शिक्षा विधेयक सकभर सहमतिमा नभए नियमित प्रक्रियाबाट अघि बढ्छ : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सकभर सहमतिको आधारमा नभए नियमित प्रक्रियाबाट अघि बढाइने बताएका छन् ।

आज (आइतबार) बिहान आयरल्यान्डको भ्रमण सकाएर स्वदेश फर्किए घिमिरेले यस्तो बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संवादमा उनले सम्भव भए सहमतिका आधारमा नभए प्रक्रियाबाटै अघि बढाइने बताए ।

सभामुखले भने– ‘विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ । विधेयकलाई छलफल गर्ने, बहस गर्ने सहमति खोज्ने विषयलाई सहमति गरेर टुंगो लगाउने सहमति नभएका कुराहरूलाई प्रक्रियाबाट टुंगो लगाउने भूमिका रहन्छ ।’

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेका थिए । गत शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुदे सहमति भएको छ ।

सहमति भएसँगै आन्दोलित शिक्षकरूले आन्दोलन फिर्ता लिएका छन् भने राहत शिक्षक आन्दोलनमै छन् ।

प्रतिक्रिया दिनुहोस्