राप्रपामा आन्तरिक विवाद छताछुल्ल

कोशी सभामुखलाई फिर्ता बोलाउन निर्देशक समितिको निर्देशन



काठमाडौं ।

कोशी प्रदेश सभामुखको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ।

पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा कोशी प्रदेशमा अम्बरबहादुर विष्टलाई सभामुख बनाएपछि पार्टीमा विवाद उत्पन्न भएको हो।

सोही विषयलाई लिएर पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच टकराव शुरू भएको छ।

वागमती प्रदेशमा सभामुख हुँदा कोशीमा किन नहुने भन्ने एकाथरीको बुझाइ छ भने अर्काथरीका नेताले पार्टी सरकारमै भएको अवस्थामा वागमतीमा गठबन्धनभित्रको सहमतिअनुसार सभामुख लिएको र अहिलेको अवस्थामा भागबण्डामा पदीय जिम्मेवारी लिन नहुने तर्क गर्दै आएको छ।

कोशीमा गत पुस २४ गते विष्टलाई सभामुख बनाउने निर्वाचन प्रक्रिया चलिरहँदा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेको थियो। तर, लोहनी नेतृत्वको निर्देशन समितिले दिएको निर्देशनबारे राप्रपाले पार्टीमा अहिलेसम्म औपचारिक निर्णय लिएको छैन।

वरिष्ठ उपाध्यक्ष मिश्रले भने निर्देशक समितिको निर्देशनअनुसार पार्टीले कोशी प्रदेशमा सभामुख बनेका विष्टलाई फिर्ता बोलाउनुपर्ने जिकिर गर्दै आउनुभएको छ।

यद्यपि, निर्देशन समितिको निर्देशनका विषयमा पार्टीमा छलफल नहुने अध्यक्ष लिङ्देनले बताउँदै आउनुभएको छ।

‘निर्देशन समिति अध्यक्ष त मैले चिठी दिएर बनाएको, निर्देशन समितिको अध्यक्ष महाधिवेशनले बनाएको अध्यक्षभन्दा माथि हुन्छ ? निर्देशन दिने ?’, अध्यक्ष लिङ्देनले भन्नुभएको छ– ‘निर्देशन समिति सल्लाहकारका रूपमा रहने हो । सरकारमा जाने र राजनीतिक नियुक्तिहरूमा सुझाव दिने निकाय हो त्यो । नाम निर्देशन समिति भने पनि त्यो सुझाव दिने निकाय हो, विधानमा प्रस्ट छ।’

सरकारमा जाने कि नजाने भनेर केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा निर्देशन समितिसँग सुझाव लिन सक्ने भए पनि केन्द्रीय कार्यसमितिलाई निर्देशन दिने निकाय नभएको उहाँको भनाइ छ।

लिङ्देनले पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रप्रति लक्षित गर्दै राप्रपा नै नबुझेको टिप्पणीसमेत गर्नुभएको छ। प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रसहित रहेको निर्देशन समितिले कोशी सभामुखबाट राप्रपा फिर्ता हुनुपर्ने निर्देशन जारी गरेपछि यो विषयमा राप्रपाभित्र पेचिलो बन्दै गएको छ।

‘हिजोअस्ति आउनुभएको रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझ्नुभएको छ ?’ –लिङ्देनले प्रश्न गर्नुभयो । लिङ्देनको प्रश्नको जवाफमा नेता मिश्रले आफूले राप्रपालाई अहिले चिनिनसकेको प्रतिक्रिया दिनुभएको छ।

पार्टीभित्रको विवादका सन्दर्भमा राप्रपाका सहमहामन्त्री प्रकाश रिमालले छलफल गरेर समस्या समाधान गर्ने बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केद्रीय समितिमा रहेका अधिकांश पदाधिकारीको मत पार्टी सरकारमा नजाने भन्ने अनौपचारिक छलफल र निष्कर्ष थियो । केन्द्रीय समितिले यस विषयमा कुनै औपचारिक निर्णय गरेको पनि थिएन। तर, कोशी प्रदेश समितिको निर्णयअनुसार त्यहाँ अम्बरजी सभामुख हुनुभयो। सोही विषयलाई लिएर पार्टीमा विवाद देखिएको छ। हामी कार्यसम्पादन समितिको बैठक बसेर सभामुख फिर्ता बोलाउने वा सरकारमा जाने भन्ने विषयमा चाँडै निर्णयमा पुग्छौं।’

प्रतिक्रिया दिनुहोस्