बालबालिकाको रोदनभित्र विशाल ग्रुपको मस्ती

बालमन्दिरको कन्तबिजोग



–प्रधानमन्त्री दिनहुँ हिँड्ने बाटो त्यही, तर छैन ध्यान
–पूरक सम्झौताका नाममा २१३२ सम्म जग्गा कब्जा
–अनाथ बालबालिका चुहिने टहरामा बस्न बाध्य
काठमाडौं ।

अनाथ बालबालिकालाई आश्रय दिएर भोलिको कर्णधार बनाउने महत्वपूर्ण भूमिकामा रहेको बाल संगठन आफैं कन्तबिजोगको अवस्थामा पुगेको छ । काठमाडौंको मुटुमा रहेको नक्सालस्थित नेपाल बाल संगठनले सञ्चालन गरेको बालमन्दिरको अवस्था दयनीय बनेको हो । एकातिर बालमन्दिरको अवस्था दयनीय छ भने अर्कोतर्फ विभिन्न शक्तिकेन्द्रलाई प्रभावमा पारेर लामो समयदेखि बालमन्दिरकै जग्गा प्रयोग गर्दै आइरहेको व्यापारिक घराना विशाल ग्रुपको रजगज चल्दै आइरहेको छ ।

विशाल गु्रपले बालसंगठनको २८ रोपनी ५ आना जग्गामा मोजजस्ती गर्दै आयआर्जन मात्रै गरिरहेको छैन अनन्त कालसम्म बालमन्दिरको सो जग्गा प्रयोग गर्न पाउने गरी सम्झौता गराएको छ । बृहस्पति विद्या सदनलाई अघि सारेर विशाल ग्रुपले बालमन्दिरको जग्गामा हालीमुहाली गर्दै आइरहेको हो ।

उता बालसंगठनकै जग्गामा बृहस्पति सदन मालामाल भइरहेको छ भने यता बाल संगठनद्वारा सञ्चालित बालमन्दिरमा रहेका विद्यार्थी समस्या नै समस्याले पीडित छन् । बालमन्दिर आफैं जीर्ण छ । सरकारी निकायको कुनै ध्यान पुग्न सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारबाट एक किलोमिटर पनि छैन बालमन्दिर । प्रधानमन्त्रीलगायतका भीभीआईपीहरु हिँड््ने बाटो नै त्यही क्षेत्र हो । तर खण्डहर बन्दै गइरहेको बालमन्दिरतर्फ प्रधानमन्त्रीलगायत भीआईपीहरुको आँखा कहिल्यै पुग्न सकेको छैन् । सुशासनको चर्का कुरा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालसंगठन परिसरमा व्याप्त कुशासनलाई नदेख्नु आश्चर्य भएको छ ।

 

बालमन्दिरमा आश्रय लिएका अनाथ बालबालिका वर्षाको समयमा चुहिने भवनभित्र बस्न बाध्य छन् । बालबालिकाको त्यस्तो दयनीय अवस्थाका बारेमा विशाल ग्रुप संवेदनहीन देखिन्छ । बृहस्पति विद्या सदनको शेयरमा विशाल ग्रुपकै वर्चस्व रहँदै आएको छ । बाल संगठनद्वारा सञ्चालित बालमन्दिरको अवस्था हेर्दा जोसुकैको पनि मन कटक्क खान्छ तर शासकहरुलाई भने यसले कहीं कतै पोलेको देखिँदैन ।

बालसंगठन जग्गा परिसरमै रहेको बालमन्दिर खण्डहर जस्तो देखिन्छ भने त्यहाँ नजिकै रहेको बृहस्पति विद्या सदन र बृहस्पतिले नियमविपरीत लिजमा दिएको राई स्कुल भव्य र आलिसान खालको छ । बालमन्दिरका भित्ताहरु फुङ्ग उडेका र भित्ताहरुसमेत चिरिएका छन् । वर्षामा बालमन्दिरभित्रै पानी चुहिँदा बालबालिकाहरु राम्ररी निदाउन समेत पाउँदैनन् । रकम अभावमा अहिले बालबालिकालाई व्यवस्थापन गर्न निकै समस्या पर्न थालेको बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताउनुभयो ।

‘ठूलाठूला घरानियाले बालसंगठनको जग्गालाई कब्जा जमाउने प्रयास गरिरहेका छन् तर यहाँका अनाथ बालबालिकाका लागि के गर्न सकिन्छ भनेर एक मिनेट पनि सोच्ने गर्दैनन्’ –संगठनकी अध्यक्ष न्यौपानेले नेपाल समाचारपत्रसँग भन्नुभयो । बालसंगठनको नाममा अर्बौंको जग्गा रहे पनि विशाल ग्रुपको बलमिच्याइँका कारण संगठनले ती जग्गाको सदुपयोग गर्न सकेको छैन ।

बरु विशाल ग्रुपले बृहस्पति शिक्षा सदनको नाममा बालबमन्दिरको २८ रोपनी ५ आना जग्गा आगामी ५२ वर्षसम्मका लागि प्रयोग गर्न पाइने गरी यसअघि नै पूरक सम्झौता गरिसकेको छ । पैसाका लागि जे पनि गर्ने तर कुनै प्रकारको सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहन नगर्ने चरित्र विशाल ग्रुपले देखाएको छ । उसले बालमन्दिर र बाल संगठनको संवेदनशीलतामाथि प्रहार गर्दै आफ्नै स्वार्थसिद्ध गर्ने खेलमा लागिरहेको बालसंगठनका पदाधिकारीको दाबी छ ।

यसो त विशाल ग्रुपले केही समयअघि मात्रै बालबालिकाले खाने स्निकर, चक्लेट, ओरियो बिस्कुट, प्रिङ्गल्स, आलुचिप्स, बर्नभिटा, ट्याङ जुसजस्ता म्याद सकिएका खाद्यवस्तुलाई पुनः रिलेबलिङ गरेर बिक्रीवितरण गरी मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको अवस्थामा नेपाल प्रहरी र वाणिज्य विभागको टोलीले रंगेहात फेला पारेको थियो ।

सोही आरोपमा विशाल ग्रुपका वितरक कम्पनीका म्यानेजरहरु पक्राउ परेका थिए । पछि शक्तिकेन्द्र प्रयोग गरी उनीहरुलाई सामान्य जरिवाना तिराएर छोडिएको थियो । बाल संगठनको जग्गामा मोजमस्ती गरेर आयआर्जन गर्दै आइरहेको विशाल ग्रुपले ती जग्गामा आलिसान महल बनाएको छ । उसले अहिले पनि ठूलाठूला बिजनेस कम्प्लेक्ससमेत बनाउने योजना बनाएको बाल संगठनका पदाधिकारी बताउँछन् ।

विशाल ग्रुपले विभिन्न हर्कत गरेर बालसंगठनको नाममा रहेको २८ रोपनी ५ आना जग्गा हत्याउने योजना गरिरहेको स्रोतको दाबी छ । सोही योजनाअनुसार विशाल ग्रुपले पूरक सम्झौताका नाममा २१३२ सम्म बाल संगठनको २८ रोपनी ५ आना जग्गा प्रयोग गर्न पाइने गरी यसअघि नै सम्झौता गरेको हो ।

संगठनकी अध्यक्ष न्यौपाने यसअघिको कार्यसमितिले नियमविपरीत गरेका सम्झौता आफूहरुले रद्ध गर्ने गरी गृहकार्य अघि बढाएको बताउनुहुन्छ । उहाँका अनुसार बृहस्पति सदनले पूरक सम्झौताका नाममा २१३२ सम्मका लागि जग्गा प्रयोग गर्न पाउने गरी २०७२ सालमा नै सम्झौता गरेको थियो । बाल संगठनको तत्कालीन नेतृत्वलाई विभिन्न प्रभावमा पारेर विशाल ग्रुपले हरेक सम्झौताको म्याद सकिनुअघि नै विनाप्रतिस्पर्धा वर्षौंवर्षसम्मका लागि नवीकरण गर्ने गरेको देखिएको छ ।

त्यतिखेर बाल संगठन रीता सिंहको अध्यक्षतामा रहेको थियो । रीता सिंह गणेशमान सिंहकी छोरी हुन् । सिंहकै पालामा बालसंगठन र बालमन्दिरदलाई तहसनहस पार्ने गरी विभिन्न खाले गलत सम्झौता भएको बाल संगठनका हालका पदाधिकारीको दाबी छ ।

यसरी भएका थिए स्वार्थअनुसारका सम्झौता

बालसंगठनका पदाधिकारीहरुका अनुसार बालसंगठनको जग्गा विभिन्न संघसंस्थालाई दिलाउन २०४७ सालदेखि नै चलखेल भएको थियो ।

सोही अनुसार २०४९ साल माघ २७ मा बृहस्पति विद्या सदनलाई निकै हतार गरेर मासिक ५० हजार रुपियाँमा ९ रोपनी जग्गा दिने सम्झौता भएको थियो । त्यतिखेर सम्झौता भएको तीन दिनमै जग्गा उपलब्ध गराइएको थियो । २०४९ माघ २७ मा संगठनले घर टहरासहितको जग्गा भाडामा दिन सम्झौता गरेको थियो, फागुन १ गतेदेखि नै बृहस्पतिले भोगचलन शुरू ग¥यो । टहरा, मूल ढोका र बोरिङ बनाउन पाइने र प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने गरी सम्झौता भएको थियो ।

सम्झौतामा तीन वर्षमा दुवै पक्षले कुनै कारण देखाएर सम्झौता भंग गर्न नमिल्ने, सम्झौता अवधि सकिएपछि नवीकरण गर्न सकिने प्रावधान राखिनुले बाल संगठनको नेतृत्वले बृहस्पतिलाई विनाप्रतिस्पर्धा वर्षौंसम्म जग्गा भाडामा दिने निहित उद्देश्य राखेको देखिएको छ ।

सम्झौतामा बृहस्पतिलाई २०५२ फागुन १ सम्म मात्र भोगचलनको अधिकार दिइए पनि त्यसपछिका १० महिनासम्म सम्झौताबेगर बृहस्पतिले जग्गा भोगचलन गरेको देखिन्छ । त्यसपछि दुई पक्षबीच २०५३ साल माघ १० देखि २०६० साल माघ २७ सम्म अर्को सम्झौता भएको थियो । त्यतिखेर मासिक भाडा १ लाख ५० हजार पु¥याइएको थियो ।

संगठनकी तत्कालीन अध्यक्ष रीता सिंहकै रोहबरमा भएको सम्झौतामा संगठनका महासचिव श्यामकुमार आले र बृहस्पतिका तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारीको हस्ताक्षर छ । बृहस्पतिले शुरूको सम्झौतामै बाल संगठनको जग्गामा अस्थायी टहरा, बाटो, पर्खाल, मूल ढोका, बोरिङ, खेलमैदान निर्माण गर्न सक्ने अधिकार पाएकाले उसले त्यति बेलादेखि नै अनाथ बालबालिकाले आश्रय लिएका बाल मन्दिरका टहरामा घाम नै छेक्ने गरी ठूला भवनहरु बनाउन थाल्यो । त्यति बेलादेखि नै बालबालिका पीडित हुँदै आएको स्थानीय बताउँछन् ।

बाल संगठनको तत्कालीन नेतृत्व यति धेरै प्रभावमा परेको अनुमान गर्न सकिन्छ कि यसअघि भएका सम्झौताअनुसार बृहस्पतिले कार्य गरे नगरेको कुनै अनुगमन नै नगरी सरासर सम्झौता गर्ने र जग्गाको क्षेत्रफल पनि बढाएर थप सम्झौता गरेको पाइएको छ ।

कानुनविद्हरुका अनुसार सार्वजनिक संस्थाको सम्पत्तिबारे नयाँ बहाल सम्झौता गर्दा पुरानो सम्झौता पूर्णरूपमा कार्यान्वयन भए-नभएको समीक्षा नगरी पहिलेकै कम्पनीलाई सरारसर भाडामा दिनु र फटाफट सुविधाहरु थप्नु त्रृटिपूर्ण र शंकास्पद हो ।

हुन पनि पुरानो सम्झौताको म्याद २०६० साल २७ माघसम्मै रहेको भए पनि २ वर्ष म्याद कायमै रहेको अवस्थामा २०५८ साल जेठ ८ गते नै अर्को सम्झौता गरेर १ जेठ २०८८ सम्म म्याद थप्ने गरी ३० वर्षका लागि सम्झौता गरिएको थियो । त्यति खेर सम्झौता गर्दा भने जग्गाको क्षेत्रफल समेत ९ रोपनीबाट बढाएर १४ रोपनी ९ आना बनाइएको छ ।

भाडा भने जम्मा १ लाख मात्रै बढाइएको छ । १४ रोपनी ९ आना जग्गा प्रयोग गरेबापत बृहस्पति सदनले जम्मा २ लाख ५० हजार तिर्नुपर्ने गरी सम्झौता गरिएको छ । फेरि लगत्तै अर्को सम्झौता गरिन्छ २०५९ साल भदौ ११ मा र सो सम्झौतामा १३ आना १२ पैसा र १ दाम जग्गा थपेर २८ रोपनी ५ आना १ दाम पु¥याइयो । अन्तिम पटक ४३ वर्षलाई थपिएको सम्झौतामा मासिक भाडा ९ लाख मात्रै बनाइएकाले सो कार्यमा गम्भीर अनियमितता भएको हुन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।

तत्कालीन अध्यक्ष रीता सिंहकै सक्रियतामा पटकपटक भएका यस्ता सम्झौताले बृहस्पति विद्यासदनलाई निकै शक्तिशाली र बालमान्दिरलाई निकै कमजोर बनाउँदै लगेको देखिन्छ । वृृहस्पतिले बाल संगठनको सो जग्गामा जे गरे पनि हुने गरी विधान नै संशोधन गराएको समेत पाइएको छ । पदाधिकारीहरुका अनुसार बाल संगठनलाई ध्वस्त बनाएर बृहस्पतिलाई पोस्ने र कालन्तरमा सबै जग्गा बृहस्पतिकै नाममा ल्याउने गरी ती सबै प्रपञ्च भएका हुन् ।

बृहस्पतिलाई यसअघि अस्थायी टहरा, बाटोलगायत निर्माण गर्ने अधिकार मात्र दिइएको थियो । तर, पछि भएका नयाँनयाँ सम्झौताहरुमा पक्की कक्षाकोठासहितको भवन, कार्यालय भवन, विश्राम कक्ष, पुस्तकालय, आवासलगायतका स्थानीय संरचना बनाउने अधिकारसमेत दिएपछि बाल संगठन खण्डहर हुने क्रम बढेको हो ।

यसअघि दुईपल्ट भएका सम्झौतामा प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख थियो । तर, तेस्रो सम्झौतामा पहिलो र अन्तिम ५ वर्ष भाडा नबढाउने, त्यसबाहेक प्रत्येक २-२ वर्षमा ५ प्रतिशतका दरले मात्र भाडा बढ्ने प्रावधान राखियो ।

बहाल अवधि लम्बिँदै जाँदा भाडा वृद्धिदर थपिनुपर्नेमा उल्टै घटाइनुले यसमा गम्भीर अनियमितता भएको पुष्टि हुने दाबी गरिएको छ । तेस्रो सम्झौतापछि बृहस्पतिले भाडामा लिएको जग्गामा ठूल्ठूला भवन निर्माण गर्ने अधिकार पायो । सो सम्झौता अवधिभर बाल संगठनले बृहस्पतिलाई हटाउन नसक्ने, तर बृहस्पतिले तीन महिनाको पूर्वसूचना दिएर सम्झौता तोड्न सक्नेसम्मको प्रावधान राखेर संगठनलाई थप कमजोर बनाउने गरी चलखेल गरिएको संगठनका हालका पदाधिकारी बताउँछन् ।

बृहस्पति विद्या सदनले आफूअनुकूल घरभाडा सम्झौतामा सबलिजको प्रावधान राखेर पूरक सम्झौता गर्दै २०७२ सालमा ४३ वर्षलाई सम्झौता हत्याएपछि २०७६ सालमा उसले सबलिजमा अर्को विद्यालयलाई बाल संगठनको जग्गा भाडामा दिएर थप बदमासी गरेको पाइएको छ । उसले २०८९ सालपछि थप ४३ वर्ष म्याद थप्ने गरी पूरक सम्झौता गराएको हो । त्यसपछि बृहस्पति सदनले आफूले प्रयोग गर्ने जग्गा राई स्कुललाई सबलिजमा दिएको छ । राई स्कुलले ठूलाठूला भवन बनाएर बालमन्दिरको जग्गा उपभोग गर्दै आइरहेको छ । यसले पनि बालमन्दिरलाई झनै समस्या पारेको देखिएको छ ।

पुराना गलत सम्झौता रद्ध गराएरै छोड्छौं: अध्यक्ष न्यौपाने

बालसंगठनकी वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपानेलगायतको हालको पदाधिकारीको टिम यसअघिको बालसंगठनको नेतृत्वले गरेको गल्तीका कारण बालसंगठन र बालमन्दिर धराशयी अवस्थामा पुग्न लागेको भन्दै आक्रोशित छन् । अध्यक्ष न्यौपानेले आफूहरु यसअघि भएका हरेक प्रकारका गैरकानुनी सम्झौता र सहमतिलाई भंग गर्ने पक्षमा रहेको बताउनुभयो । ‘हचुवाका भरमा गरिएका निर्णयले गर्दा आज यो सम्पन्न बालबालिकाको धरोहर जीर्ण बन्न पुगेको छ, चारैतिर झ्याल ढोका बन्द जस्तै बन्न पुगेको छ’ –अध्यक्ष न्यौपानेले नेपाल समाचारपत्रसँग भन्नुभयो । विशाल ग्रुपका डाइरेक्टर विशाल अग्रवाललगायतले हालका बालमन्दिरका पदाधिकारीलाई विभिन्न प्रलोभन दिँदै आफूहरुलाई सहयोग गर्न आग्रह गर्दै आइरहेका छन् । तर अध्यक्ष न्यौपानेले आफूहरु कुनै लोभलालचमा नलागी बालसंगठन र बालमन्दिरको सुधारमा लागिरहेको र विगतका त्रृटिपूर्ण निर्णय तथा सम्झौतालाई जुनसुकै हालतमा पनि खारेज गराराएरै छोड्ने अभियानमा लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्