शैलुङको सौन्दर्य



दोलखा । सयवटा थुम्बा अर्थात् शैलुङ । हिन्दु र बुद्ध धर्मको संगमथलोसमेत मानिने शैलुङ तमाङ भाषाबाट राखिएको नाम हो । तमाङ भाषामा शै– सय र लुङ– थुम्का हो । यसैबाट शैलुङ अर्थात् सयवटा थुम्बा भएको डाँडा भनियो ।

तीन हजार एक सय ४८ मिटर उचाईमा रहेको यो ठाउँबाट दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका धेरै हिमश्रृङ्खला तथा काठमाडौं उपत्यका र चुरे पहाडसमेत देख्न सकिन्छ । शैलुङलाई प्रकृति, अध्यात्मक र संस्कृतिको त्रिवेणीधामसमेत भनिन्छ ।

दोलखाको शैलुङ गाउँपालिका– ८ र रामेछापको केही भू–भाग रहेको शैलुङमा एक सयवटा थुम्काको अलवा शैलुङ्गेश्वर महादेवको मन्दिर, प्रत्येक १२ वर्षमा गोदावरी फुल्ने गुफा, गुफाभित्र रहेको धर्म ढोका, सबैभन्दा अग्लो थुम्कामा रहेको गुम्बा, बाघ, गाई, गँगटा आकारका ढुङ्गा र दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरबाट उडेर आएको डाँफे बसेको ढुङ्गा रहेको ठाउँ मुख्य पर्यटकीय आकर्षणका केन्द्र मानिन्छ ।

शैलुङमा रहेको महादेव मन्दिरमा प्रत्येक वर्षको जनैपूर्णिमा र बालाचतुर्दशीमा ठूलो मेरा लाग्ने गरेको छ भने प्रत्येक १२ वर्षमा गोदावरी फुल्ने बेला गुफा माथिबाट चुहिने सेतो दूध जस्तो पदार्थ (गोदावरी)मा नुहाएर छाला सम्बन्धी रोगको उपचार गर्ने मानिसको भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।

पहयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङमायाको किम्बदन्तीअनुसार गुरु पद्यसम्भवले नेपालको उच्च तथा हिमाली श्रृङ्खलाको साथै तिब्बतका वोत (झाँक्री) धर्म गुरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए ।

त्यसपछि त्यहाँ बस्ने क्रममा धर्मचक्र राजाकी छोरीसँग विवाह गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरूसमेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउँदा मानेश्वर ल्हो (माने) शैलुङ बसेको विश्वाससमेत गरीन्छ ।

अर्को किम्वदन्ती अनुसार शैलुङमा रहेको एक सयवटा थुम्काको प्रत्येक थुम्कामा कुनै समय ऋषीहरूले तपस्या गरेका थिए । त्यसैले पनि शैलुङलाई हिन्दु र बुद्ध धर्माम्बलम्बीहरूले मुख्य आस्थाको केन्द्र मान्दै आएका छन् ।

शैलुङको थुम्काहरूमा फलाम, तामा जस्ता खनिज पदार्थ रहेको विश्वाससमेत गरिन्छ । शैलुङको मनगाउँ, झोर, दाङ, खोरुण्डे, पाँडेखानी, झाप, पैती, ढुङ्गे, कालापानी, खोलाखर्कलगायतका गाउँमा आलु, काउली, बन्दाजस्ता कृषि उत्पादनसमेत हुने भएकोले पर्यटकहरूले कृषि उत्पादनको अवलोकन गर्न सक्छन् ।

असार, साउनबाट भदौ अन्तिमसम्म शैलुङको थुम्कामा चौरी तथा भेडा गोठले आकर्षण दिन्छ भने मंसिर अन्तिमदेखि चैत्रसम्म हिमपात हुने भएकोले शैलुङको थुम्काहरू सेताम्य हुने गर्छन् ।

शैलुङको धार्मिक एवं पर्यटकी महत्वलाई प्रचार तथा प्रवद्धन गर्दै अधिक पर्यटक भित्राउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका समाजसेवी शोभित उप्रेती, कांग्रेस नेता ताराबहादुर कोईराला, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल, वर्तमान अध्यक्ष रिमालबाबु श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर तमाङ, पूर्व अध्यक्ष रामेश्वर उप्रेती, प्रवीण थपलिया, नवराज खड्कालगायत सक्रियता पूर्वक अभियानमा लागेका छन् ।

काठमाडौंबाट सिन्धुपाल्चोकको मूडेहुँदै एक सय २५ किलोमिटरको दूरी पार गरी कालापानी हुँदै शैलुङ पुग्न सकिन्छ । त्यसैगरी दोलखाको सदरमुकाम चरिकोटबाट महाङ्काल मन्दिर, सेराबेसी, चरङ्गे– फस्कु हुँदै करिब ५० किलोमिटर दूरी पार गरी कालापानी हुँदै शैलुङ पुग्न सकिन्छ । रामेछापबाट सितली हुँदै खोलाखर्कतर्फबाट पनि शैलुङ पुग्न सकिन्छ ।

यातायातको साधनमार्फत खोलाखर्क र कालापानी पुगेपछि करिब ३० देखि ४५ मिनेटको पैदल यात्राबाट शैलुङको थुम्काहरूमा पुग्न सकिन्छ । कालापानीबाट शैलुङको थुम्का पुग्न दोलखाको शैलुङ गाउँपालिकाले मिनि ग्रेटवाल निर्माण गरेकोले पर्यटकहरूलाई थप आकर्षण गरेको छ ।

अहिले दोलखाको कालापानी र रामेछापको खोलाखर्कमा पर्यटकहरूलाई आवास र खानाको राम्रो व्यवस्था भएकोले सहज भएको छ ।

शैलुङको धार्मिक एवं पर्यटकीय महत्वलाई आत्मसाथ गर्दै स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्र्तगत शैलुङको चुचुरामा वाईल्ड स्टे विथ चौरी कार्यक्रम गर्दैछ ।

असोज ११ देखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा कलाकार, बुद्धिजीवी, लेखक, पाईलट, समाजसेवी, राजनीतिज्ञ, पत्रकार, व्यवसायीलगायतको सहभागिता रहने आयोजकले जनाएका छन् । कार्यक्रममा चौरीको गतिविधि नियाल्दै सांस्कृतिक कार्यक्रममा रमाएर स्थानीय रैथाने खानाको स्वाद लिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्