इन्द्रको मात्रै जात्रा होइन इन्द्रजात्रा

5.3k
Shares

काठमाडौंमा इन्द्रजात्रा शुरु भएपछि योसँग जोडिएको एउटा कथा पनि सुन्नमा आइहाल्छ । स्वर्गका राजा देवराजा इन्द्र आफ्नी आमाको लागि फूल लिन काठमाडौं आएको, फूल टिपिरहँदा उनलाई स्थानीय जनताले समातेको, हात बाँधेर राखेको, पछि छुटाएर लगेको । इन्द्रजात्राबारे काठमाडौंमा प्रचलित यो कथा वेद र पुराणहरूमा सुन्न पाइँदैन । यो काठमाडौंको आफ्नै मौलिक कथा हो जसले इन्द्रजात्रालाई यो शहरको रैथाने पर्व मान्न सहयोग गर्दछ ।
लेखक

यो कथामा घोत्लिनुपर्ने एउटा विषय अर्को पनि छ, त्यो के हो भने काठमाडौंमा प्रचलित इन्द्रजात्राको यो कथामा पुराणहरूमा भनिए जस्तो इन्द्रध्वज अर्थात् लिङ्गो उठाउने प्रसंड्ड उल्लेख गरिएको छैन । अर्कोतिर इन्द्रजात्राताका हनुमानढोकामा उठाइने इन्द्रध्वजबारे हामीसँग स्पष्ट इतिहास पनि छैन । हनुमानढोकामा इन्द्रध्वज उठाउने चलन श्री ५ प्रताप सिंह शाहको पालादेखि मात्रै शुरु भएको मानिन्छ । त्यो भन्दा अघि काठमाडौंको अट्कोनारायण मन्दिर सँगै एउटा सानो आकारको लिङ्गो उठाउने गरिन्थ्यो । काठमाडौंमा इन्द्रजात्राकै बेला मात्र लिङ्गो उठाउने गरिँदैन । पाहाँचःह्रे पर्वका बेला पनि इन्द्रचोक, कंकेश्वरी आदि विभिन्न ठाउँमा लिङ्गो उठाउने गरिन्छ । त्यसलाई पनियःसिं वा इन्द्रध्वज नै भनिन्छ । भक्तपुरमा बिस्केट जात्रामा उठाइने लिङ्गोलाई संस्कृतमा विश्वध्वज भनिए पनि नेपाल भाषामा ‘यःसिं’ नै भन्ने गरिन्छ भने कतै कतै यसलाई पनि इन्द्रध्वज नै भनिएको पनि पाइन्छ । त्यसैले काठमाडौंमा मनाइने इन्द्रजात्रा यहाँ उल्लेख गरिएको मौलिक किंवदन्ती जस्तै नै मौलिक छ ।

किंवदन्ती संक्षिप्त भए पनि काठमाडौंमा मनाइने इन्द्रजात्राको यथार्थ आकार भने यो भन्दा विस्तृत छ । अहिले हनुमानढोका अगाडि इन्द्रध्वजारोहण (यःसिं थनेगु) पछि इन्द्रजात्रापर्व शुरु हुन्छ । इन्द्रजात्राको अवधिभरि लाखे, सवःभकु (होल्चोक आकाश भैरव), दीप्याखं, महाकाली प्याखं जस्ता देवीदेवताका नाचहरू प्रदर्शन गरिन्छ । यी नाचहरू प्रदर्शन हुँदा बजाइने फरक–फरक बाजा र धुनहरूले काठमाडौंको वातावरणलाई अत्यन्त उल्लासमय बनाइदिएको हुन्छ । इन्द्रचोकमा आकाश भैरव, बाकादे आजुको सार्वजनिक प्रदर्शन हुन्छ, हनुमानढोकामा श्वेत भैरव (हाथुद्यः) को मुखबाट पाइप राखी जाँड झारिन्छ भने कुमारी घर अगाडि दश अवतार प्रदर्शन गरिन्छ । जीवित देवीश्री कुमारी र देवताहरू श्री गणेश र श्री भैरवको रथयात्रा विश्वमै दुर्लभ जात्रा हो, जुन अहिले इन्द्रजात्राकै पर्याय जस्तो बनिसकेको छ । पुराणहरूमा राजा महाराजाले इन्द्रध्वजलाई पूजा र हवन गर्ने लेखिएको छ । तर, काठमाडौंमा राजा (अहिले राष्ट्रपति) इन्द्रध्वजमा जाँदैनन्, कुमारी रथयात्रामा मात्र सरिक हुन्छन् । यही जात्राका बेला स्थानीय मानिसहरू आफ्ना दिवंगत आफन्तका नाममा उपाकु जाने (देश घुम्ने), समयःबजि खाने र बाँड्ने, दलुमत (बत्ती) पूजा गर्ने जस्ता कार्यहरू पनि सम्पन्न गर्छन् । यी सबै सांस्कृतिक कार्यहरूले गर्दा इन्द्रजात्राको आयोजना अत्यन्त भव्य हुनपुगेको देखिन्छ ।
तसर्थ, काठमाडौंमा मनाइने इन्द्रजात्रा केवल इन्द्रकै मात्र जात्रा नभएको पुष्टि हुन्छ । विभिन्न देवदेवीहरूको नाममा आयोजना गरिने विविध प्रकारका जात्राएवं पर्वहरूको सामूहिक नाम नै इन्द्रजात्रा हो । इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धर इन्द्रजात्रालाई विभिन्न संस्कृतिहरूको संगम मान्नुहुन्छ । विभिन्न जात्रा, पर्व र संस्कृतिहरूलाई इन्द्रजात्रामा एकीकृत रूपले मनाउने गरिन्छ ।
इन्द्रजात्रामा मनाइने यी पर्वहरूमध्ये केही पर्व यस्ता पनि छन् जसको इन्द्रसँग कुनै सम्बन्ध नै छैन । जस्तो कि लाखे, आकाश भैरव, श्वेत भैरव, दश अवतार, बौमत, यहाँसम्म कि श्री कुमारीको रथयात्राको समेत इन्द्र र इन्द्रजात्रासँगकुनै सम्बन्ध छैन । संस्कृतिविद् तीर्थलाल नःघः भनी (राजभण्डारी) ले कुमारी रथयात्रासम्बन्धी आफ्नो एउटा लेखमा कुमारी रथयात्रा र इन्द्रजात्राबीच एक आपसमा कुनै सम्बन्ध नभएको दाबी गर्नुभएको छ । उहाँका अनुसार यी दुवै छुट्टाछुट्टै जात्रा हुन् जुन ‘संयोगवस’ एउटै समयमा मनाउने गरिन्छ ।
नेपाल विषय अध्ययन गर्नुभएका फ्रान्सेली अन्वेषक जेराँतोफाँले पनि इन्द्रजात्रालाई इन्द्रको मात्र जात्रा मान्नुभएको छैन । उहाँले इन्द्रजात्रासम्बन्धी आफ्नो अनुसन्धानमूलक लेखमा ‘इन्द्र, भैरव र कुमारीको तीन पक्षीय जात्रा नै इन्द्रजात्रा हो’ भनेर लेख्नुभएको छ ।
इन्द्रजात्रामा आयोजना गरिने यी पर्वहरू सबै एकैपटक अस्तित्वमा आएका होइनन् । इतिहासको विभिन्न कालखण्डमा तत्कालीन शासकहरूले इन्द्रजात्रामा विभिन्न पर्वहरू थप्दै लगेको देखिन्छ । कुमारीको रथयात्रा अन्तिम मल्ल राजा जयप्रकाश मल्लले इन्द्रजात्राकै बेला चलाएको स्पष्ट इतिहास छ । त्यसपछि शाह राजाप्रतापसिंह शाहको पालामा इन्द्रध्वजोत्थान कार्यलाई व्यवस्थित गरिएको, रणबहादुर शाहको पालामाश्वेत भैरव स्थापना गरी जाँड अर्पण गर्न थालिएको आदि विवरणहरू पनि इतिहासमा पाइन्छन् । इन्द्रजात्रा नेपाली समाजको एक अत्यन्त भव्य पर्व भएको कारणले नै विभिन्न कालखण्डका शासकहरूले यसै जात्राका अवसरमा अरु पर्वहरू पनि थपेर यसलाई अझ जीवन्त बनाएको अनुमान गर्न सकिन्छ ।
इन्द्रजात्रामा विभिन्न नाच एवं पर्वहरू थपिँदै आएको मात्र होइन, पहिले प्रचलनमा रहेका कतिपय नाचहरू हराउँदै गएका पनि छन् । आजभन्दा ३० वर्ष जति अघि इन्द्रजात्राका बेला काठमाडौंको टोल टोलमा डबली बनाएर ‘दबू प्यांख’प्रदर्शन गरिन्थ्यो । त्यो अहिले लोप भइसकेको छ । त्योभन्दा पछि इन्द्रजात्राकै अवसरमा काठमाडौं ज्याठा टोलका स्थानीय कुम्हाले महर्जनहरूले ‘खःप्याखं’ प्रदर्शन गर्दथे । अहिले त्यो पनि लोप भइसकेको छ । त्यस्तै, यँयाःपुन्हि (पूर्णिमा) का दिन ‘ला छकू वयेक समय्बजि, वलवल पुलुकिसि’भन्दै घरघरै गएर समय्बजि माग्ने चलन पनि थियो । त्यो चलन अहिले विरलै मात्र देख्न पाइन्छ ।
केही चलन भने हालसालै मात्र थपिँदै आइरहेको पनि देखिन्छ । इन्द्रजात्राको पहिलो दिन अर्थात यःसिं उठाएकै दिन उपाकु परिक्रमा गर्न जाँदा जति पनि ठाउँमा जाने हो ती सबै ठाउँमा विद्यमान मन्दिर सामुन्ने अहिले समयद्वं राख्ने चलन केही समय अघिदेखि चलिआएको देखिन्छ । यस्तो समय्द्वँ पहिले एकाध ठाउँमा, त्यो पनि विशेषगरी गणेश र भैरव मन्दिर अगाडि मात्रै राख्ने गरिन्थ्यो । अहिले चीभाः (चैत्य) को अगाडिसमेत राखेको पाइन्छ । गत वर्ष कुल ५४ ठाउँमा त्यस्तो समय्द्वँ राखिएको थियो ।
इन्द्र देवताका बारे सबैभन्दा बढी चर्चा गरिएको ग्रन्थ अथर्ववेद हो । त्यसपछि हिन्दू धर्मका ग्रन्थहरू पुराण, संहिता, रामायण, महाभारत आदिमा इन्द्र र इन्द्रजात्रा दुवैका बारे उल्लेख गरिएको पाइन्छ । यी सबै ग्रन्थहरू हिन्दू धर्मसँग सम्बन्धित छन् । तर, अनौठो के छ त भन्दा अहिले काठमाडौंमा जुन इन्द्रजात्रा धुमधामपूर्वक मनाइन्छ त्यसका सबै प्रक्रियाहरू भने बौद्ध धर्मसँग निकट भएको देखिन्छ । विशेषगरी काठमाडौंको नेवार समाजमा बौद्ध धर्म अंगीकार गर्ने विभिन्न जातीय समुदायहरूले नै इन्द्रजात्राको अधिकांश अभिभारा वहन गर्दै आइरहेको देखिन्छ । हनुमानढोकामा इन्द्रध्वज (यःसिं) उठाउने काम स्थानीय मानन्धर समुदायले गर्छन् भने मरु टोलमा इन्द्रको मूर्ति स्थापना गर्ने काम मरु टोलकै किसान (ज्यापु) समुदायले गर्ने गर्छन् । यी दुवै बौद्ध धर्मावलम्बी हुन् । इन्द्रजात्राको पहिलो दिन दिवंगत आफन्तका नाममा उपाकु वनेगु (देश घुम्ने) कार्यमा पनि विशेष गरी बौद्ध समुदायकै नेवारहरू बढी सहभागी हुने गर्छन् ।
त्यसो त काठमाडौंमा दिवंगत आफन्तका नाममा देश घुम्ने कार्य गाईजात्राका बेलामा पनि गर्ने चलन छ । गाईजात्रामा पनि दिवंगत आफन्तका नाममा शहरको क्वःने र थःने (तल्लो र माथिल्लो) क्षेत्र नै परिक्रमा गरिन्छ । तर गाईजात्रामा त्यसरी गरिने परिक्रमामा हिन्दू नेवारहरू (ज्यापु समुदायबाहेक) बढी सहभागी हुने गर्छन् । इन्द्रजात्रामा दिवंगतकै नाममा गरिने उपाकुमा भने बौद्ध नेवारहरू मात्र सहभागी हुने गर्छन् । तथापि, अहिले भने गाईजात्रामा बौद्ध नेवारहरू पनि सहभागी हुने र उपाकुमा हिन्दू नेवारहरू पनि सहभागी हुने क्रम बढ्दै गइरहेको देखिन्छ । यसलाई नेवार समाजमा विकसित हुँदै आएको धार्मिक–सांस्कृतिक समन्वय भन्न सकिन्छ । तर, उपाकुमा हिन्दू नेवारहरू सहभागी भए पनि हिन्दू धर्म मान्ने गैर नेवारहरूले भने भाग लिएको देखिँदैन ।
इन्द्रजात्राकै बेला रथयात्रा चलाइने श्री कुमारी काठमाडौंका बौद्ध शाक्यवंशीय कुलपुत्रीहरूबाट छानिएर प्रतिष्ठापन गर्ने परम्परा छ । श्री कुमारीको रथयात्रा गरिँदा रथको अघिअघि पञ्चबुद्धका प्रतीकका रूपमा बज्राचार्य गुर्जुहरू पनि सहभागी भएका हुन्छन् । इन्द्रजात्रामा आयोजना गरिने जात्राहरूमध्ये दश अवतारबाहेक अरु सबैको अभिभारा नेवाः समुदायका बौद्धहरूद्वारा नै वहन गर्दै आइरहेको पाइन्छ ।