भारतले २० करोड लगानी गर्न पाउने अधिकार दिँदा राष्ट्रियता कमजोर हुन्छ: कमल थापा



सुर्खेत ।

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदूतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

 वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतीय दूतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको भन्दै विरोध गरेका हुन्।

 उनले नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा सिधा योजनामा खर्च गर्ने भएपछि राप्रपा नेपालले आपत्तिजनक रुपमा खेद प्रकट गरेको बताए।

 ‘सिधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ।’ अध्यक्ष थापाले भने, ‘नेपाल सरकार मार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्छ।’

 नेपाल सरकारले ठुलो गल्ती गरेको भन्दै विकासमा भारतले सीधा हात हाल्नु गलत भएकाले तत्काल सच्चाइनुपर्ने आफ्नो पार्टीको माग भएको थापाको भनाइ छ।
थापाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालमा आएर भएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता सकारात्मक बताए।

 ‘भारतीय बजारमा नेपाली विद्युतको पहुँच हुनु राम्रो हो।’ थापाले भने, ‘विगतमा आफूले लगानी गरेको विद्युत् आयोजनाबाट मात्र लिनेमा अहिले अन्य लगानीबाट उत्पादन भएको विद्युत् भारतीय बजारमा लैजाने सम्झौता प्रंशसिय छ।’’

अर्को प्रंसगमा थापाले भारतीय विदेश मन्त्रीलाई कूटनीतिक मर्यादाभन्दा बाहिर गएर नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु भेट्न जाँनु दुःखद भएको बताए।  थापाले राप्रपाले दुई वटा ढुङ्गामा खुट्टा राख्न नहुने भन्दै सत्ता केन्द्रित नभई आन्दोलनको लागि अघि बढ्न आग्रह  गरे ।

 उनले बृहत् राष्ट्रिय मोर्चा निर्माण गरी निर्णायक आन्दोलन गर्नुपर्ने समय आएको भन्दै राष्ट्रवादी ,देशभक्त र प्रजातन्त्रवादी शक्तिहरु मिलेर अघि बढ्नुको विकल्प नभएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्