कस्तो हुनु ? आशा गर्ने ठाउँ बिलकुलै छैन र पनि आशा जीवित छ । आशा वलवती राजन् शल्यो जयति पाण्डवान् ! आशाका सन्दर्भमा यतिसम्म भन्न पर्नु पनि हामी नेपालीका लागि भयङ्कर दुःख हो ।

देवात्मा हिमालयको काखमा रहेको देश नेपाल वैदिक कालदेखि नै स्वतन्त्र सम्पन्न मुलुक रहिआएको र धार्मिक क्षेत्रमा अत्यन्त्य उदार एवम् समावेशी रहिआएको यथार्थको प्रमाण नेपाली समाज आफैँ नै छ। यहाँ बोनसनातन, बौद्धसनातन, किरात सनातन र वैदिक सनातनीबीच भेदभाद छैन र आपसमा हस्तक्षेप पनि छैन । यही नै नेपालको मौलिकता हो र सांस्कृतिक सौन्दर्य पनि हो। यहाँ थुम्का–थुम्कामा बुद्ध छन्। चुली–चुलीमा गौरीशङ्कर छन्। हरेक खोला, खोल्सा र पोखरीमा बोधिसत्वहरु छन्, शिवशक्तिहरु छन् । हरेक गौँडा, गल्छेडा र भन्ज्याङमा दैवी शक्तिसूत्रहरु छन् । ढुङ्गा–ढुङ्गामा सिमे, भूमे, देवी, द्यौरालीहरु छन् । सबै सबैका छन् । साझा छन् । यहाँ धर्महरु छन्, सम्प्रदाय छैन । साम्प्रदायिक तनाव छैन । यहाँ धर्मको अर्को नाम शील हो। स्वभाव हो । असल आचरण हो। आचारः परमो धर्मः। यही धर्म परम्परा यस्तो हो, जहाँ कुनै कर्मकाण्ड र ईश्वरीय सत्ता नमान्ने व्यक्ति पनि समाजमा त्यत्तिकै सम्मानित छ । अपमानित छैन। नेपालमा धार्मिक कट्टरता छैन । यसैले यहाँ धर्मका आडमा डुक्रने, गर्जने चलन पनि छैन।

आपसमा सद्भाव र मेलमिलापको संस्कृति प्रकारान्तरले नेपालको राष्ट्रिय सम्पत्ति हो । हामी नेपाली मात्रले यसमा गौरव महसुस गर्नुपर्छ भन्ने धेरैलाई लागेको हुनुपर्छ । आपसी सद्भाव र मैत्रीबाट समाजमा कसैलाई हानि छैन । असल आचरणबाट कसैलाई हानि छैन।

नेपालको संस्कृतिमा केही परम्परागत मौलिक चलनहरु छन् । जस्तै– इन्द्रजात्रा, भोटो जात्रा, विभिन्न रथयात्रा, पूmलपाती उत्सव, शिवरात्रि उत्सव, कुमारीदर्शन, खड्गजात्रा, विभिन्न शिवशक्ति र बौद्ध, किरात मन्दिर एवम् तीर्थस्थलहरुमा समय–समयमा आयोजित हुने मेला, पर्व, जात्रा, दशैँ, तिहार, ल्होसार, माघी आदि । भनिन्छ, परम्परागत यी जात्रा–पर्वहरुमध्ये कति पुराणकालीन छन् भने कति वेदकालीन पनि छन् । कति अझ पुराना छन् । दक्षिण एसियामा अन्त कतै नदेखिने कतिपय अति प्राचीन जात्रा नेपालमा अद्यावधि देख्न पाइन्छ ।

नेपाल समृद्ध र विविधताभरी प्राकृतिक चित्रमयताले भरिभराउ एक सुन्दर मनोहर देश हो । यहाँका निवासीहरुको धर्म–संस्कृति र स्वभावमा त्यसको छाया छ । नेपालीहरु बहादुर मात्र छैनन्, प्रकृतिमा रम्न, झुम्न मन पराउने मिलनसार र रमाइला पनि छन् । यसो हुनुमा यहाँका रैथाने चारै धर्म–संस्कृतिका अन्तर्दृष्टिले काम गरेको छ ।

वैदिक सनातनीहरु प्रकृतिपूजक थिए । दिक् वात अर्क प्रचेता वन्हि इन्द्र, उपेन्द्र मित्र अर्थात् दिक् दिगन्तर, हावा, सूर्य, पानी, आगो वैदिक सनातनीहरुका स्थापित देवता हुन् । दिक्वातार्क प्रचेतसी वन्हिन्द्र्रोपेन्द्र मित्रकाः भनिएकै छ । यी सबै प्रकृति देवता हुन् । युगप्रवर्तक वासुदेव कृष्णले इन्द्रका बदला गोवद्र्धन पर्वतको पूजा गराएर प्रकृतिपूजनका क्षेत्रमा अभैm नयाँ अध्याय शुरु गरेका थिए । फलतः पहाड, पर्वत, नदी, वनस्पति सबै नै वैदिक सनातनीहरुका पनि पूज्य देवता बन्न पुगे । संस्कृतका महाकवि कालिदासले हिमाललाई देवात्मा भनेका छन्। अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः। कुमारसम्भव महाकाव्यको पहिलो श्लोकमै हिमाल उभिएको छ। नेपालका किरातहरु पनि सर्वथा प्रकृतिपूजक हुन्।

प्रकृतिका सबै जीवजन्तु, वनस्पति र पहाड, पर्वतप्रति किरातहरुको पूजाभाव रहिआएको छ। शिव किरातेश्वर भनिन्छन्। किरातहरुसँग शिव–पार्वतीका धेरै कथा प्रसङ्गहरु छन्। सुम्निमा र पारुहाङ शिव–पार्वतीकै भाषान्तरित नाम पनि भनिन्छ। बोनधर्म नेपालको अर्को प्राचीनतम धर्म हो । यो दुई स्तम्भमा उभिएको छ । यसको एउटा स्तम्भ मन्त्र, यन्त्र र तन्त्र साधना हो भने अर्को स्तम्भ व्यापक प्रकृति पूजा हो । यो धर्म कुनै समय हिमालयको वारिपारि, उत्तर–दक्षिण सबै भेगमा फैलिएको थियो। आज पनि यो प्रकृतिपूजक धर्म हो भन्ने यथार्थ यसका पूजास्थान र विधिहरुले नै स्पष्ट पारेका छन्। नेपालका बौद्धधर्मीहरुमा बोनधर्मका धेरै कुरा समाहित छन् । कतै एकाकारजस्ता पनि देखिन्छन्।

बौद्धधर्म व्यापक करुणामय धर्म भएकोले यसका करुणाभाव र अहिंसा अन्तर्गत तमाम मानवीय सकारात्मकताहरु समेटिनु स्वाभाविकै थियो। नेपाली जनमानस अनुसार परापूर्व कालदेखि नै नेपालका गौँडा–गल्छेडा, भूमि–द्यौराली, पहाड–तराई यत्रतत्र सर्वत्र शिवशक्तिको निवास रहिआएको मानिन्छ। नेपालका शिव महात्मा बुद्ध पनि हुन्। नेपालका बुद्ध शिव शङ्कर महादेव पनि हुन् । नेपालका धेरै मूर्ति, मन्दिर र तीर्थस्थलहरुमा शिव र बुद्धको समन्वयाभाव परापूर्व कालदेखि रहिआएको छ। कति प्रार्थनामै पनि समान भाव भेटिन्छन् । जस्तै– यस्य ज्ञान दयासिन्धो रगाधस्यानघा गुणाः सेव्यतामक्ष्ययोधीराः सोमृतत्वामृतायच। बुद्ध प्रार्थना। अमरकोश । विशुद्ध ज्ञान देहाय त्रिवेदी दिव्यचक्षुषे, श्रेयः प्राप्ति निमित्ताय नमः सोमार्धधारिणे । शिवप्रार्थना। सप्तशती कीलक।

देवी मन्दिर त नेपालमा अझ धेरै छन् । यहाँ ठाउँ–ठाउँमा सिमे–भूमेको पनि पूजा हुन्छ । हिँड्ने, उफ्रने, उड्ने, घस्रने सबै किसिमका जीवजन्तुको पूजा हुन्छ नेपालमा । यसरी नेपाल प्रकृतिस्थ देवदेवी, शिवशक्ति र बुद्धत्वका बोधले आप्लावित देश हो। नेपालका हरेक भूभाग खोला, खोल्सा, पोखरी, थुम्का, चुचु्रा, हिमाल, कुण्ड, हिमचुलीहरु यिनकै नामाङ्कित तीर्थ मन्दिर र चैत्यहरुले ओतप्रोत छन् ।

किरातहरु नेपालका प्राक् ऐतिहासिक कालदेखि सम्मानित रहिआएका रैथाने हुन् । नेपालमा किरातको चर्चा नयाँ होइन । धेरै पुरानो हो । नेपालमा परापूर्वकालदेखि नै किरात शब्द सम्मानित छ। किरातेश्वर महादेवका रुपमा पशुपतिनाथको चर्चा पनि त्यत्तिकै पुरानो हो। चर्चा महाभारतमा समेत छ। संस्कृतभाषाका विख्यात महाकवि भारविले आफ्नो महाकाव्यको नाम नै किरातार्जुनीय राखेका छन्। यसभित्र नेपालकै हिमालका काखमा आएर शिवबाट युद्धविद्या प्रात गर्न तपस्या गरिरहेका अर्जुनसँग परीक्षणयुद्ध पर्दा महादेवले किरातसरदारको भेषभूषा धारण गरेका अवस्थाकोे अति मनोहर चित्रण पढ्न पाइन्छ।

शिवशक्तिको सम्मान, प्रकृतिपूजन र बुद्धत्वसँगको सामञ्जस्यले नेपालमा नमुनालायकको धार्मिक समन्वयको सांस्कृतिक विरासत रहिआएको हो । नेपालमा रैथाने यी धर्महरुबीच विवाद, वैमनस्य र झगडाको इतिहास छैन। आपसी सद्भाव समन्वय र सहकारिताको यस संस्कृतिलाई भत्काउन समय–समयमा विदेशीहरुले प्रयास गरे पनि नेपाली मायाममताका मुटुहरुले आपसी सद्भावको अडान डग्न नदिई कायमै राखिआएका छन्। नेपालीहरुले पैसाको प्रलोभनमा परेर, विधर्मीहरुको लहैलहैैमा लागेर सामाजिक सद्भाव र समन्वय बिथोल्न आफूलाई कहिल्यै सरिक हुन दिएका छैनन्।

नेपालको मेलमिलापप्रधान रैथाने जनसंस्कृतिका विपरीत र व्यापक राष्ट्रिय हितकै विपरीत अहिले आएर राजनीतिक नेतृत्वले बाटो बिराउन थालेको अनुभूति भएको छ । शिवको तपोभूमि र बुद्धको बोधभूमि नेपालमा बसेर यसै भूमिलाई अपमानित गर्दै सत्तासीनहरु होटलमा जुटेर मुनका पहेँलो मोहपानमा लठ्ठिएपछिका दिनहरुमा नेपालका रैथाने धर्म–संस्कृतिको खेदो खन्ने प्रवृत्ति सत्तासीनहरुबीच मौलाउँदै गएको र मुलुकका परम्परागत मन्दिर एवम् चैत्यहरुमाथिको सरकारी हस्तक्षेपले त्रूmर रुप लिँदै आएको देखिएको छ।

रैथाने धर्मबाहेक अरु नवप्रवेशित राजनीतिक सामरिक प्रकृतिका धर्मका संस्थाहरुलाई निर्बाधरुपमा चल्न, फैलिन दिने र रैथाने धर्मका संस्थाहरुमा यी धर्मसँग सकारात्मक सरोकार नभएका व्यक्तिहरुलाई सञ्चालकमा नियुक्त गरेर विकासलाई विनाशमा परिणत गर्न निर्लज्जताका साथ लागिपरेको एउटा ज्वलन्त उदाहरण पशुपति क्षेत्र विकास कोष हो भने अर्को उदाहरण लुम्बिनी विकास पनि बनेको छ। रैथाने धार्मिक संस्थाहरुमाथिको सरकारको यो ठाडो हस्तक्षेप संविधानतः धर्मनिरपेक्षताका नारालाई पनि सुहाउने कुरा होइन।

नदुखेको टाउको डोरी लाएर भनेजस्तै नेपालमा कहिल्यै नदुखेको धर्मलाई छुरी लाएर दुखाउने काम अहिले आएर राज्यसत्ताबाटै शुरु भएको छ । रैथाने धर्म–संस्कृतिमाथि सरकारको यो हस्तक्षेपको प्रवृत्ति नेपाल र नेपालीका हितमा छैन ।

प्रतिक्रिया दिनुहोस्