सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सूची प्रकाशित



काठमाडाैं ।

सशस्त्र प्रहरी मुख्यालयले २०८१ सालमा गुल्म कमाण्ड गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको पुर्वानुमान सूची प्रकाशित गरेको छ ।

मंगलबार सबै युनिटललाई पठाइएको सूची अनुसार समान अवसर प्रदान गर्ने नीति संगठनले लिए बमोजिम सशस्त्र प्रहरी बल नेपालका अनाश्रित तथा आश्रित गुल्म कमाण्डमा ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा गरी जम्मा ६० जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको नामावली प्रकाशित गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय जेष्ठताको आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका नायव उपरीक्षकहरुको पूर्वानुमान सूची तयार गरिएको हुँदा संगठनले तर्जुमा गरेका नीतिलाई सबैले आत्मासाथ गरी प्राप्त जिम्मेवारीलाई ईमान्दारी पूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयले विश्वास लिएकाे छ ।

एफपीयु मिशन, अनपोल मिशन, प्रोफेसनल लेभलको यूएन मिशन र १ वर्ष भन्दा बढी अवधिको बिदेश तालिमबाट फिर्ता भएका अधिकृतहरुलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको छ ।

एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका नायव उपरीक्षकहरुलाई पहिलो प्राथमिकता राखि पुर्वानुमान सूची तयार गरिएको हो । यसैगरी पुरा अवधि कमाण्ड नगरेका नायव उपरीक्षकहरुलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो । पुर्बानुमान सुचि प्रकाशन गर्ने नीतिपछि कमान्ड जान अस्वस्थ प्रतिस्पर्धा , बाह्य दबाब र काही कमान्ड गरिरहने कोहि कमान्डबाट बन्चित हुने अबस्थाको अन्त्य भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्