एमाले काभ्रेले मण्डनदेउपुरमा विशाल सभा गर्दै



काभ्रे।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ तयारीका लागि नेकपा एमाले काभ्रेको विस्तारित बैठक आयोजना गरेको छ ।
बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रीय सदस्य कृष्ण राई, पूर्व केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य, जिल्ला कमिटी, नगर तथा गाउँ कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । बैठकमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले छलफलका एजेन्डा प्रस्तुत गरेका थिए ।

नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई काभ्रेमा सभ्य र भव्य कसरी बनाउन सकिन्छ भन्ने बारेमा बैठकमा छलफल भइरहेको छ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त टोली धुलिखेलमा बास बस्ने व्यवस्था मिलाइएको छ । भोलिपल्ट टोली रामेछापको मन्थली प्रस्थान गर्ने कार्यक्रम छ । नेकपा एमालेले बिहीबारबाट सुरु गरेको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको ११ औ दिन अथार्त मसिंर २४ गते काभ्रे आउने टोलीलाई स्वागत गर्न एमाले काभ्रेले विस्तारित भेला मार्फत विशेष तयारी गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको अभियानको टोलीलाई धुलिखेलमा बास राखेसँगै जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित मध्यपहाडी लोकमार्ग नजिकै विशेष जनसभा गर्ने एमाले काभ्रेले निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । ‘अभियानमा सहभागि हुने २ सय जनालाई धुलिखेलमा बास राखिनेछ’–एमाले अध्यक्ष अशोक ब्याञ्जुले भने–‘धुलिखेलबाट विशेष स्वागतका साथ पाँचखाल हुँदै मण्डनदेउपुर नगरपालिका पु¥याईनेछ । जहाँ एमालेले १५ हजार भन्दा धेरै जनताहरुको सहभागितामा जनसभा गर्नेछ ।’

विस्तारित भेलालाई एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले सम्बोधन गर्दै जनसभा भव्य बनाउन पार्टीका सबै जनवर्गिय संगठन र कमिटीहरू परिचालन गर्न निर्देशन दिए । ‘पार्टी संगठन जागरुक बनाउन, संगठन सुदृढीकरण गर्न अभियान महत्वपूर्ण छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भने–‘सम्वन्ध स्थानीय, सन्दर्भ राष्ट्रिय भन्ने अभियानको मर्मलाई सार्थक बनाउन सबै कमिटीहरू र नेता कार्यकर्ता परिचालन गरिनेछ ।’

एमालेको विस्तारित भेलाले सांसदहरुका लागि ३ महिनाको तलब, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई दुई महिना र एक महिनाको तलब अभियानका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्वागतद्वार, मञ्च तथा अन्य प्राविधिक तयारीका लागि विशेष तयारी गरिएको एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए ।

जनसभाका लागि एमाले काभ्रेले मातहतका कमिटीहरुलाई विशेष जिम्मेवारी सहितको तयारी गर्न निर्देशन दिएको छ । मण्डनदेउपुर नगर कमिटीले सोही सभाका लागि शुक्रबार विशेष भेला सहितको तयारी बैठक बोलाएको अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिए । बैतडीको झुलाघाटमा झण्डोत्लोन गरेर अभियानको शुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । झुलाघाट चिवाभञ्ज्याङ्ग समृद्धिका लागि सकल्प यात्राले सुखी नेपालीको परिकल्पना पुरा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्