यू–१९ विश्वकप किक्रेटमा आज न्यूजिल्याण्डको सामना गर्दै नेपाल



काठमाडौं ।

आइसीसी यू-१९ विश्वकप किक्रेटमा आज नेपालले न्यूजिल्याण्डको सामना गर्दै छ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको सामना गर्न लागेको हो।

नेपाल र न्यूजिल्याण्ड बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने २ बजेदेखि सुरु हुने छ। ८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ।

यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।

दक्षिण अफ्रिकामा जारी यू- १९ विश्वकपमा नेपालसहित १६ देश सहभागी छन्। यो विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

नेपालले यू- १९ विश्वकपमा दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्