कर्मचारीसँग बयान लिने तयारी



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने भएको छ ।

तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिट्र्टै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ ।

बयानमा बोलाउने तयारी गरिएकाहरू :
१. झलकराम अधिकारी –तत्कालीन महानिर्देशक अध्यागमन विभाग
२. सन्तोष चन्द – भन्सार अधिकृत
३. कुमार ढकाल – खरिदार
४. सन्तोष श्रेष्ठ – एक्सरेका कर्मचारी
५. रेवन्त खड्का – नायब सुब्बा

साथै, यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन जारी रहेको र उनीहरूलाई छिटै बयानमा बोलाइने अख्तियार स्रोतले जानकारी दिएको छ ।

यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन गर्दै आइरहेको छ । स्रोतका अनुसार अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीले सुन तस्कर दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक कनेक्सनका बारेमा समेत गहिरो गरी छानबिन गरिरहेको छ । दावा र अधिकारीबीच पटक पटक विच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको प्रमाण सीआईबीले फेला पारे पनि अधिकारीमाथि राजनीतिक पहुँचका कारण मुद्दा दायर हुन सकेको थिएन ।

अख्तियार स्रोतका अनुसार अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीको पोखराका विभिन्न होटलमा लगानी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकारीको अन्य ठाउँमा भएका लगानीका बारेमा पनि खोजी गरिरहेका छांै, केही विषयहरू पहिचान भइसकेकाले अब छिट्टै बयानमा बोलाउने छौं’ –अख्तियार स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पतिका बारेमा समेत अनुसन्धान गरिरहेको जनाइएको छ । भन्सारमा कार्यरत अधिकृत र अन्य कर्मचारीहरूको पनि अकुत सम्पति रहेका विभिन्न प्रमाणहरू फेला परेको बताइएको छ । अख्तियारले उनीहरूको अकुत सम्पतिका बारेमा समेत गहिरो अनुसन्धान जारी राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्