समाचारपत्रकर्मी तिमल्सिनालाई गोली ठोक्ने धम्की



काभ्रे । नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार तथा पूर्वअध्यक्ष मोतीराम तिमल्सिनालाई मलद्वारमा सुन लुकाइ तस्करी गरेको सन्र्दभको समाचार प्रकाशन गरेको भन्दै नेपाली कांग्रेस काभ्रेका नेता–कार्यकर्ताहरूले गोली ठोक्ने धम्की दिएका छन् ।

कांग्रेस काभ्रेका सभापतिसमेत रहेका वागमती प्रदेशका मन्त्री तीर्थ लामाको समेत सुन तस्करीमा संलग्न भएको प्रमाण फेला परेपछि आत्तिएका कांग्रेस काभ्रेका नेता–कार्यकर्ताहरूले पत्रकार तिमल्सिनालाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

‘समाचार किन लेखेको ? समाचारमा किन सभापतिको नाम जोडेको भन्दै गोली ठोक्ने र तरबारले छेदन गरिदिने धम्की दिईएको छ’– पत्रकार तिमल्सिनाले भने– ‘धम्की दिनेमा कांग्रेसनिकट तरुण दलका जिल्ला सभापति सुजन लामा, नेविसंघका जिल्ला नेता सुरज तिमल्सिना, बाबुराज लगायतका दर्जनौँ नेता–कार्यकर्ताले चरित्र हत्या हुने गरी तथ्यहीन कपोलकल्पित र भ्रामक स्टाटससमेत पोस्ट गरेका छन् ।’

तर, समाचारमा उल्लेख भएका विषयमा खण्डन गरिएको छैन । सुन तस्करीमा काभ्रेका तीन जना कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन् भने मुख्य योजनाकार विकास योञ्जन भने हालसम्म फरार छन् । अर्का लगानीकर्ता नवीन योञ्जन विदेश छन् । पक्राउ परेकाहरूको साथबाट प्रदेशमन्त्री तीर्थ लामाले सुन ल्याउन लगानी गरिएको चेक बरामद भएको छ ।

लगानीकर्ता र संगठित तस्करका विषयमा अनुसन्धान भईरहेको छ । अनुसन्धान प्रभावित बनाउन थप समाचार प्रकाशन नहोस् भन्ने मनसायले पत्रकार तिमल्सिनालाई कांग्रेस कार्य–कर्ताहरूले धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्