काठमाडौँ।
स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्डा क्षेत्रनजिक दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ठूलो संख्यामा यात्रु घाइते भएका छन् भने उद्धार तथा राहत कार्य जारी रहेको छ।
कास्टाइल–ला मान्चा क्षेत्रीय सरकारले दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। दुवै रेलमा गरी ५०० भन्दा बढी यात्रु सवार रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।
रेलका डिब्बा पटरीबाट खसे, घटनास्थलमा व्यापक क्षति
दुर्घटनापछि सार्वजनिक भएका भिडियो तथा तस्बिरमा रेलका डिब्बा पटरीबाट खसेको, केही डिब्बा पल्टिएको र घटनास्थलमा ठूलो मात्रामा भग्नावशेष छरिएको देखिएको छ। एउटा डिब्बा गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।
स्पेनको सिभिल गार्डले सार्वजनिक गरेका ड्रोन तस्बिरमा घटनास्थलमा ठूलो संख्यामा एम्बुलेन्स, अग्नि नियन्त्रक, उद्धारकर्मी तथा अन्य आपतकालीन सवारीसाधन परिचालन गरिएको देखिन्छ। घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पुर्याउने काम भइरहेको छ।
दुर्घटनापछि घटनास्थलमा अराजक अवस्था सिर्जना भएको र केही यात्रु क्षतिग्रस्त डिब्बाबाट बाहिर निस्कन नसकेको एक प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी
प्रारम्भिक विवरणअनुसार, उच्च गतिको एउटा रेलले रोकिएको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको हुन सक्ने आशंका गरिएको छ। स्पेनको सार्वजनिक प्रसारक आरटीभीईले यातायात मन्त्रालयका स्रोतलाई उद्धृत गर्दै यस्तो विवरण सार्वजनिक गरेको समाचारमा उल्लेख छ।
दुर्घटनामा रेन्फे र इरियो कम्पनीद्वारा सञ्चालित रेल संलग्न रहेको बताइएको छ। यद्यपि, दुर्घटना कसरी भयो र त्यसमा कुन पक्षको प्राविधिक वा सञ्चालनसम्बन्धी कमजोरी थियो भन्ने विषयमा आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
रेल सेवा निलम्बित, अस्पतालमा आकस्मिक व्यवस्थापन
दुर्घटनापछि म्याड्रिड, सिउडाड रियल तथा एन्डालुसिया क्षेत्रबीच सञ्चालन हुने रेल सेवा निलम्बित गरिएको छ। प्रभावित मार्गका रेललाई विभिन्न स्टेसनमा रोकिएको बताइएको छ।
घाइतेको संख्या बढ्न सक्ने अनुमानसँगै टोलेडो, सिउडाड रियल तथा अल्काजार डे सान जुआनका अस्पतालले नियमित शल्यक्रिया स्थगित गरेर आकस्मिक उपचारका लागि स्रोतसाधन व्यवस्थापन गरेको समाचारमा उल्लेख छ।
म्याड्रिडको रक्तसञ्चार केन्द्रसहित अन्य क्षेत्रीय रक्त केन्द्रले पनि सम्भावित उपचार आवश्यकतालाई ध्यानमा राख्दै सर्वसाधारणसँग रक्तदान गर्न अपिल गरेका छन्।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले आपतकालीन सेवाहरू उद्धार तथा राहत कार्यमा खटिएको र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताएका छन्।
दुर्घटनापछि स्पेनका प्रमुख राजनीतिक दलहरूले आफ्ना निर्धारित सार्वजनिक तथा चुनावी कार्यक्रम रद्द गरेका छन्।
घटनाबारे अनुसन्धान जारी रहेकाले दुर्घटनाको वास्तविक कारण, घाइतेको यकिन संख्या र अन्तिम मानवीय क्षतिबारे थप विवरण आउन बाँकी छ। -बीबीसी











प्रतिक्रिया