सम्पदा संरक्षणमा कामपा

सम्पदा र मठमन्दिरको चिनारी क्युआर कोडबाट



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सबै वडाको सम्पदा र मठमन्दिरको इतिहास र चिनारीका लागि क्युआर कोड राख्न शुरु गरेको छ।

महानगरले पहिलो चरणमा काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिने क्युआर कोड राखेको हो।

क्युआर कोड राख्ने जिम्मेवारी वडा कार्यालयलाई दिइएको छ। सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकून् भनेर वडाले प्रविधिको प्रयोग थालेको कामपाले जनाएको छ।

कामपा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले काठमाडौं घुम्न आउने पर्यटकलाई नेपालको सम्पदा, संस्कृति र मठमन्दिरका बारेमा जानकारी दिन क्युआर कोड राख्न शुरु गरिएको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले घुम्न आउने जोकोहीले स्मार्ट फोन बोकेको हुन्छ । मन्दिरको प्राचीन इतिहास र यससँग जोडिएका जात्रापर्व, सामाजिक तथा धार्मिक संस्कारलगायतका विषयमा जान्न कसैलाई सोध्नु नपरोस्, क्युआर स्क्यान गरेर आफैं थाह पाओस् भन्ने हाम्रो चाहना हो ।’

सो वडाका सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ वटा प्राचीन ढुङ्गेधारा छन्। यस्तै नागपोखरी, हिटीपोखरी, चतुर्भुजनारायण, गोमा गणेश, नन्दीकेशर बगैंचा, हरिहर नारायण, साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लालगणेशजस्ता प्राचीन सांस्कृतिक सम्पदा छन्। तीमध्ये अधिकांशको क्युआर कोड तयार भइसकेको वडा कार्यालयले जनाएको छ।

यी सम्पदाको प्रवद्र्धन गर्न क्युआर कोड राख्ने काम काम थालिएको जानकारी दिँदै वडा सचिव सर्वज्ञराज पौडेलले भन्नुभयो– ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटक वडा नं १ का विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउने गरेका छन्। उनीहरुलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर क्युआर कोडको व्यवस्था गरिएको हो। यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउने छौं।’

वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्युआर कोड राखेको हो। क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियाली, स्पेनिस, जापानी र अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले काठमाडौंका सबै सम्पदाको चिनारी दिने गरी क्युआर कोड राख्ने तयारी भइरहेको जिकिर गर्दै भन्नुभयो– ‘महानगर क्षेत्रका ३२ वटै वडाका सबै मठमन्दिर, विहार, हिटी, बहाः बहीलगायतका सम्पदाको अध्ययन भइरहेको छ। अध्ययन सकिएपछि क्युआर कोड राख्नेछौं।’

उहाँका अनुसार आगामी आर्थिक वर्षसम्ममा सबै सम्पदाको क्युआर कोड तयार भइसक्नेछ। गाइडहरुले सम्पदा क्षेत्र घुमाउँछन्, क्युआर कोडले सम्पदा क्षेत्रमा भएका मठमन्दिर, पाटीपौवा, ढुङ्गेधारालगायतका सम्पदाका बारेमा जानकारी दिन्छ।’

कामपा सम्पदा विभाग प्रमुख कुमारी राईले मन्दिर, गुम्बा, पोखरी, ढुङ्गेधारालगायत सम्पदाको सरसफाइ गर्दै सबै सम्पदाको संरक्षण गर्ने कार्यक्रमसँगै क्युआर कोड राख्ने तयारी भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्