उद्धारमा ढिलाइ- बंकरमा रहेका नेपाली विद्यार्थी त्रसित

भन्छन् : ‘सरकार बिन्ती छ, हामीलाई चाँडै नेपाल लगियोस्’



डोटी । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एन्ड लर्न कार्यक्रम’ मार्फत् इजरायल पुगेका विद्यार्थीहरूले इजरायलबाट आफूहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘अर्न एन्ड लर्न कार्यक्रम’मार्फत् इजरायल पुगेका निश्चल पाण्डेले बंकरमा पनि सोचेजस्तै बस्नलाई सहज नभएको बताउनुभएको छ । उहाँका अनुसार सातो जानेगरी साइरनको ठूलो आवाज र आकाशमा निरन्तर उडिरहेका हेलिकोप्टर र फाइटर जेटको आवाजले बंकरमा बस्नेहरूको सातो लिने गरेको छ ।

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुगेका पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले छोरासँग सम्पर्क भइरहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो –‘त्यहाँ रहेका विद्यार्थीहरूले निकै असुरक्षित महसुस गरिरहेका छन् । उहाँहरू अझै पनि बंकरमा बसेर जीवन जोगाइराख्नुभएको छ । बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोराले भनिरहन्छ । छोराका अनुसार सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन् । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहन्छौँ । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस् ।’

इजारायलको गाजा क्षेत्रमा प्यालेस्टिनी विद्रोहीहरूले शनिबारदेखि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाइसएका छन् । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय अहिले शोकमा परेको छ । घटनाले विद्यार्थीहरू हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बनेका छन् । क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेका अनुसार क्याम्पसको सबै पठनपाठन बन्द भएको छ भने आन्तरिक परीक्षा स्थगित भएको छ ।

सोही विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको टिप्पणी गर्दै सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताउनुभयो । उहाँले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचार गर्ने र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गर्नुभयो ।

कृषि विज्ञान संकायको दोस्रो वर्षमा अध्ययनरत् सुन्दर विश्वकर्मा थापाले पहिलो ब्याचका विद्यार्थीहरूको इजरायलमा दुःखद् मृत्युले आफूले बोकेको सपनामा पूर्णविराम लागेको बताउनुभयो । उहाँले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमेस्टरका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये १० जना छात्रा छन् । उनीहरू १० महिनाका लागि इजरायल गएका थिए । ‘लर्न एन्ड अर्न कार्यक्रम’ अन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्नेगरी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू पहिलोपटक इजरायल गएका हुन् ।

यसैबीच इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीहरूले उद्धारमा ढिलाई भएको भन्दै सरकारप्रति रोष व्यक्त गरेका छन् ।

सँगै पढ्ने साथीको मृत्यु भएपछि अन्य नेपाली विद्यार्थीहरू आतंकित अवस्थामा छन् । उद्धार नहुँदा आफूहरू विक्षिप्त अवस्थामा पुगेको उनीहरूको गुनासो छ । गत ३ दिनदेखि गाजा नजिकै बंकरमा बसिरहेका विद्यार्थीले इजरायलस्थित नेपाली दूतावासले उद्धारको लागि कुनै पहल नगरेको भन्दै आक्रोश पोखेका छन् । यद्यपि, इजरायली सेनाले नेपालका अलपत्र विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजाने काम गरिरहेको जनाइएको छ । इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगे पनि नेपाल सरकारले उद्धार गरेर छिटोभन्दा छिटो नेपालमा नै लैजानुपर्ने माग उनीहरूको छ ।

बंकरमा रहेका विद्यार्थीहरूले सोमबार सामाजिक सञ्जालमार्फत् आफूहरूको तत्काल उद्धार गर्न नेपाल सरकारसँग याचना गरेका थिए । उनीहरूले आफूहरूसँगै रहेका अन्य देशका साथीहरूको उद्धार भइसक्दा पनि नेपाल सरकारले आफूहरूको उद्धार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल लेखेका छन्– ‘सरकार हामीलाई कहिले उद्धार हुन्छ, हामीले तीन दिनदेखि खान पाएका छैनौं, भोक प्यासभन्दा पनि हामीलाई चाँडै उद्धार होस् भन्ने कामना छ । बिन्ती छ हामीलाई चाँडै नेपाल लगियोस् ।’

सोमबार साझसम्म बंकरमै रहेका दाङका विपिन सुवेदीले नेपाल सरकारले उद्धारको लागि पहल गरेको बताए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले आश्वासनभन्दा पनि आफूहरूको छिटो उद्धार हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्