प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थनको खोजी



काठमाडौं । चीनको हाङजाओबाट राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन खोज्नुभएको छ । उहाँले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन एकपटक फेरि अन्तर्राष्ट्रिय समुदायको सहयोग समर्थन आवश्यक रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको सहयोग खोज्नुभएको हो ।

हाङजाओबाट आइतबार बेइजिङ पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उहाँको स्वागतमा नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– ‘शान्ति प्रक्रिया शुरू गर्दा पनि अन्तर्राष्ट्रिय समुदायको समर्थन थियो । अब सत्य निरूपण र बेपत्तासँग सम्बन्धित केही कुरा मात्र बाँकी छ, त्यसमा पनि अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन चाहिन्छ ।’ उहाँले यो विषयलाई आफूले संयुक्त राष्ट्रसंघको महासभामा पनि उठाएको जानकारी दिँदै नेपालको शान्ति प्रक्रिया मौलिक रहेको र यसलाई विश्वमा उदाहरणीय बनाउनुपर्ने बताउनुभयो ।

उहाँले यो भ्रमणबाट नेपालको कृषि क्षेत्रमा पनि सम्झनलायक उपलब्धि हुने दाबी गर्नुभयो । यद्यपि, उहाँले त्यो उपलब्धि कस्तो हुने भन्ने बारेमा भने खुलाउनुभएन । प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ समकक्षी लि क्वाङसँगको भेटवार्तापछि चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने र चीनको आधुनिक खेती प्रणालीको बारेमा जानकारी लिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा उहाँले प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो चीन भ्रमणको स्मरण गर्दै भन्नुभयो– ‘पहिला बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिएको थिएँ, अहिले एसियाली गेमको उद्घाटनमा सहभागी हुन पाएँ ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले बेइजिङमै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल चाइना बिजनेस फोरमलाई सम्बोधन गर्दै अब नेपाललाई गरिब रहने छुट नभएको बताउनुभएको थियो । उहाँले सरकार एक्लैको पहलले समृद्धिलाई गति दिन नसक्ने टिप्पणी गर्दै देशभित्रको साथसाथै देश बाहिरको निजी क्षेत्रसँग पनि सहकार्य भइरहेको र वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले नीतिगत र कानुनी जटिलतालाई सहजीकरण गरेको बताउनुभएको थियो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले शनिबार हाङजाओमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा द्विपक्षीय हितका साथै विविध विषयमा खुला र स्पष्ट छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उक्त भेटवार्तामा दुवै पक्षका प्रतिनिधि मण्डलको पनि सहभागिता रहेको थियो । उक्त भेटवार्तामा दुवै शीर्ष नेताले यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति जनाएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलसहित गरेर भएको करिब एक घण्टा लामो वार्तामा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदभावबिना घनिष्ट सम्बन्ध अघि बढाएको भन्दै दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्