‘५२ करोडको कृत्रिम बत्ती आयात हुन्छ’



कोमल पोखरेल अध्यक्ष, पुकार इन्टरनेसनल प्राइभेट लिमिटेड

देशमा विद्युतीय सामग्रीको व्यापार, आयातको अवस्थालगायत विषयमा पुकार इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष तथा नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष कोमल पोखरेलसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी ।

विद्युतीय सामग्री व्यापारको समग्र अवस्था कस्तो छ ?

विगत लामो समयदेखि नेपाललमा उत्पादन नहुने विद्युतीय सामग्रीहरूको व्यवसाय गर्दै आइरहेका छौँ । कोभिडपछि आर्थिक मन्दीका कारण व्यवसाय प्रभावित भएको छ । केही वर्षदेखि बैंकको ब्याजदरले पनि प्रभाव पारेको छ ।

विद्युतीय व्यवसायको समस्या र चुनौती कस्ता छन् ?

मुलुकमै उत्पादन हुनसके देशका युवाले रोजगारी पाउने थिए। अहिले वातावरण बनेको छैन । राज्य र बैंकहरूले वातावरण बनाइदिए हुने थियो । उद्योग खोल्न प्रशासनिक झन्झटले समस्या पारिरहेको छ। उद्योग खोल्दा कच्चापदार्थमा न्यून भन्सार लिँदा सहज हुने थियो। सरकारले नेपालमा नबन्ने विद्युतीय सामग्रीमा छुट दिए देशलाई विद्युतीकरण गर्न सहयोग हुने थियो । हामीले भन्सार दरमा समस्या भोग्ने गरेका छौं। कच्चापदार्थ र तयारी उत्पादनमा राज्यले फरक दरको कर लगाइदिए हुने थियो । करसम्बन्धी विषय बुझ्न र बुझाउन सहज हुने तरिका अपनाए राम्रो हुने थियो। प्राविधिक प्यारामिटर निर्धारण गरेर गुणस्तर जाँच गर्ने वातावरण बने व्यावसाय गर्न सजिलो हुने थियो । सामग्रीको परीक्षण प्रयोगशाला नहुँदा कम गुणस्तरका सामग्री आयात गरी बिक्री गरिरहेका छन् । निजी क्षेत्र प्रोत्साहित भएमात्रै औद्योगिक वातावरण बन्छ, सरकारले त्यसलाई बुझ्न र मनन गर्न आवश्यक छ ।

स्वदेशमा विद्युतीय सामग्री उद्योग खुल्न नसक्नुको चुरो कुरा के हो ?

हामी स्वदेशमै गुणस्तरीय विद्युतीय सामग्री उत्पादन गर्ने र बजारीकरण गर्न लागिरहेका छौं । गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोगले विद्युत्को खपत कम हुन्छ । कच्चापदार्थमा भन्सार छुट र बजारमा पुँजीगत खर्च बढाइदिए उद्योग खोल्न सहज हुने थियो ।

नेपालमा कस्ता किमिमका विद्युतीय सामग्री उत्पादन भइरहेका छन् ?

नेपाल लोभोल्टेज केबलमा आत्मनिर्भर छ। हामी विद्युतीय सप्लायरमा चाहिने माध्यम साइजको घरायसी तारमा ११ हजार भोल्टेजसम्मको पावर केबलमा आत्मनिर्भर भइसकेका छौं । त्यसैगरी, बल्बमा पनि आत्मनिर्भर हुन थालिसकेका छौँ । मेटल बक्स पनि नेपलमै उत्पादन हुने गरेको छ । यसबाहेक स्विचका सामग्री पनि नेपालमा फिटिङ हुन थालेका छन् । एमसिबी पनि नेपालमा उत्पादन हुन्छ । तर, पर्याप्त नहुनाले विदेशबाट आयात भइरहेको छ ।

भन्सार शुल्कको अवस्था कस्तो छ ?
सामग्री हेरेर धेरैमा ४० प्रतिशतबाट सुरु भएर कममा १० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने हुन्छ । मेटलजन्य सामग्रीमा १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । भन्सारले निर्धारण गरेअनुसार कर लाग्ने गरेको छ।

विद्युतीय सामग्री कुनकुन देशबाट आयात हुने गरेको छ ?

मुख्यगरी भारत, चाइना र केही अन्य देशबाट आयात हुने गरेको छ। भारत र चाइनाबाट स्विचलगायत र भारतबाट एमसिबी, सकेटलगायत आयात हुने गरेको छ । धेरै चाइनाबाटै आयात हुने गरेको छ।

स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात भइरहेको छ ?

त्यस्तो विषय नगन्य रहेको छ । बैंकको तथ्यांक हेर्दा पनि थाहा पाइन्छ । नेपालमा उत्पादन हुने विद्युतीय सामग्री अन्य देशबाट आयात गरिएको भन्दा सस्तो पर्ने भएकाले आयात गरिएको छैन। नेपालको उत्पादनमा गुणस्तर अनिवार्य भनिएकाले बिक्री राम्रो छ । मालाबत्ती, चाडपर्वमा प्रयोग हुने बत्ती नेपालमा उत्पादन नहुनले बाहिरबाटै आयात गरिएको छ।

चाडपर्वमा बिक्ने कृत्रिम मालाबत्ती काठमाडौं महानगरपालिकाले बन्द गरेसँगै व्यापारमा कमी भएको हो ?

यो गलत निर्णय होइन । अघिल्ला वर्षहरूको तुलनामा हाल व्यवसाय धेरै घटेको छ । भूकम्पपछि निर्माण कार्य सुरु हुँदा र कोभिड अघिसम्म बजारमा माग थियो । विद्युतीय वस्तुको मुख्य सिजन दसैँअघि हुन्छ । विशेषगरी, भारत र चाइनाबाट वार्षिक ५२ करोडभन्दा बढीको आयात हुने गरेको छ । यसपालि सामान्य रूपमा मात्रै घटेको हो।

विद्युतीय सामग्रीको मुख्य बजार कहाँकहाँ हो ?

निजी घर बन्ने र गृहप्रवेशको समयमा विद्युतीय सामग्री खपत हुने गरेको छ । ढलान गर्दा राख्नुपर्ने पाइपदेखि फिनिसिङपछि राखिने बत्तीसम्म विद्युतीय व्यवसायीको क्षेत्राधिकारमा पर्छ । ठूला सहर र नयाँ बस्ती बस्ने ठाउँमा विद्युतीय सामग्रीको बिक्री हुने गरेको छ । पोखरा, नारायणघाट, वीरगन्जजस्ता ठाउँमा बिक्री हुने गरेको छ ।

विद्युतीय सामग्रीमा प्रशारण लाइनका सामग्री पनि पर्छन् ?

मुख्य लाइनका तारहरू, भोल्टेजका सामग्री, ट्रान्स्फर्मरलगायत पर्दछन् । नेपालमा उत्पादन भएको ट्रान्स्फर्मर प्रयोग हुने गरेका छन् । बढी शक्तिको भयो भने बाहिरबाट ल्याउने गरिन्छ ।

विद्युतीय सामग्री पुनः प्रयोग गर्ने प्रकृतिका हुन्छन् ?

विद्युतीय सामग्री पुनः प्रयोग गर्नेखालका हुँदैनन् । खराब भयो भने मर्मत गर्न सकिन्छ । बत्ती पुनः मर्मत गर्नसक्ने अवस्था हुन्छ । तार बिग्रिने हुँदैन । पुनः अर्को ठाउँमा प्रयोग गर्न सकिँदैन ।

चाइना र भारतबाट ल्याइने सामग्रीमा गुणस्तरको तुलना कसरी गर्न सकिन्छ ?

नेपालमा उत्पादन भएका विद्युतीय सामग्री गुणस्तीय छन् । त्यतिनै गुणस्तरका सामग्री चाइना र भारतबाट ल्याउँदा महँगो पर्छ । भन्सारमा पनि नेपालमा उत्पादन भएका सामग्री अन्य देशबाट ल्याउँदा महँगो बनाइएको हुन्छ । त्यो उचित छ । फेन्सी खालका सामग्री भारतमा महँगो हुन्छ । स्विच, सकेट भने भारतको सस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्