शौचालय जाँदा २५ लाखको चेक गायब

रकम तिर्न सरकारी निकायको चेतावनी 



हेटौँडा । 

 हस्ताक्षर गरिराखेको २५ लाखको चेक होटलको शौचालय जाँदा  गायब भएपछि चकित बनेको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपाखा सामुदायिक बन उपभोक्ता समूहलाई उल्टै रकम तिर्न सरकारी निकायले चेतावनी दिएपछि झन् चकित बनाएको छ ।

समूहको चेक चोरी गरी २५ लाख रुपियाँ  अनधिकृत व्यक्तिले झिकेर आफ्नै खातामा कलेक्सन गरेकोमा बन समूहले आपत्ति जनाएको हो । मनहरी–६, डिपाडमा दिदीबहिनी होटल सञ्चालक लालकुमार थिङले चेक चोरी गरी २५ लाख झिकेको आरोप छ । माघ १४ गते खाजा खान होटलमा गएको बेला थिङले चेक चोरी गरी माघ १८ गते चेक काटेर बन समूहको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट आफ्नो कामना सेवा बैंकमा रहेको खातामा २५ लाख ट्रान्सफर गरेको बताइएको छ ।

सिस्नेरीपाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार बिकका अनुसार थिङले २ थान चेक चोरी गरी रकम आफ्नो खातामा सार्नुभएको हो । डिभिजन बन कार्यालय मनहरीबाट काठेपुल र बन्यजन्तुका लागि कुवा निर्माण गर्न प्राप्त रकम रहेको खाताबाट पैसा झिक्न सहीछाप गरिएको चेक थिङले चोरी गरेको बिकको भनाइ छ । काम सम्पन्न भइसकेकाले भुक्तानी दिने तयारी गरी समूहले बैठक बसेर निर्णयसमेत गरिसकेको अवस्थामा चेक चोरी गरेर रकम झिकिएपछि आफूहरु समस्यामा परेको बिकको दाबी छ ।

पैसा फिर्ता गर्ने मौखिक सहमति प्रहरीको समन्वयमा भए पनि पैसा फिर्ता नभएपछि बन समूहले चैत ५ गते प्रहरीमा चोरी मुद्दा दर्ता गरेको बताएको छ । फागुन २० गतेसम्म पैसा फिर्ता गर्न सहमत भएका  थिङले पछि भने उल्टै धम्क्याउन थालेको बन समूह अध्यक्ष बिक बताउछन्  । हाल थिङ सम्पर्कमा नरहेको बताउँदै सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर समूहले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

उनले चोरिएको चेक प्रयोग गरी बन समूहको हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर–१३००१००००२४६५००१ बाट २०७९ माघ १८ गते हेटौंडामै रहेको कामना सेवा विकास बैंकमा रहेको थिङको खाता नम्बर–४९१४१००५५३८७७०००००१ मा रकम ट्रान्सफर भएको देखिएको बताए ।

‘मैले उपभोक्ता समूहको बैंक स्टेटमेन्ट निकाल्दा माघ १८ गते ४२ वर्षीय थिङ (धादिङको किरान्चोक घर भई हाल मनहरी गाउँपालिका वडा–६ डिपाडमा दिदीबहिनी होटल सञ्चालक) ले सामुदायिक बन उपभोक्ता खाताबाट २५ लाख उनको खातामा क्लियरिङ गरेको देखेपछि तत्काल उक्त चेकबुक हेर्दा मेरोसमेत दस्तखत गरिराखेको २ थान चेक चोरी भएको देखें,’ उनले भने–रकम भुक्तानीका लागि बैंकमा जाँदा  २५ लाख थिङको खातामा गइसकेको थाहा पाएँ  ।
बैंकबाट सामुदायिक बनको त्यति ठूलो रकम व्यक्तिले आफ्नो खातामा संकलन गरी चलाएको थाहा पाएको दिनबाट मलाई निद्रा लागेको छैन ।

उनलाई फोन सम्पर्क गरी यस विषयमा सोधपुछ गर्दा आफूलाई अश्लील शब्द प्रयोग गरी तँलाईं मैले फसाइसकें र मान्छे लगाइ तेरो ज्यान मार्छु’ भनी धम्की दिएको बिकले बताए ।

‘म कसरी त्यत्रो पैसाको व्यवस्थापन गर्नसक्नु ?,’ पत्रकारमाझ बिकले थपे –लालकुमारविरुद्ध उजुरी बोकेर प्रहरीमा पटकपटक धाएको छु । तर, अन्तिममा मात्र जाहेरी दर्ता भयो । मलार्ई फोन र भेटमा धम्कीपूर्ण व्यवहार गरिरहेका थिए ।

सबडिभिजन बन कार्यालय मनहरीले समूहलाई पत्र काटेर केकसो भएको हो भनी स्पष्टीकरण सोधेको थियो । उपभोक्ता सदस्यले चोरी विषयको विषयमा छलफल गरी सत्यतथ्य पत्ता लगाउन समितिलाई बोलाइ छानबिन गर्दा यस विषयमा समितिका पदाधिकारीको मिलोमतो नभएको र नदेखेको निष्कर्षमा पुगी सबडिभिजन बन कार्यालय मनहरीलाई निर्णय लेखी थिङलाई पक्राउपश्चातमात्र ताकेता गर्न निर्णय गरेकोे जानकारी गराइएको छ ।

सबडिभिजन कार्यालयले उल्टै पीडित पक्षलाई नै रकम जम्मा गर्न र यदि नगरे कानुनी कारबाही गर्ने चेतावनीपूर्ण पत्र लेखेकोमा समूहको आपत्ति छ । ‘हामी पीडित नै कहिले प्रहरीको पक्राउमा पर्ने हो, टुंगो छैन,’ बिकले राज्य र समुदायको कोषको दुरुपयोग गर्ने जोकोहीलाई कारबाही गर्न बन कार्यालय लाग्नुपर्नेमा त्यसो नभएकोमा चित्त दुखाए ।

प्रतिक्रिया दिनुहोस्