सशस्त्रद्वारा ९१९ किलो गाँजा बरामद



हेटौंडा ।

हेटौंडामा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक क्षेत्रस्थित टोलीले हेटौंडामा जाँचका क्रममा भारतीय एनएल ०१ एसी २१४४ नम्बर ट्रकबाट लागुऔषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।

गाँजासहित दुई भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर बिर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताउनुभयो ।

भारतीय ट्रकको भित्री भागमा फल्सबटन बनाएर गाँजा राखेर वेल्डिङ गरी लुकाइल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताउनुभयो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुर्खुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाइ छ ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको कार्कीले बताउनुभयो । बरामद भएको गाँजा नेपाल प्रहरीलाई हस्तान्तरण गरिने र थप अनुसन्धान प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्