फोहोरलाई मोहर बनाउन मन छ ? टेकु ट्रान्सफर स्टेसन जानुस्



काठमाडौं ।

फोहोरलाई मोहर बनाउने योजनाअनुसार महानगरपालिकाले पुनः प्रयोग हुने २९ प्रकारका फोहोर बिक्री गर्ने गरी तयारी थालेको छ। फोहोर कम गर्ने नीतिअनुसार कामपाले पहिलोपटक मूल्य तोकेर बिक्री गर्न लागेको हो ।

कामपा वातावरण विभागले फोहोरको दररेट कायम गरेसँगै बिक्री गर्न लागेको जनाएको छ। आगामी साताबाट फोहोर बिक्री गने तयारी गरेको महानगरले जनाएको छ।

कामपा कार्यपालिकाको बैठकले फोहोरको दररेट स्वीकृत गरिसकेको छ। ‘हामीले दररेट स्वीकृत गरिसकेका छौं, सार्वजनिक सूचना जारी गरेर बिक्री शुरू गर्नेछौं’–कामपाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो।

पुनःप्रयोग हुने फोहोरको मूल्य ७५ पैसादेखि ७ सय ५० रुपियाँसम्म तोकिएको छ । सबैभन्दा कम रंगिन बोटलको ७५ पैसा तोकिएको छ भने धेरैको ७ सय ५० तोकिएको छ। कामपा वातावरण व्यवस्थापन विभागका अनुसार मूल्य तोकेका सामग्री भ्याट र कामपामा दर्ता भएका संस्थाले खरिद गर्न सक्नेछन् ।

विभागले सार्वजनिक गरेको दररेट अनुसार ब्रास प्रतिकेजी ५सय, आल्मुनियम २१५, क्यान ६०, उच्च गुणस्तर फलाम ५०, कम गुणस्तर फलामको २६, कडा प्लास्टिकको गुडिया र गेलोनको ४५, सानो प्लास्टिकको बोतल ३४, एलडी प्लास्टिक २०, एचएम प्लास्टिक ११ रुपियाँ, कायम गरिएको छ।

त्यसै गरी रबर प्रतिकेजी १२, अन्डाको क्रेट १५, प्लाटिकको क्रेट १५, मोबिल २५, पुरानो टायर १०, पुरानो कुर्सी १३, कपडा १ रुपियाँ कायम गरेको छ।

विभागले पुरानो तेल ३० टिना २५, वाइन र सेतो बोतलको ३, बियर बोटल ४, न्युज पेपर २३, किताब १०, कपी १५, मिक्स पेपर १२ र कार्टुन १२ रुपियाँ कायम गरेको छ।

बजार अनुगमन र विज्ञसहितको टोलीले मूल्य तय गरेको विभागले जनाएको छ। विभागका प्रमुख रविनमान श्रेष्ठले कामपाले तोकेको मूल्यअनुसार पुनःप्रयोग हुने फोहोर बिक्री गरिने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–यो पाइलट परियोजना हो, सफल भएपछि घरबाटै फोहोर संकलन गर्दा फोहोर वर्गीकरण गरेरमात्र संकलन गर्ने व्यवस्था गर्न लागेका छौं । कामपाले चार संस्थासँग दररेट मागेको थियो । चार संस्थामध्ये कम दररेट कायम गरेको हो।

विभिन्न निकायसँग दररेट मागेका थियौं, उनीहरूको दररेटको आधारमा मूल्य निर्धारण गरी कार्यपालिकाको बैठकले स्वीकृत गरेको हो–प्रवक्ता मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो। वातावरण विभागले कवाडी संघ फोहोर मोहर, डोको रिसाइकल र ग्लु वेस्ट टु भ्यालुसँग दररेट माग गरेको थियो।

कमापाले शुरूमा खरिद गर्न चाहनेलाई उच्च प्राथमिकतामा राखेको छ। त्यसो नभए टेन्डरबाट बेच्ने तयारी गरेका छौं–प्रवक्ता मानन्धरले भन्नुभयो।

महानगरक्षेत्रभित्र संकलित फोहोर महानगर क्षेत्रमै व्यवस्थापन गर्ने नीति र फोहोर घटाउने रणनीतिअनुसार महानगरले संकलित फोहोर महानगर क्षेत्रमै व्यवस्थापन गर्न पुनःप्रयोग हुने फोहोर बिक्री गर्न लागेको हो।

विभागले दैनिक ३ सय किलो पुनः प्रयोग हुने फोहोर संकलन गर्ने गरेको र पहिलो चरणमा करिब ३ हजार किलो पुनः प्रयोग हुने फोहोर बेच्ने योजना कामपाको रहेको छ। ट्रान्सफर स्टेसनमा दैनिक ५ जना कर्मचारीले पुनः प्रयोग गर्न मिल्ने फोहोर संकलन जारी राखेका छन् ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन खर्च अत्यधिक हुन थालेको र ढुवानीमा समस्या आउन थालेपछि महानगरक्षेत्रमै पुनःप्रयोग हुने फोहोर बिक्री शुरू गर्न लागिएको हो।

शुरूमा ट्रान्सफर स्टेसनमा र त्यसपछि कामपाले विभिन्न वडासँग समन्वय गरी ८ क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।

घरबाट संकलन भएको फोहोर संकलन केन्द्रमै व्यवस्थापनगरी बाँकी लैजानैपर्ने फोहोर मात्रै ल्यान्डफिल साइटमा लैजाने गरी काम शुरू भइसकेको विभागीय प्रमुख श्रेष्ठले जानकारी निुभयो।

के को दर कति 
तामा ७५०
रंगिन बोतल ७५ पैसा
ब्रास प्रतिकेजी ५००
आल्मुनियम २१५
क्यान ६०
उच्च गुणस्तर फलाम ५०
कम गुणस्तर फलामको २६
कडा प्लास्टिकको गुडिया र गेलोनको ४५
सानो प्लास्टिकको बोतल ३४
एलडी प्लास्टिक २०
एचएम प्लास्टिक ११
रबर १२
अन्डाको क्रेट १५
प्लास्टिकको क्रेट १५
मोबिल २५
पुरानो टायर १०
पुरानो कुर्सी १३
कपडा १
पुरानो तेल ३०,
टिना २५
वाइन र सेतो बोतलको ३
बियर बोटल ४
न्युज पेपर २३
पुरानो किताब १०
पुरानो कपी १५
मिक्स पेपर १२
कार्टुन १२

प्रतिक्रिया दिनुहोस्