१ सय २५ देवीदेवताको सुरक्षासँगै सम्यक महादान पर्वका लागि सुरक्षा योजना तयार



ललितपुर ।

हजारौं भक्तजनहरूको भीड हुने सम्यक महादान पर्वमा १ सय २५ देवीदेवताको सुरक्षासँगै शान्ति र उल्लासमय वातावरणका बीच मनाउन सुरक्षा योजना तयार गरिएको छ।

ललितपुरको नागबहालमा आज बुधबार राति र भोलि बिहीबार सम्यक महादान पर्व मनाइँदैछ। हरेक चार वर्षको एकचोटी हुने इतिल्हन सम्यक महादान पर्वमा उपत्यकाका ३२ महाविहार (बहाःबही) का १ सय २५ देवीदेवताको दर्शन एवं पूजा गर्न पाइने छ।

पर्वमा चापागाउँ, बुड्डमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका दिपंकर बुद्ध, शाक्यमुनि बुद्ध, आर्यतारा, आर्यमञ्जुघोष, आर्यालोकितेश्वर, बोधिसत्व, बज्रसत्व र प्रज्ञापारमितालगायत सुन्दर भव्य र कलात्मक मूर्तिको एक स्थान प्रदर्शनी गरिने छ ।

विभिन्न स्थानबाट ल्याइएका देवीदेवता सुरक्षित तवरले निश्चित स्थान पु¥याउने, पर्व सकिएपछि जहाँबाट ल्याइएको त्यहाँ पुर्‍याउने, भक्तजनहरूले आनन्दपूर्वक दर्शन गर्ने, मानिसहरूको भीडभाडलाई हेरेर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख तुलसीप्रसाद श्रेष्ठले बताउनुभयो।

सम्यक महादान शुरू हुने दिन बुधबार राति भने बढी रौनकता छाउने गर्दछ। राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरूको लावालस्कर, परम्परागत धाः बाजाका साथ देवीदेवताहरूलाई खटमा राखेर बोकेर नागबहाल पुर्‍याउने गरिन्छ। बढी भीडभाड हुने, धाः बाजाको गुञ्जनसँगै पुरै माहोलले छोप्ने भनेको यही बेला हो।

नागबहालमा देवी देवता पुर्‍याउनुअघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिने छ । त्यसपछि ललितपुरको टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रूपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ ।

परम्परा, त्यसको विधि, स्थानीयको संवेदनशीलता, मर्म र भावनाअनुरूप सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । ती क्षेत्रको निरीक्षण, आयोजकसँग छलफल गरी सम्यक महादान पर्व हुने क्षेत्रलाई मध्यनजर गरी शान्ति सुरक्षाको बन्दोबस्ती गरिएको पनि प्रशासनले जनाएको छ ।

सोहीअनुरूप विशेष गरी सम्यक महादान पर्व हुने नागबहाल क्षेत्र, पाटन दरबार क्षेत्र मंगलबजार, टंगल, हःखा, पाटनढोका क्षेत्रमा अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र खटाइने जिल्ला प्रहरी परिसरले जनाएको छ। सम्यक महादान पर्वलाई सौहार्द, भव्य र सभ्य बनाउन त्यसको मर्मलाई बुझेर प्रहरी परिचालन गरिने पनि परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताउनुभयो ।

यसैबीच सम्यक महादान पर्वका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको हिरण्यवर्ण महाविहारले जनाएको छ। सो पर्वका लागि पूजा व्यवस्थापन, अतिथि सत्कार, शान्ति सुरक्षा, आर्थिक, गरी १० वटा समिति गठन गरिएको छ। स्थानीयस्तरबाट स्वयसेवक परिचालन गरिएको समितिले जनाएको छ।
सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रूपमा गौतम बुद्धभन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रूपमा गौतम बुद्ध र भविष्यको बुद्धका रूपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ। सम्यक दानमा खीर,लाखामरी गरी मीठाइका विविध परिकार, रोटी र फलफूल दान दिने गरिन्छ।

ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ। वि.सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ। अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो।

सम्यक महादानको लागि पम्परागत रूपमा गर्नुपर्ने विधि र प्रक्रियाहरू फागुन १ गतेदेखि शुरू भएको समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यले जानकारी दिनुभयो । सम्यक महादान पर्वअगावै विभिन्न धार्मिक विधि र परम्पराहरू गर्नुपर्ने पनि प्रचारप्रसार संयोजक शाक्यको कथन रहेको छ।

संयोजक शाक्यका अनुसार सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुन २ गतेदेखि शुरू गरिएको थियो । फागुन ३ गते नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजको प्राण प्रतिष्ठा निकालिएको थियो।

फागुन २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुन २८ गते सम्यक महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिएको थियो ।

महादानसँग जोडिएको किंवदन्ती

सम्यक महादान पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसँग सम्बन्धित रहेको छ। यसपर्वको सुरुआतसँग एउटा किंवदन्ती चर्चामा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो।

भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । भलिभारो गरिब भए पनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए।धर्मप्रतिको आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो।

त्यस धन दान दिन दीपंकर बुद्धका प्रतिमाहरू, आर्यतारा आदि देवदेवीहरू र चैलक, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु, बज्राचार्य इत्यादिहरूलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको थियो। धर्मकै कारणले सम्पत्ति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ।

हिरण्यवर्ण महाविहारको वंशावलीमा उल्लिखित यस किंवदन्तीको प्रमाणिक आधार नभए पनि यसले आफूमा भएको दान सम्पत्ति दान दिने उद्देश्यले सम्यक महादान चलाइएको भने सन्देश दिन खोजेको बौद्ध विद्वानहरूको कथन रहेको छ।

प्रतिक्रिया दिनुहोस्