३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव 



काठमाडौँ

सरकारी स्वास्थ्य संस्थाहरुमा मेडिकल शिक्षाको दायरा बढाउन नेपाल सरकारका सङ्घ तथा प्रदेशले सञ्चालन गरेका मापदण्ड पुरा गरेका १ सय देखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स विषय पढाउन  स्वास्थ्य मन्त्रालयले  चिकित्सा शिक्षा आयोगमा  प्रस्ताव लागेको छ।

 बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा  देशमा  स्वास्थ्यकर्मीको अभाव पूर्ति  गर्नको लागि मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरेर यस्तो प्रस्ताव लगेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले    जानकारी दिए ।

मंगलबार मन्त्रालयबाट उक्त प्रस्ताव अघि सार्दै ऐनले तोकेको मापदण्ड अनुसार अध्ययन अस्पतालहरूको राय मागिएको उनले बताए । उनले पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति रहेको र आवश्यक पूर्वाधार के कति पुग्दैन त्यो रायसँगै आउने र त्यसका लागि सरकारले आवश्यक तयारी गर्ने बताए।

स्वास्थ्यमन्त्री बस्नेतले  प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग यसबारे छलफल गरेको समेत  बताएका छन्।

यसैगरी ३ सय भन्दामाथि बेडका अस्पतालमा एमबीबीएस पढाउनका लागि पनि अनुमति दिने विषयमा  छलफल भइरहेको उनले बताए।

उनले आफ्नो यो कदमले नेपालमा  मेडिकल शिक्षामा परिवर्तन ल्याउने दाबी समेत गरे।

चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनको तयारी समेत भइरहेको उनले संकेत गरेका छन्। उनले  प्रधानमन्त्री, शिक्षा मन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष राखेर छलफल भइसकेको बताए।

यसैगरी स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारसँग भएको संरचना र जनशक्तिको उपयोग गर्न तथा भौतिक संरचना, गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जाने बताए।

प्रतिक्रिया दिनुहोस्