ऋग्वेदका ऋचाहरुमा आर्य



काठमाडौं ।

अहिलेसम्म पाइएका भाषिक सामग्रीमध्ये वेदहरु सबैभन्दा पुराना मानिन्छन् । तिनमा पनि ऋग्वेद पुरानो मानिन्छ । ऋग्वेदमा पनि ६, ३, ७ मण्डकलहरु प्राचीनतम मानिन्छन्। सहस्राब्दीयौँसम्म श्रुति परम्परामा जीवित रहिआएको वेद लिखितरुपमा आएपछि पनि युगौँसम्म ब्राह्मणहरुबाट मुक्त थिएन।

यसलाई कर्मकाण्डको लागि प्रयुग गरिने मन्त्र मात्र मानिन्थ्यो । जनस्तरमा वेद आइपुगेको लगभग २ शताब्दी मात्र भएको छ । यसबीच पनि जति अनुवाद भएका छन्, तत्वबोधका साथ भएका छैनन् ।

वेद त त्यति बेलाका रिसर्चको रिपोर्ट पनि हो। वेदमा त्यति बेलाका समाज, भूगोल, इतिहास, दर्शनलगायत तमाम ज्ञानहरु समाहित छन् । वेदमा रहेको इतिहासको पक्ष केही पुराणहरुमा कोट्याइएको छ र पनि विद्वान्हरुले यस क्षेत्रमा अझै गर्नुपर्ने जति अध्ययन, अनुसन्धान गर्न बाँकी नै रहेको पाइन्छ । केही विद्वान्हरुले प्रयास भने शुरु गरेका छन् ।

ऋग्वेदमा देवताहरूको प्रार्थना निमित्तक गायन मात्र नभई भारतवर्षका प्राचीनतम मानववंशको इतिहास पनि रहेको छ । यस इतिहासको बारेमा कमै मानिसले मात्र चासो लिएका छन् । ऋग्वेदमा आर्य जाति तथा (प्रोटो इन्डो–युरेपियन) को इतिहासका धेरै प्रसंगहरु पाइन्छन्।

पश्चिमाहरुले अघि सारेका ‘आर्य प्रवास सिद्धान्त’ को ऋग्वेद आफैँमा एउटा दह्रो खण्डन हो । पश्चिमाहरुका अनुसार भारतवर्षको मूल निवासी दक्षिण भारतका ‘द्रविड’/द्रविडियन्स थिए । सिन्धु सभ्यता यसै जातिको सभ्यता थियो र इरानबाट १५०० ईपूमा आएका आर्य जातिले यो सभ्यताको विनाश गरी आफ्नो बस्ती जमाए भन्ने भनाइ रहेको थियो।

ऐतिहासिक साक्ष्यका आधारमा हेर्दा पश्चिमाहरुका भनाइ सरासर झुट मात्र रहेको स्पष्ट हुन्छ । पश्चिमाहरुका अनुसार आर्यहरुको उद्गम स्थल मध्यएसियाको क्षेत्र हो । त्यहाँबाट आर्यहरु ११ वटा हाँगोमा छुट्टिएर विश्वको धेरै भूमि ओगटे । एउटा हाँगो भने इरानमा आइपुग्यो । यसै इरानी हाँगोबाट अर्को हाँगो निस्कियो र हिन्दु कुश हुँदै भारतमा आइपुग्यो भन्ने छ । यो ऐतिहासिक तथ्यका रुपमा पुष्टि हुँदैन ।

ऋग्वेद अथवा कुनै पनि अरु वैदिक शास्त्रमा यसको उल्लेख पाइँदैन । केही पाइन्छ त, बिल्कुलै फरक उल्लेख पाइन्छ । ऋग्वेद अन्तर्गत १० वटा मण्डलहरु रहेका छन् । यी १० मण्डलहरु रच्न करिब २००० वर्ष लागेको थियो । मण्डल ६, ३ र ७ सबै भन्दा पुराना रचना हुन् । यी पुराना रचनाहरु ईपू ३४००–२८०० को बीचमा रचिएका थिए । अन्य मण्डलहरु ईपू २८००–१९०० का बीचमा रचिएका मानिन्छन् ।

आर्यहरुको साँचो इतिहास हामी ऋग्वेदका पुराना मण्डलहरुमा पाउँछौँ । शुरुमा पुरु नामक आर्य समूह मात्र यी मण्डलका सर्जक थिए । ऋग्वेदका पुराना मण्डलहरु पुरुहरुको मात्र सिर्जना थियो । वशिष्ठ, भरद्वाज र विश्वामित्र यस वंशका प्रतिनिधि सर्जक थिए । जसको कारण आर्यका बाँकी समूह जस्तै– अणु, यदु, तुर्वसु, द्रुह्यु आदिले वेदलाई मान्यता दिइएका थिएनन् ।

ईपू ३३०० देखि २७०० को बीचमा तत्कालीन पुरू वंशीय राजालगायत अन्य अवैदिक आर्य राजाहरुको युद्ध भएको थियो । यी युद्धहरु दासराज, वार्सागिर र हरियुपियालगायत हुन् । यी युद्ध हाल पञ्जाव, हर्याणा र सिन्धुका भेगमा घटित भएका थिए भन्ने बुझिन्छ । यस युद्धमा पख्त, भालना, पार्शव, मद्र, दास, अलिना, भृगु र पुरुजस्ता जातिहरु समाविष्ट थिए । यी सबै एउटै वंशका विभिन्न हाँगा थिए । तिनै मध्येका पुरुहरुले वेदको रचना गरेका थिए र तत्कालीन समयमा पुरुहरुलाई मात्र वैदिक भनिन्थ्यो । सबै जातिले आफूलाई आर्य नै भन्थे ।

आर्यको तत्कालीन अर्थ उत्तम चरित्रका मानिस भन्ने बुझिन्थ्यो । जस्तै– वेदमा उल्लिखित द्रुह्यु, अणु, यदु, तुर्वसु आदि सबैले आफूलाई आर्य नै भन्थे । दासराज युद्धको उल्लेख ऋग्वेदको ७ औँ मण्डलमा रहेको छ । साथसाथै सबै आर्यहरुका बारेमा पनि उल्लेख गरिएको भेटिन्छ । यो प्रमाणित प्राचीनतम इतिहास हो ।
अर्णांसि चित पप्रथाना सुदास इन्द्रो गाधान्यक्र्णोत सुपारा ।
शर्धन्तं शिम्युमुचथस्य नव्यः शापं सिन्धूनामक्र्णोदशस्तीः ।। (ऋ.वे. ७।१८।५)
यस ऋचामा शिम्यु नामको आर्य शाखाको बारेमा उल्लेख भएको छ । बाल्कान क्षेत्रमा एउटा (सिर्मियम) नाम गरेको राज्य थियो । शिम्युहरुले बसोबास गरेको क्षेत्र भएर नै यसको नाम (सिर्मियम) रहन पुगेको हो । करिब ईपू ३०५०–२७०० वर्षअगाडि यी जाति पनि पुरु वंशका राजा सुदासबाट दासराज युद्धमा पराजित भएपछि विभिन्न दिशामा लागेका थिए।

आ पक्थासो भलानसो भनन्तालिनासो विषाणिनः शिवासः ।
आ यो.अनयत सधमा आर्यस्य गव्या तर्त्सुभ्यो अजगन युधा नर्न ।। (ऋ.वे. ७।१८।७)

यस ऋचामा विभिन्न आर्य जातिहरुको बारेमा उल्लेख गरिएको छ । यहाँ पक्था, भलान, अलिना, विषाणिन, शिवास आदि जातिका बारेमा उल्लेख गरिएको छ। पक्थाहरु आजका पस्टुन्पठानहरु हुन्।

उनीहरु हाल उत्तर पाकिस्तान र अफगानिस्तानमा बसोबास गर्छन् । यिनीहरु पुरुबाट पराजित भएपछि त्यतातिर लागेका हुन् । उनीहरुको बसोबास सिन्धु नदीको पारि पाइन्छ । यिनीहरु अणुका समूहमा पर्छन् । यसरी नै अर्को आर्य जाति भलान हुन् । भलानहरुको वंशजलाई अहिले बलोची भनिन्छ । यी जाति हाल पाकिस्तान र अफगानिस्तानमा बसोबास गर्दछन् । यिनीहरु अणु जातिभित्र पर्दछन् । अलिनाहरु ग्रीसका हेलेन जातिका हुन् । यी जाति पनि भारतबाटै हालको ग्रीस पुगेका हुन् । त्यसरी नै नुरिस्तानीहरुको पुर्खा विषाणिन हुन् । इक्ष्वाकु, पुरु, यदुहरु भने भारतवर्षमै बसे ।

युवां नरा पश्यमानास आप्यं प्राचा गव्यन्तः पृथुपर्शवो ययुः ।
दासा च वृत्रा हतमार्याणि च सुदासमिन्द्रावरुणावसावतम् ।। (ऋ.वे. ७।८३।१)

पार्शव, पृथु, भालन, पख्ताहरु अणु नामको समूहका जातिहरु हुन् । पृथुहरु पार्थियन हुन् भने पार्शवहरु पर्सियन हुन् । यी जातिहरु सिन्धु क्षेत्रबाट मध्यएसिया र इरानसम्म पुगेका थिए र पर्सियन र पार्थियनजस्ता विशाल साम्राज्यहरु कायम गरेका थिए । दासहरु (देसियन) भने प्राचीन रोमेनिया क्षेत्रका शासक वर्गमा थिए ।

अणवहरु दैत्यहरुको पूजा गर्थे र अहिले पनि गर्छन् । अहिले अणवहरु इरान र मध्यएसियाका विभिन्न भेगहरुमा भेटिन्छन् । पर्शुराम, भृगु, शुक्राचार्यजस्ता ऋग्वैदिक ऋषिहरु यसै अणव आर्य जाति अन्तर्गतका थिए । पुरू वंशका राजा सुदाससँग पराजित भएपछि यी जाति भारतवर्षबाट इरान र मध्यएसिया पुगेका हुन् । इरान–अफ्गानिस्तानको भेगमा पुगेपछि जरथुस्ट्र पन्थीको शुरुवात भयो ।

जरथुस्ट्र नामक व्यक्तिले यस धर्मको स्थापना गरेका हुन् । यस धर्मको मुख्य ग्रन्थ जेन्द अवेस्ता हो । सप्त सिन्धुलाई हप्त हिन्धुका रुपमा उल्लेख गर्दै धेरै पहिलेदेखि त्यहाँ आर्यहरुको बसोबास रहेको पवित्र भूमि अवेस्तामा उल्लेख गरेको पाइन्छ । अवेस्ताको भाषा ऋग्वैदिक भाषासँग अत्यन्त निकटतमरुपमै समान रहेको छ । जस्तै– संस्कृत र अवेस्ता भाषामा क्रमशः मातृ–मातर्, पितृ–पितर्, दन्त–दन्तन्, द्वार–द्वारम्, सिन्धु–हिन्दु, असुर–अहुर आदि भनिने गरेको पाइन्छ ।

यसै गरी अवेस्तन मात्र नभई, अरु आर्य भाषाहरुबीच पनि समानता रहेको छ । अहिलेको इरानीहरुका पुर्खाहरुमध्ये भृगु, पर्शुराम, शुक्राचार्य आदि महर्षिहरु पनि पर्छन् । यसरी नै अणुहरु भारतबाट इरान पुगेका हुन् भन्ने कुरा प्रमाणित हुन्छ । यसै गरी भाषाको आधारमा र ऋग्वेदको आधारमा सबै आर्य जातिको मूल भूमि भारत हो भन्ने बुझिन्छ ।

अणवहरु भारतवर्षबाट इरानतिर लागेका हुन् भन्ने प्रमाण प्राचीन ग्रीकहरुको इतिहासमा पनि पाइन्छ । जस्तै– स्थात्मोई पार्थिकोई १६ इसिदोर चेरक्सले अफगानिस्तान, हिलमन्द (हामुन–ई) का उत्तरमा अनाउवन, अनाउ अर्थात् अणुको बसोबास रहेको उल्लेख गरेको छ ।
पुरोकका इत्तुर्वशो यक्षुरासीद्राये मत्स्यासो निशिता अपीव ।
श्रुष्टिं चक्रुर्भृगवो द्रुह्यवश्च सखा सखायमतरद्विषूचोः ।।

द्रुह्युहरु भने प्राचीन युरोपका (द्रुइड्स) जाति हुन् । उनीहरु प्राचीन आयरल्यान्डका पुरोहित वर्गमा थिए । जेन्द अवेस्ताका अणुहरु र ऋग्वेदका पुरुहरुले द्रुह्युलाई शत्रु वर्गका पुरोहितका रुपमा चित्रित गरेका छन् । द्रुह्युहरुकै विभिन्न शाखाले नै प्राचीन युरोपलाई आर्यीकरण गरेका हुन् ।

त्वद्भिया विश आयन्नसिक्नीरसमना जहतीर्भोजनानि ।
वैश्वानर पूरवे शोशुचानः पुरो यदग्ने दरयन्नदीदेः ।। ऋ.वे. ७।५।३
न्यक्रतून्ग्रथिनो मृध्रवाचः पणीँरश्रद्धाँ अवृधाँ अयज्ञान् ।
प्रप्र तान्दस्यूँरग्निर्विवाय पूर्वश्चकारापराँ अयज्यून् ।। ऋ.वे. ७।६।३

यी ऋचाहरुका अनुसार पुरुबाट पराजित भएपछि अन्य आर्य जातिहरु (अणु–द्रुह्यु) सिन्धु क्षेत्र छाडेर विभिन्न दिशामा लागेको स्पष्ट हुन्छ ।
त्यसै गरी पार्शव (पर्सियन), भृगु (फ्रिगियन), पृथु (पार्थियन), मद्र ( मदाइ, मेदे), दास (देसियन, स्किथियन), शिव (खिव), शिम्यु (सर्मेटियन) आदि जातिहरु युरोप, इरान, मध्यएसिया, पाकिस्तानजस्ता राज्यमा पुगे र त्यहाँ बसोबास गरे । यिनीहरु सबै अणु अन्तर्गत पर्छन्। यी जातिहरु (प्रोटो– इरानियन– अर्मेनियन– ग्रीक– अल्बेनियन) हुन् ।
म्लेच्छाधिपतयोऽभूवन् उदीचीं दिशमाश्रिताः ।
तुर्वसोश्च सुतो वह्निः वह्नेर्भर्गोथ भानुमान् ।। (भागवत ९।२३।१६)
प्रचेतसः पुत्रशतं राजानः सर्वं एव ते ।
प्लेच्छराठाधिपाः सर्व ह्युदीचीं दिशमाश्रिताः ।। (मत्स्यपुराण ४८।९)

पुराणका यी श्लोकहरु पनि हेर्दा तुर्वसु, प्रचेता, द्रह्यु आदिका सन्ततिहरु समूहगतरुपमा उत्तरतिर लागेका र म्लेच्छ देशहरुमा राजा भएका इतिहास स्पष्ट हुन्छ । नेपालको भूमिमा पनि आर्यहरु पहिल्यैदेखि बसोबास गर्थे । खस भन्नु र आर्य भन्नु जातिको आधारमा उस्तै हुन् । खस जाति इरानी जाति थिए । उनीहरु अणुहरुका सन्तान हुन् । उनीहरु भारतवर्षबाट मध्यएसिया र इरान पुगेका थिए । त्यहाँबाट उनीहरु फेरि भारततर्फ आए ।

यो करिब ईपू ९००–५० को कुरा हो । यहाँ आएपछि उनीहरुले उत्तर भारत र पाकिस्तानमा शासन पनि गरे । समय बित्दै जाँदा उनीहरु तत्कालीन नेपाल र भारतका मानिसहरुसँग मिसिए । विशुद्ध खस अथवा शक/स्किथियनहरु अहिले नेपालमा प्रायः भेटिँदैनन् । उनीहरुको रगत भने ब्राह्मण र क्षत्रियहरुमा पाइन्छ ।

नेपालमा आर्यहरु पहिल्यैदेखि बसोबास गर्दै आएका छन् । महाभारतका लेखक, कृष्ण द्वैपायन वेद व्यास यसै भूमिमा जन्मेका हुन् । व्यासका पिता ऋषि पराशर थिए । उनी वैदिक आर्य नै थिए । वेद व्यासको काल ईपू २००० को आसपास थियो । यसै गरी नेपालको भूमिमा अन्य ऋषिहरुको पनि बसोबास थियो । शिवपुराण, स्कन्दपुराणजस्ता ग्रन्थहरुमा नेपालको बयान रहेको छ । अणु, द्रुह्यु, पुरुजस्ता आर्य जातिहरुको केही परिवारहरु यस भूमिमा पहिल्यैदेखि बसोबास गर्थे ।

यी तथ्यले के प्रमाणित हुन्छ भन्दा, आर्यहरु नेपाललगायत भारत, पाकिस्तान आदि मुलुकको मूल निवासीहरु हन् । ककेसशबाट आर्यहरु आएका हुन् भन्ने कुरा एक झुट मात्र हो भनेर माथि उल्लेख गरिएको सबै तथ्यले प्रमाणित हुन्छ । भारतवर्षबाटै आर्यहरू बाहिर गएका हुन् भन्ने थुप्रै अरू प्रमाणहरु पनि छन् ।

आज कतिपय विद्वान्हरु आर्यहरुलाई बाहिरबाट आएका भन्ने पश्चिमाहरुले छरेको भ्रम पालेर बसेका छन् । ऐतिहासिक सत्य त्यो होइन भन्ने तथ्य ऋग्वेदबाट स्पष्ट भएको माथि उल्लेख भइसकेको छ । आर्यहरु बाहिरबाट नआएको र भारतवर्षबाट अन्य ठाउँमा पुगेको भन्ने कुरा पनि यसै सन्दर्भमा प्रमाणित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्