चीन पुगे प्रधानमन्त्री प्रचण्ड, हाङ्जाओ विमानस्थलमा भव्य स्वागत



काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डलाई चीनमा भव्य स्वागत गरिएको छ। नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पहिलोपटक ‍चिनियाँ उप्रधानमन्त्री नै विमानस्थलमा आएका छन्।

शनिबार बिहान हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ आफैँ विमानस्थल आएका हुन्। उनी अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन्।

अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीनको हाङ्जाओ आइपुगेका हुन्। आजै राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसँग लन्च मिटिङ गर्ने कार्यक्रम छ।

जसका लागि प्रचण्ड आफू बसेको रिसोर्टबाट सिहु होटलमा जानेछन्, जहाँ उनलाई चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवा भोजसहित स्वागत गर्ने तयारी छ।

सीसँग करिब एक घण्टा लन्च मिटिङपछि प्रचण्ड फेरि रिसोर्टमै फर्कने छन्। रिसोर्टबाट ४ बजेर २० मिनेटमा प्रचण्ड फेरि राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका लागि उनी बसेको होटल सिहु जानेछन्। प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार भ्रमण तालिकामा यो भेटवार्ता ३० मिनेटको राखिएको भए पनि लम्बिन सक्ने भएकाले त्यसपछिको केही समय खाली राखिएको छ। बेइजिङमा थप दुई वटा महत्त्वपूर्ण भेटवार्ता भए पनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्नेछ। हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ।

चीनले नेपालसँग भएको बीआरआई सम्झौता कार्यान्वयन सम्झौताको मस्यौदा प्रस्ताव गरे पनि नेपालले यसमा जवाफ दिएको छैन। यस विषयमा प्रचण्ड र सीबीच छलफल हुनेछ तर सम्झौता हुने नहुने प्रधानमन्त्री प्रचण्डको निर्णयमा भर पर्नेछ।

प्रतिक्रिया दिनुहोस्