सत्ताका लागि मात्र मरिमेट्ने संस्कार



काठमाडौं ।

गएको हप्ता पुनः सत्ता उथलपुथलका परिघटनाको पटाक्षेप हुन पुग्यो। जनजनको लागि यो नौलो विषयचाहिँ थिएन। प्रदेओहरुका एक–एक चर्तिकलाहरुबारे जानकार छन् जनजनहरु। आजको भन्दा पूर्वावस्थामा टोलटोलमा गठबन्धनका कांग्रेस र माओवादीहरुका कार्यकर्ताहरु गफ छाँटिरहेको देख्दा एमालेका कार्यकर्ताहरु साथी नै भए पनि सकेसम्म बोल्दा पनि नबोली अथवा बोलाए पनि सुन्या नसुन्यै गरेर हिँड्थे भने अब टोलटोलमा यसको ठीक उल्टो हुने भएको छ।

अर्थात् अब एमाले र माओवादीका कार्यकर्ताहरु एक–आपसमा गफ छाँटिरहँदा कांग्रेसी कार्यकर्ताहरुलाई बोलाउँदा पनि नसुनेको जस्तो गरी हिँडने अवस्था सिर्जना हुन पुगेको छ। वास्तवमा यो अवस्था नौलोचाहिँ होइन। प्रदेओहरुको राम्रो देन छ यो विषयमा। यो भन्दाअगाडि ठाउँ कुठाउँ माओवादीविरुद्ध बोल्दै आइरहने एमाले र एमालेविरुद्ध बोल्दै आइरहने माओवादीको मुखमा अब भोटे ताल्चा लाग्न पुगेको छ । प्रदेओहरुको मुखमा साना–ठूला गरी थुप्रै भोटे ताल्चाहरु झुन्ड्याइएको हुन्छ, जुन अवस्था अनुसार खोल्ने र बन्द गर्ने गरिन्छ । माओवादीविरुद्ध बोल्दै आइरहने एमाले र एमालेविरुद्ध बोल्दै आइरहने माओवादीको मुखमा अहिले भोटे ताल्चा लागेको छ भने माओवादी र एमालेविरुद्ध बोल्न कांग्रेसको मुखमा लाग्दै आएको भोटे ताल्चा खोलिएको छ ।

सामान्यतया देशमा आउने चाडबाडहरुमा एकसरो नयाँ लुगा लाउन र सामान्य मीठो पीठो खान संघर्षरत कुल जनसंख्याको केही अपवादबाहेक पूरै जनजन प्रत्येक वर्ष जतिसुकै पाँैठेजोरी खेल्दा पनि उल्लिखित एकसरो नयाँ लुगा लगाउन र सामान्य मीठो पीठो खान सदैव धौ–धौको अवस्थामा नै गुज्रिरहनुपरेको तथ्य सबैका सामु छर्लंग भैरहेको छ । देशलाई विगतदेखि लागिरहेको श्रापबाट देश कहिले मुक्त हुने हो, कुनै टुंगो छैन।

खबरबजारमा सदैव छाइरहने भ्रष्टाचारका समाचारहरुले कहिल्यै विश्राम लिन सकेका छैनन् । जुनसुकै चाडबाड आए तापनि जनतामा कुनै खुशी र रौनकता देखिन छाडेको धेरै वर्ष भैसकेको छ । भई नभई, सकी नसकी वा ऋण लिएर भए पनि चाडबाड मान्नु वा स–साना छोराछोरी वा नातिनातिनाहरुलाई नयाँ लुगा किनिदिनु वा आवश्यकता अनुसार आफन्तहरुकहाँ आउजाउ गर्न खर्च जुटाउन हम्मेहम्मेको स्थितिबाट देश गुज्रिरहेको वर्षौं भइसक्यो । तर विडम्बना, यी कुरामा सुधार आउने लक्षणहरु अहिलेसम्म देखा पर्न सकिरहेका छैनन् । राजनीतिक व्यवसायीहरु पद भाग लगाउनमा नै व्यस्त छन् ।

पुराना दलका नेतृत्वहरुले प्रत्येक जनको मनमा संघीयता देशको लागि समस्या नै हो भन्ने निचोडमा पुर्‍याउन थप बल पुर्‍याएको पुर्‍याई छ। अस्ति शुक्रबार मात्रै महाशिवरात्रि स्वदेश र छिमेकी देश भारतबाट आएका हिन्दुहरुले ठूलो श्रद्धापूर्वक मनाए । तर विडम्बना, पशुपतिनाथमा चढाइएको जलहरिमा समेत पापको अलिकति पनि भय नमानी आफ्नो सीमित आर्थिक स्वार्थको लागि सुन लुकाउने कार्य हुन पुगेको सम्बन्धमा के–कस्तो छानबिन हुन पुग्यो ? त्यसको अवस्था कस्तो छ भन्ने कुरालाई सकेसम्म जनजनबाट टाढा राख्ने प्रयासमा पूर्वसत्तासीनदेखि वर्तमान सत्तासीनका सदस्यहरु अझैं पनि लागिपरिरहेका छन् । करोडौँकरोड मात्र होइन, अर्बौंअर्बको हिनामिना राजनीतिक व्यवसायीहरुका लागि सामान्य हुन पुगेको छ।

उनीहरुका आफ्नै सन्तानदेखि लिएर राजनीतिक सन्तानसम्मको भ्रष्टाचारमा संलग्नताका समाचारहरु सार्वजनिक हुन पाएको हुँदैन, कसरी ती भ्रष्टाचारीलाई जोगाउने भन्ने लडाइँमा नै उनीहरुको समय व्यतीत भइरहेको हुन्छ । त्यसैले जनजनलाई उनीहरुबाट सत्कर्म होला र देश अधोगतिबाट पार होला भन्ने कुरामा किञ्चित पनि विश्वास रहेको छैन । राजनीतिक व्यवसायी, प्रशासक, कर्मचारी, ठेकदारदेखि लिएर शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, न्यायाधीश कोही पनि यस मामिलामा अछूतो देखिन पुगेनन् । यिनीहरुका यी चर्तिकलाहरुले गर्दा समाजमा रहेका कतिपय यसै व्यवसायहरुसँग सम्बन्धित इमानदार व्यक्तिहरु समाजमा शिर ठाडो गरेर हिँडन नहुने अवस्थामा पुगेका छन् । कुनै गल्ती नगर्दा पनि समाजमा शिर झुकाएर हिँड्नुपर्ने अवस्थामा पुग्नु भनेको कम पीडादायी अवस्था पक्कै होइन ।

प्राणीदेखि लिएर समग्र देश वा विश्वमै थरी–थरीका रोग लाग्नु विशेषता हो । यदि रोगै नलाग्ने भए रोग भन्ने शब्दको उत्पत्ति नै हुने थिएन । रोग विविध कारणले लाग्छ । रोगका लक्षण थरी–थरीका हुन्छन् र रोग यसलाई र यो देशलाई मात्र लाग्छ भन्ने छैन । बेलैमा विचार पु¥याउन सकिएन भने रोगले शरीरदेखि लिएर राष्ट्रलाई समेत च्याप्छ । रोगले च्यापेको शुरुवाती अवस्थामै उपचार गरेर रोगको जडलाई निर्मूल पार्न सकिएन भने त्यसले दिने नतिजा भनेको सबै क्षेत्र धराशायी हुनु नै हो । दक्षिण एसियाकै श्रीलंका पनि हाम्रो जस्तै भ्रष्टाचाररुपी रोगको कारणले धराशायी अवस्थामा पुगिसकेको छ । त्यहाँका नेताहरुलाई जनताले घेरेर कुटेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । हाम्रोमा पनि अवस्था त्यस्तै हो ।

वैदेशिक ऋणले देश पूरै ढाकिएको छ । जन्मिन पाएको हुँदैन झन्डै पचहत्तर हजारको ऋणको भारी त्यो नवजात शिशुले व्यहोर्नुपर्ने अवस्था सिर्जना गरिएको छ । देशका जमिनहरुमा कि त भवन ठडिएका छन्, कि त बाँभैm छन् । कुनै बेला खाद्यान्न वस्तु निर्यात गर्ने देश अहिले छिमेकी देश भारतलगायत अन्य देशहरुलाई सकेसम्म चाँडो चामल देऊ भनेर अनुनय विनय गरिरहनुपरेको छ । हो एउटा कुरा सत्य के हो भने, भ्रष्टाचाररुपी रोगले विश्वका प्रत्येक राष्ट्रलाई गाँजेको कुरामा विमति छैन, मात्र प्रतिशतको तल–माथि मात्र हो । कुन–कुन देशको भ्रष्टाचारको प्रतिशत कति–कति छ भन्ने कुरा वार्षिकरुपमा निस्कने र निकालिने गरेका भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले बोलेका छन् । हाम्रो देशको बारेमा पछिल्लोपटक निस्किएको प्रतिवेदनले नेपाललाई भ्रष्टाचाररुपी रोगले डरलाग्दो किसिमले गाँजिरहेको कुरालाई नै इंगित गरेको छ। त्यसरी विदेश वा विदेशी संस्थाहरुका प्रतिवेदनले जिस्क्याइरहँदा हाम्रा शासकहरु ङिच्च दाँत देखाएर छलकपटमै लागिरहेर आ–आफ्ना दलका सदस्यहरुलाई जोगाउने प्रयासमा यो वा त्यो बाटो समाई लागिरहनु भनेको देशमा परेको अभिशापको निरन्तरताबाहेक केही होइन भन्न जनजनहरु बाध्य भएका छन् ।

मानवका न्यूनतम अधिकारहरु पनि संरक्षित हुन नसकेका थुप्रै घटनाहरु हाम्रै सामु लामबद्ध भएर बसिरहेका छन् । मानवअधिकारसँग सार्वजनिक भएका समाचारहरुलाई हेर्दा र पढ्दा के गणतान्त्रिक शासनमा हुने र घटित भैरहने मानवअधिकारविरुद्धका विभिन्न घटनाहरु सामान्य हो भनेर जनजनले मान्नुपर्ने हो ? भन्ने अहम् प्रश्न सधैँ खडा भएर जिस्क्याइरहेको छ । यदि गणतान्त्रिक शासनमा यस्ता घटनाहरु घट्ने सामान्य हुन् भन्ने शासकहरुले मान्यता राख्छन् भने यो गणतन्त्र आवश्यक छैन भन्ने प्रायः जनजनको बुझाइ र भनाइ रहन पुगेको छ । यस मानेमा हाम्रो देशको चाहे दुई तिहाइको पगरी गुथेको सरकार होस्, चाहे सर्वसम्मतबाट चयन गरिएको भनेर भनिएको गठजोडको सरकार होस्, या थरी–थरीका गठबन्धनका सरकार हुन्, सबै सरकारका सदस्यहरु जनसवालको उपेक्षा गर्ने बाटोमा झन्–झन् अग्रसर हुँदै गइरहको त होइन भन्ने प्रश्नहरु पनि निरन्तर खडा भइरहेका छन् । पछिल्लो गठबन्धन भत्किनु यसै कुराको निरन्तरता हो ।

देशमा मानवता कता हराउँदै छ भन्ने प्रश्न एकातिर छँदै छ भने किन यस्तो भैरहेको छ भन्नेबारेमा सरकार न गम्भीररुपमा यसलाई लिन्छ, न त पीडितलाई सार्थक उपचार दिन्छ । पीडितलाई न्याय त कता–कता उल्टो जनताको मतबाट चुनिएका जनप्रतिनिधिहरु पीडितलाई बेवास्ता गर्न लागिपर्छन् । गाउँठाउँमा मेलमिलापको नाउँमा स्थानीय न्यायिक समितिमार्फत मेलमिलापको दुरुपयोग गर्दै जबर्जस्ती मिलापत्र गर्न र गराउन पीडित र पीडितका परिवारहरुलाई साम, दाम, दण्ड, भेद सबै उपायहरु अवलम्बन गर्ने गरेका समाचारहरु सार्वजनिक भइरहेका छन् । इमानदारी र जे कुरामा पनि विश्वास गर्ने सोझा जनजनको जनमत लिएर सत्तामा पुगेका सत्तासीनहरु अहिले जुन रुपले सत्तामोहमा डुबेर जे–जस्तो हरकतले शासन सञ्चालन गरिरहेका छन्, त्यो जनमतले पक्कै रुचाएका छैनन् । गणतन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने चाटुककारहरुको जमातले प्रत्येक जन, विशेष गरेर प्रत्येक युवाहरुको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन्। दलीय चाटुककारहरुका क्रियाकलापलाई नियाल्दा वर्तमानका युवापुस्ताहरुलाई पनि अँध्यारोतिर धकेलिरहेको प्रतीत हुँदै छ । देशलाई समुन्नतको शिखरमा पुर्‍याउन इमानदारीपूर्वक नेतृत्वहरु लागिपरेका हुन्थे भने यो अवधिमा देश कायापलट भएर भविष्यको सन्तानको लागि मजबुत भई उभिरहेको हुन्थ्यो ।

पछिल्लोपटक नेतृत्वमा आएका नेतृत्वहरुले युवाहरुका जोश–जाँगरलाई भरमग्दुर उपयोग गरे । विविध अश्वासन बाँडे, जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाए । थुप्रैले यो वा त्यो नाउँमा आफ्नो जीवनको आहुति नै दिए । बेपत्ता पारिएका कतिपयको इतिहास नै हराइसक्यो । यसरी नेतृत्वलाई सहयोग गरेका युवाहरुलाई वर्तमानमा आएर कि त विदेशिन बाध्य बनाइएको छ, कि त राजनीतिक व्यवसायीहरुले फालेको हड्डीमा मग्न हुन बाध्य बनाइएको छ । युवाहरुलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधैँ वञ्चित गराइयो । यो प्रक्रिया वर्तमानमा पनि जारी छ।

सकेसम्म आफूले गरेको हालिमुहाली अकण्टक रहिरहे हुन्थ्यो भन्ने मृगतृष्णामा राजनीतिक व्यवसायीहरु अहिले पनि रमाइरहेका छन् । चिप्लो र आशारुपी अश्वासनको पोको मात्र वितरण गरी युवाहरुलाई आफ्नो मोहजालमा फसाउन राजनीतिक व्यवसायीहरु प्रत्येकपल्ट सफल भइरहेका छन्। प्रायः सबै दलमा संलग्न युवाहरुको नियती, विवशता र बाध्यता यही नै देखिँदै आएको छ।

अब पनि देश–विदेशमा रहेका युवाहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यिनै नेतृत्वको पछि लागिरहने हो र गम्भीररुपमा आफ्नै बारेमा नसोच्ने हो भने देश योभन्दा पनि कहाली लाग्दो अवस्थामा पुग्ने निश्चित छ । नेताहरुमा सत्ताका लागि मात्र मरिमेट्ने संस्कार रहेसम्म यो अवस्थामा सुधार हुने आशा गर्न सकिँदैन ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्