अन्नपूर्ण मिडिया नेटवर्कमाथिको स्पष्टीकरणको चौतर्फी विरोध र भर्त्सना  

स्पष्टीकरण फिर्ता लिन चेतावनी 



काठमाडौँ। 

नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोस्ट दैनिकको प्रकाशक संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको विषयलाई  लिएर  मिडिया एलाइन्स नेपाल , नेपाल पत्रकार महासंघसहित सञ्चार उद्यमी तथा  पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले निन्दा  र भत्सर्ना गरेका छन् । पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर प्राधिकरणले सोधेको स्पष्टीकरण तत्काल फिर्ता लिन ती संघसंस्थाले प्राधिकरणलाई चेतावनी दिएका छन् ।

मिडिया एलाइन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठले प्रेस विज्ञप्ति प्रकाशित गर्दै  स्वतन्त्र मिडियामाथि असंवैधानिक ढंगबाट भएको  हस्तक्षेप भर्त्सनायोग्य भएको बताउँदै  नागरिक उड्डयन प्राधिकरण र त्यसको नेतृत्वबाट भएको गैरकानुनी कार्यको कडा निन्दा गरेका छन् ।

 ‘प्राधिकरणले अन्नपूर्ण मिडियाका अध्यक्षसमेत रहेका सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाईहवाई सेवासम्बन्धी समाचारमा ‘प्रकाशकीय अधिकार दुरुपयोग’ गरेको भन्दै सोधेको स्पष्टीकरण संविधानमा रहेको  पूर्ण प्रेस स्वतन्त्रता एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हुनुका साथै सम्पादकीय स्वतन्त्रको बर्खिलापसमेत रहेको छ ।’ मिडिया एलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मिडियामा प्रकाशन/प्रसारण हुने सामग्रीमा चित्त नबुझे उपचार खोज्ने छुट्टै कानुनी प्रावधान छन् । तर, असम्बन्धित निकायले असम्बन्धित व्यक्तिलाई असम्बन्धित विषयमा स्पष्टीकरण सोध्नु पदीय अख्तियारीको दुरुपयोग हो । मिडिया एलाइन्सले भनेको छ ‘ प्राधिकरणको नेतृत्वलाई अख्तियारको दुरुपयोग नगर्न सचेत पार्दै  उक्त स्पष्टीकरण फिर्ता लिई संविधानले व्यवस्था गरेको पूर्ण प्रेस स्वतन्त्रता एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछ ।’

यसैगरि पत्रकार महासंघले पनि प्राधिकरणको सो कार्यको विरोध र भर्त्सना गरेको छ । यसैगरि नागरिक उड्डयन प्राधिकर र यसका महानिर्देशकले अन्नपूर्ण पोस्ट दैनिकलगायत मिडियामा प्रकाशित सामग्रीलाई किटेर स्पष्टीकरण सोध्दै पत्र पठाउनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको सबै जसो पत्रकार संघसंस्थाले ठहर गरेका छन् ।

महासंघसहित नेपाल प्रेस युनियन, प्रेस चौतारी नोपल, मधेशी पत्रकार समाज नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतका संस्थाले प्राधिकरणले अनधिकृत रूपमा स्पष्टीकरण सोध्नु अशोभनीय भएको बताएका छन । ती संस्थाले स्पष्टिकरण तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।
महासंघका महासचिव रोशन पुरीले हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी अनधिकृत रूपमा सोधिएको स्पष्टीकरण फिर्ता लिन नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्