कालिञ्चोकः हिउँले छोपेको धार्मिक गन्तव्य (तस्विरसहित)



एउटा सानो टाँपुमा जलकुण्ड छ । वरिपरी केही मन्दिर र गौरीशङ्कर लगायतका हिमश्रृङ्खलाहरुको आकर्षण । यहि हो कालिञ्चोकको विशेषता । अनि तीन हजार आठ सय ४२ मीटरको उँचाईमा रहेको जलकुण्डमा बाह्रै महिना पानी देखिनु आफैमा चमत्कारी लाग्दछ ।

मौसम अनुसारको प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक विशेषताले पनि कालिञ्चोकको यात्रालाई उदेश्यमूलक बनाउछ भन्छन् पर्यटकहरु । चैतदेखी बैशाख– जेठसम्म कालिञ्चोकमा बिभिन्न प्रजातिको चिमाल र लालिगुँरासको सुन्दरता देख्न सकिन्छ । असार– साउन देखी मंसिरसम्मै हरियालीमा याक र चौरीको उछलकुदले कुरी, टुटवानको वातावरण रमणीय हुनेगर्छ । जडिबुटीको खोज र साईकिलिङको गन्तव्य पनि कालिञ्चोक नै हुने गरेको छ ।अहिले माघ महिना, हिमपातले सेताम्य कालिञ्चोकमा उडिरहेको बादलको छेकोपार्दै देखापर्ने घामको झुल्काले जलकुण्डको टाँपुमात्र हैन कुरीका रङ्गी– विरङ भवनहरु समेत आकर्षक बनेका छन् ।

यो बर्ष माघ– २ गतेबाट हिमपात सुरु भएपछि नेपालको बिभिन्न जिल्लाबाटमात्र हैन भारतको बिभिन्न ठाँउबाट समेत धेरै संख्यामा पर्यटक पुगिरहेका छन् । विगतमा स्वदेशी पर्यटकमात्र पुग्ने गरेको कालिञ्चोकमा विगत केही बर्ष यता भारतको बिभिन्न ठाँउबाट समेत धेरै संख्यामा पर्यटक आउने गरेको कुरीमा रहेको होटल सुनपातिका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओली बताउनु हुन्छ । कालिञ्चोकको धार्मिक विशेषताबाट प्रभावित भारतिय पर्यटकहरु हिमपातले सुन्दर देखिने पहाडमा निक्कै रमाउने गरेको पर्यटन व्यवसायी ओलीको अनुभव छ ।

कालिञ्चोक किंवदन्ति
किंवदन्ति अनुसार कालिन्चोक भगवतीका २७ दिदीबहिनीहरु छन् । तीमध्ये १७ दिदीबहिनी काठमाडौँ उपत्यकामा छन् र १० दिदीबहिनी दोलखा र आसपास छन् । दोलखा आसपास रहेका भगवतीहरुमध्ये कालिन्चोक भगवतीसंगैे सुन्द्रावती, डुमकोटस्थित कालिकादेवी, सुनखानीस्थित कालिका, लादुकस्थित कमलादेवी, दोलखास्थित त्रिपुरासुन्दरी र बज्रयोगिनी, महाँकाली भगवती, पिस्करस्थित बैधीदेवी, र देवीखोला तिरस्थित कालिकादेवी हुन् ।
अर्को किंवदन्ति अनुसार देवताहरुलाई दानवहरुले दुःख दिई राज्यबाट च्यूत गराएपछि उनीहरु देवीको शरणमा गए । देवताहरुको आराधनाबाट खुशी भएकी देवीले दानवहरुलाई युद्धमा परास्त गरिन् ।

यसरी दानवहरुलाई परास्त गर्ने क्रममा एउटा रक्तवीज राक्षससँग युद्ध गर्नुपर्ने भयो । रक्तवीजको एक थोपा रगत जमिनमा पर्ने वित्तिकै एउटा दानव उत्पन्न हुने हुनाले त्यो दानवको रगत चुहिन नदिन देवीको आह्वानमा काली उन्पन्न भइन् । कालीले रक्तवीजको रगत भुइँमा पर्न नदिई त्यसलाई मारिन् । यसरी कालीले रक्तवीज लगायतका दानवहरुलाई मारेको स्थान कालिन्चोक टाकुरो हो । किम्वदन्ति अनुसार कालिञ्चोक टाँपुमा रहेको जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ ।

कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास समेत रहदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेपछि जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ ।

कालिन्चोक भगवतीको सम्बन्ध ऐतिहासिक दोलखा सहरका विभिन्न संस्कृतिहरुमा पनि रहेको छ । परापूर्व कालमा दानवहरुले दोलखा सहरबासीहरुलाई दुःख दिँदा कालिन्चोक भगवतीलाई आराधना गरेको र देवीले दानवहरुलाई परास्त गरी दोलखाबासीको रक्षा गरेको किंवदन्तिसहितका थुप्रै संस्कृतिहरु अहिले पनि प्रचलित छन् । कालिन्चोक भगवतीका सबै दिदीबहिनीहरुको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास समेत रहेको छ । त्यसैले धेरै पर्यटकहरु कालिञ्चोकको दर्शनसंगै दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी र महाङ्काल भगवतीको दर्शन समेत गरेर फर्कने गर्दछन् ।

मन्दिरमा मेला
कालिञ्चोक मन्दिरमा दशै, जनै पूर्णीमा जस्ता पर्वहरुमा मेला लाग्ने गर्दछ । करिब एक सय मीटरको सेरोफेरोमा रहेको कालिञ्चोक मन्दिरको टाँपुमा मेलाको समयमा हजारौ मानिस अटाउने विशेषता रहेको स्थानिय जेष्ठ नागरिकहरुको भनाई छ । नयाँ बर्ष, बिभिन्न चाँडपर्व, सार्वजनिक विदा आदिमा समेत आन्तरीक एवं बाह्य पर्यटक कालिञ्चोक पुग्ने गर्छन ।

कसरी पुग्ने
काठमाडौँबाट १३३ किलोमीटरको दुरीमा रहेको दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटर कच्चीबाटोको यात्रा तय गरेपछि कालिञ्चोकको कुरी पुग्न सकिन्छ । हिमपातको बेला अन्य सवारी साधनहरु कालिञ्चोक पुग्न नसक्ने भएकोले चरिकोटबाट चेन राखेर बोलेरो गाडिले कुरीसम्म पु¥याउने गर्दछन् । कुरीबाट करिब ४५ मिनेटको पैदल यात्रा पछि कालिञ्चोक मन्दिर पुगिन्छ । अहिले कालिञ्चोकको कुरीबाट टाँकुरासम्म केवलकार सञ्चालनमा रहेको छ । केवलकारबाट टाँकुरा जाँदा ५÷७ मीनेटमात्र पैदल हिड्नु पर्ने हुन्छ । केबलकारमा नेपालीलाई प्रति व्यक्ति छ सय रुपैया लिने गरिएको छ ।

वासस्थान
कालिञ्चोकको कुरीमा अहिले ६० भन्दा बढी सुविधासम्पन्न होटलहरु रहेकोले वासस्थानको समस्या नहुने स्थानियको भनाई छ । बस्नको लागि सुविधा हेरेर एउटा कोठाको एक हजार देखि दुई तीन हजारसम्म शुल्क लिने गरिएको होटल व्यवसायीहरु बताउछन् । तर शुक्रवार, शनिवार र बिभिन्न पर्वहरुमा अत्यधिक पर्यटक पुग्ने भएकोले एउटा कोठामा धेरै पर्यटकलाई राख्नु पर्ने बाध्यता समेत रहने होटल व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्