चाडवाडमा सवारी व्यवस्थापन : न्युरोडमा आउनेलाई धरहरा परिसरमा निःशुल्क पार्किङ



काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरू गरिएको हो ।

सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नं. वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले कामपा प्रहरी, स्थानीय र निजी सुरक्षागार्डको सहयोगमा पार्किङ खुला गरेको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘अहिले करिब डेढ महिनाको लागि निःशुल्क पार्किङ खुला गरेका छौं । त्यसपछि व्यवस्थापन गर्नसके सधैंको लागि पार्किङ खुला गराउनेछांै ।’ पार्किङ गर्न मिल्ने भएपछि सफाइ गरी सुरक्षाकर्मी परिचालन गरेर निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘आजबाट परीक्षणको रूपमा शुरू गरेका छौं । छठपछि थप व्यवस्थित गराउनेछौं ।’

धरहरामा दशैं तिहारलक्षित पार्किङ खुला
वडा कार्यालयको व्यवस्थापनमा पार्किङ खुला
न्युरोडको पार्किङ धरहरा र काठमाडौं मलमा
न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले करिब ३ सयको हाराहारीमा दुईपाङ्ग्रे र करिब १ सय ५० जति चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

यसैबीच कामपाले न्युरोड क्षेत्रको फुटपाथ क्षेत्र बढाएर सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको छ । न्युरोड वरपर रहेका खाली क्षेत्र, सपिङ मलको भूमिगत तला खाली गराई ती क्षेत्रमा पार्किङ व्यवस्थापन गरी न्युरोड क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कामपाको तयारी रहेको छ । त्यसको लागि महानगर प्रहरीले धरहरा, काठमाडौं मललगायतका क्षेत्र अवलोकन गरेको छ ।

कामपा प्रहरी प्रमुख पाण्डेले चाडवाड सकिएलगत्तै न्युरोड क्षेत्रलाई सवारीसाधनमुक्त क्षेत्र बनाउन लागिएको जानकारी दिँदै स्थानीयको सवारी साधनलाई पास वा अन्य विकल्प प्रयोग गरेर प्रवेश गर्न दिनेगरी तयारी भइरहेको जानकारी दिनुभयो । यस विषयमा वडा कार्यालयहरूसँग समन्वय भइरहेको बताउँदै उहाँले भन्नुभयो– ‘न्युरोड प्रवेश गर्ने सवारी साधनलाई नेपाली सेनाको महांकालस्थित व्यापारिक भवन, धरहरा र काठमाडौं मलमा पार्किङको व्यवस्था मिलाउँदैछौं, त्यसपछि न्युरोडलाई पार्किङ निषेध क्षेत्र घोषणा गर्नेछौं ।’ न्युरोड, असन, भोटाहिटी, हनुमानढोका दरबारक्षेत्र, मखनलगायतका क्षेत्रको संस्कृति जोगाउन र ती क्षेत्रको पहिचान कायम राख्न न्युरोड क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउन लागिएको कामपाको भनाइ छ ।

वडा नं २२ का अध्यक्ष महर्जनले पनि सो विषयमा स्थानीय जनता, क्लब, व्यापारिक निकायलगायतसँग कुराकानी भइरहेको बताउनुभयो । सबै सडकको पार्किङ खाली गरेको कापमाको आफ्नो एउटा पनि निःशुल्क पार्किङ छैन । कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्