प्रेस स्वतन्त्रताबिना लोकतन्त्र फस्टाउन सक्दैन : राष्ट्रपति

सम्पादक पण्डित काउन्सिलद्वारा पुरस्कृत



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन सके मात्रै लोकतान्त्रिक शासन व्यवस्था फस्टाउन सक्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको काउन्सिलको ५४औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै राष्ट्रपति पौडेलले कुनै पनि देशमा त्यो देशको प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्र कुन अवस्थामा छ भन्ने कुराको निक्र्यौल हुने बताउनुभयो । प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने ठोकुवा गर्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गर्ने मुलुकहरूले प्रेस स्वतन्त्रताको गहिरो हेक्का राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन व्यवस्था नभए प्रेस पनि अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनको सफलतापछि नेपालमा सबैभन्दा बढी विकसित भएको क्षेत्र नै प्रेस जगत रहेको र त्यसयता नै नेपालमा मिडिया क्रान्ति भएको बताउनुभयो । राष्ट्रपति पौडेलले प्रेस काउन्सिल एउटा इतिहास बोकेको गौरवशाली संगठन भएकाले यसको गरिमा बढाउन सरोकारवाला पक्ष संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले आफू पनि कुनै बेला सामान्य पत्रकार रहेको स्मरण गर्दै पञ्चायतकालमा नेपाली प्रेसले विभिन्न संकट र समस्याहरू व्यहोर्न परे पनि नेपाली प्रेस कहिल्यै पनि विचलित नभएको भन्दै प्रेस जगतको प्रशंसा गर्नुभयो । पछिल्लो समय मिडिया क्षेत्रमा केही विकृतिहरू देखिएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले मिडियाले आफूलाई जिम्मेवार र उत्तरदायीपूर्ण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पौडेलले मिडिया क्षेत्रलाई जिम्मेवार र इमान्दार बनाउन प्रेस काउन्सिलको महत्वपूर्ण भूमिका रहने भएकाले काउन्सिलले सो भूमिकालाई सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निष्पक्ष पत्रकारिताले मात्रै प्रेस जगतको गरिमा उँचो हुन सक्ने र लोकतन्त्रको विकल्प भनेकै समुन्नत लोकतन्त्र भएको जिकिर गर्दै सञ्चार जगत र राजनीतिक नेतृत्व हातेमालो गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आम सञ्चार क्षेत्रलाई जिम्मेवार र इमान्दार बनाउन प्रेस काउन्सिल नयाँ सोच र रणनीतिका साथ अघि बढिरहेको बताउँदै आचारसंहिता पालनामा कडाई गर्दै प्रेस जगतलाई थप जिम्मेवार र मर्यादित बनाउन प्रेस काउन्सिलले कुनै कसर बाँकी नराखिएको स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अहिले राज्यको सबै संयन्त्र कमजोर भइरहेकाले प्रेस जगतले सचेततापूर्वक खबरदारी गर्दै राज्यका संयन्त्रहरूलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मुलुकमा सरकार नभएको जस्तो अवस्था देखिनु दुःखद् भएको बताउँदै राजनीतिक नेतृत्व र सरकारमा रहनेहरूले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा काउन्सिलले विभिन्न अग्रजहरूलाई सम्मान र सञ्चारकर्मीहरूलाई पुरस्कृत गरेको थियो ।

सम्मानित हुनेहरूमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्र जङ्ग पिटर, केदार भट्टराई, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रवीन्द्र घिमिरे, कृष्ण अधिकारी, उदय जीएम र राजकुमार कार्की रहनुभएको छ ।

त्यसै गरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक र माधवसिंह धामीलाई प्रदान गरियो ।

कार्यक्रममा प्रेस काउन्सिल युवा पत्रकारिता, महिला सशक्तीकरण पत्रकारिता, प्रेस काउन्सिल समावेशी पत्रकारिता, प्रेस काउन्सिल विधागत पत्रकारिता गरी विभिन्न विधामा विभिन्न पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

सम्पादक पण्डित काउन्सिलद्वारा पुरस्कृत

प्रेस काउन्सिल नेपालले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलगायत विभिन्न सञ्चारकर्मीलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी विधामा पुरस्कृत गरेको छ ।

काउन्सिलद्वारा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सम्पादक पण्डितलाई पुरस्कृत गरिएको हो । मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा पत्रकारितामार्फत् निरन्तर खबरदारी गर्दै आइरहेको र राजनीतिक तथा प्रशासनिक विकृतिबारेमा उजागर गर्दै आइरहेकाले सशक्त पत्रकारिता विधामा पुरस्कृत गरिएको काउन्सिलले जनाएको छ ।

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो भने प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्