राष्ट्रिय सभाका लागि आठवटा दल दर्ता



काठमाडौं ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबारसम्ममा आठ वटा दल दर्ता भएका छन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मंगलबारसम्ममा पा“चवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका थिए भने बुधबार ३ वटा दल थपिएका हुन्।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिन मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीले आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो भने बुधबार जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा नेपाल, र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी दलले दर्ताका लागि निवेदन दिएको हो।

आयोगले गत शुक्रबार निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गर्दै आगामी मंसिर २९ गतेसम्मको अवधि तोकेको थियो। उपनिर्वाचनका लागि अल्पसंख्यक समूहमा पर्नेहरूको किटानी गरी पठाउन आयोगले गृह मन्त्रालयमा पत्र लेखी पठाएको छ।

निर्वाचनबाट चुनिने १९ जना राष्ट्रियसभा सदस्यमध्ये अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट तीन जना रहने व्यवस्था छ। त्यसका लागि पछिल्लो जनगणनाको तथ्यांकअनुसार अल्पसंख्यक किटानी गरी पठाउन आयोगले पत्राचार गरेको हो।

यसबाहेक सातवटै प्रदेशबाट सात जना अन्य, सात जना नै महिला, दलित २ र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एकसहित जम्मा २० जना राष्ट्रियसभा सदस्य चुनिनेछन्। जसमा सबैभन्दा बढी वागमती प्रदेशबाट अर्थात् महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय, दलित र अन्य गरी चारजना निर्वाचित हुनेछन्।

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य पनि जारी राखेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरका साथै प्रदेश सभाका सांसदहरू उपनिर्वाचनमा मतदाता रहने छन्।

नयाँ मतभार तय गरेपछि प्रदेशसभा सदस्यको नामावली पठाउन सातवटै प्रदेशमा पत्राचार गरेको छ। कार्यतालिकाअनुसार यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ।

अहिले विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभाका सांसदहरू रिक्त रहेकाले सोहीअनुसार मतदाता नामावली अद्यावधिक गरिने सहायक प्रवक्ता अर्यालले बताउनुभयो। सबै प्रदेशमा निर्वाचन कार्यालय खोल्ने, उच्च अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने र नाम संकलन गर्ने तयारी भइरहेको छ।

त्यसै गरी दलहरूसँग आधिकारिक हस्ताक्षर माग, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, उम्मेदवारी दर्तालगायतका कार्यक्रमको गृहकार्य गरिरहेको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो।

पुस २२ गते मतदाता नामावलीउपर दाबी विरोध भई सोही दिन मतदाताको अन्तिम नामावली प्रकाशित गरिने छ। मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आयोगले जनाएको छ।

सहायक प्रवक्ता अर्यालका अनुसार पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ ।

मनोनयन पत्र र उजुरीमाथि जा“चबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सम्पन्न हुने आयोगले जनाएको छ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ।

मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुनेछ। आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्